बार्सिलोनाले खोज्यो मेस्सीको उत्तराधिकारी, अब कसले लगाउला बार्सिलोनाको १० नम्बर जर्सी ?

काठमाडौं। क्लव फुटबलमा कुनै खेलाडीको विकल्प खोज्न कुनै क्लवलाई सबैभन्दा गाह्रो हुन्छ भने त्यो क्लव बार्सिलोना नै हुन सक्छ । बार्सिलोनामा लियोनेल मेस्सिले यति लामो समय बिताए कि उनको अभाव पुर्ति गर्नु चानचुने कुरा होइन । २००४ मा बार्सिलोनाबाट करियर सुरु गरेका मेस्सी १५ वर्ष बार्साको लागि खेले । अब उनको खेल्ने समय धेरै छैन र उनको विकल्प खोज्नुपर्ने बेला आएको छ ।

मेस्सीले बार्सिलोनामा ब्राजिलियन स्ट्राइकर रोनाल्डिन्होलाई रिप्लेस गरेका थिए । रोनाल्डिन्होले त मेस्सीलाई आफ्नो १० नम्बरको जर्सीसमेत दिएका थिए । मेस्सीले अहिले त्यही १० नम्बर जर्सी लगाउँछन् । अब आउने खेलाडिलाई मेस्सीको १० नम्बर जर्सी दिने वा नदिइने भन्ने प्रस्ट भने छैन । हुन त मेस्सीको राष्ट्रिय टिमको १० नम्बरको जर्सी पनि गिफ्ट नै हो । त्यो जर्सी उनलाई म्यारोडोनाले दिएका थिए । 

स्पेनिस मिडिया रिपोर्टअनुसार बार्सिलोनाले आफ्ना प्रमुख खेलाडी लिओनल मेस्सीको उत्तराधिकारी खेलाडीको पहिचान गरेको छ । हाल ३१ वर्षीय पुगेका मेस्सीले निकट भविष्यमा क्लब छाड्ने वा सन्यास लिने कुरालाई ध्यान दिँदै क्लबले मेस्सीको विकल्प खोजिरहेको छ । सोहीक्रममा बार्सिलानाले फ्रेन्च क्लब पिएसजीका फ्रेन्च खेलाडी केलियन एमबाप्पेलाई मेस्सीको उत्तरधिकारीका रूपमा हेरेको छ । ‘मुन्डो डेपोर्टिभो’का अनुसार बार्सिलोनाले विश्वकप विजेता एमबाप्पेलाई मेस्सीको दीर्घकालीन विकल्पका रूपमा हेरेको छ ।

हाल २० वर्षीय पुगेका उदीयमान युवा खेलाडीलाई बार्सिलोनाले सन् २०२१ मा अनुबन्ध गर्ने योजना बनाएको खबरमा उल्लेख छ । बार्सिलोनाले लामो समयसम्मका लागि क्लबमा गोल स्कोरर खेलाडी भित्र्याउने योजनाअनुसार एमबाप्पेलाई सबैभन्दा उचित विकल्प ठानेको छ ।

बार्सिलोना भविष्यमा लामो समयका लागि मेस्सीजस्तै गोल मेसिन खेलाडीको खोजीमा छ । मेस्सीले बार्सिलोना छाडेपछि वा सन्यास लिएपछि बार्सिलोनालाई गोलकर्ता खेलाडीको अभाव खड्किनेछ ।

सोही कुरालाई ख्याल गर्दै उसले आगामी सिजनपछि एमबाप्पेलाई अनुबन्ध गर्ने योजना बुनिरहेको बताइएको छ । बार्सिलोनाले आफ्नो योजनाअनुसार एमबाप्पे भित्र्याउँदा उनी २२ वर्षका हुनेछन् । र, यदि उनी बार्सिलोना पुगे १० वर्ष आरामले खेल्न सक्नेछन् ।

एमबाप्पे २ वर्षअघि फ्रान्सकै क्लब मोनाकोबाट महँगो मूल्यमा पिएसजीमा अनुबन्ध भएका थिए । उनलाई अहिले स्पेनिस रियल मड्रिडले पनि अनुबन्ध गर्न चाहेको बताइन्छ ।