बगरलाई ‘पैसा’ मा बदल्दै विएल तामाङ (भिडियो सहित)

पाण्डव शर्मा

घोराही । दुई वर्ष पहिलेसम्म घोराही उपमहानगरपालिका वडा नं ८ स्थित ढिकपुरको बबई नदी किनारमा बालुवाको थुप्रो देखिन्थ्यो ।

वर्षेनी नदीले जग्गा कटान गरिरहेको थियो । त्यहाँ उजाड बगर बाँहेक अरु केही थिएन । तर, अहिले त्यस क्षेत्रको स्वरुप नै बदलिएको छ । बगरमा दर्जनौं प्रजातिका विरुवाहरु लगाइएको छ । जताततै हरियाली देखिन्छ ।

केही वर्ष पहिलेसम्म घोराहीको तुलसीपुर चोकमा पल्लवी औषधालय सञ्चालन गर्दै आएका व्यवसायी वावुलाल तामाङ (विएल) ले अहिले त्यहाँको स्वरुप नै बदलिदिएका छन् ।

‘नम्मरीवाला जग्गालाई बबई नदीले कटान गरेर बगर नै बनाएको थियो,’ तामाङले भने, ‘मैले बगरमा परिणत भएको जग्गालाई संरक्षण गरेर बृहत कृषि परियोजना सञ्चालन गरेको छु ।’
सो क्षेत्रमा तामाङको सात विगाह जग्गा रहेको छ ।

अहिले करिव साढे दुई विगाह जग्गामा वृक्षारोपण गरिएको छ । थप साढे चार विगाह क्षेत्रफल जग्गा संरक्षणका लागि तामाङले पहल गरिरहेका छन् ।’ अहिले सो क्षेत्रमा किमु, खमारी, मसला, टिक, पाउलोनिया, केरा लगायतका प्रजातिका विरुवा लगाइएको छ । विरुवाको बीचमा भटमासे घाँस पनि लगाइएको छ ।


तामाङले अहिले सो क्षेत्रमा पल्लवी पशुपंक्षि फर्म समेत सञ्चालन गर्न थालेका छन् । बाख्रा पालनका लागि खोर बनाउन शुरु गरिएको छ । पहिलो चरणमा एक सय ओटा बाख्रा पालन गरिने तामाङले जानकारी दिए ।


२०५२ सालमा गृहजिल्ला रामेछापबाट ५ सय रुपैयाँ बोकेर दाङ छिरेका तामाङ अहिले दाङमा सफल व्यवसायीको रुपमा स्थापित छन् ।


‘म सँग दाङ आउने भाडा पनि थिएन, दिदीसँग ५ सय रुपैयाँ मागेर दाङ पसेको हुँ,’ उनले भने, ‘यो समयमा धेरै संघर्ष गरियो, केही हदसम्म सफलता हासिल गरेको छु ।’ करिव १० वर्ष तामाङले पल्लवी औषधालय सञ्चालन गरे ।


अहिले उनी कृषि पेशा तर्फ आर्कषित भएका छन् । अहिले उनले कृषि फर्ममार्फत चार जना मान्छेलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । केही समय भित्रै १० जना जतिलाई रोजगारी दिइने तामाङले बताए । तामाङले घोराहीमा काठको व्यवसाय पनि गरिरहेका छन् ।