बंगुरपालनमा रमाउँदै पनि कमाउँदै बाहुनको छोरो!!

वालिङ (स्याङजा) — बाहुना छोराले बंगुरपालन गर्न हुँदैन भन्ने परम्परावादी सोच राख्नेहरू अझै पनि छन् । तर, वालिङ–१४ भीमटारीका ३८ वर्षीय भीम लुइँटेललाई त्यसको कुनै प्रवाह नगरी बंगुरपालन पालेका छन् । सुरू सुरूमा घृणा गर्नेहरू अहिले उनको प्रगति देख्ता छक्क पर्छन् । उनी नेपाली सेनामा थिए ।

सशस्त्र द्वन्द्वका बेला जागिर छाडेर वैदेशिक रोजगारीका लागि दुबई हानिए । त्यहाँ उनले भनेजस्तो काम पाएनन् । दु:ख पाएर फर्किएपछि बाउपुर्खा र आफन्तले नगरेकोबंगुरपालनको व्यवसाय थाले । ‘विदेशमा छँदा थोरै लगानी हालेर मिहिनेत गर्नेहो भने आफ्नै गाउँठाउँमै केही उद्यम गर्न सकिन्छ भन्ने लाग्थ्यो,’ उनीभन्छन्, ‘आएर अब बंगुरपालनगर्नुपर्यो भनेको धेरैले बेठीक गरिस् भनेका थिए ।’

तीन वर्षअघि उनले २७ लाखको लगानीमा इन्द्रेणी बंगुर फार्म दर्ता गराएर काम थालेका थिए । अहिले लागनी ३ करोड पुगेको छ । वालिङ–९ पीपलटारीमा १३ रोपनी जग्गा १० वर्षका लागि १२ लाखमा जग्गा भाडामा लिएर बंगुरपालन गरेका उनको फर्ममा अहिले १ सय ५० माउसहित तीन सयवटा बंगुर छन् । २७ वटा बंगुरबाट फार्म सञ्चालन सुरु गरेका उनी अहिले जिल्लाकै सफल कृषमध्ये दरिएका छन् । जिल्ला पशु सेवा कार्यालय र युवा परिषद् स्याङ्जाबाट उत्कृष्ट युवा उद्यमी घोषित भई पुरस्कृत पनि भएका छन् ।

उनले फर्मलाई पाठापाठी उत्पादन अर्थात प्रजनन गर्ने फार्मको रूपमा विकास गरेका छन । ‘पाल्न चाहनेका लागि पाठापाठी नै चाहिन्छ,’ उनी भन्छन्, ‘यसको राम्रो बजार छ ।’ १५ महिनामा ३ हजार पाठापाठी उत्पादन भइरहेको उनले बताए । ‘एउटा पोथी बंगुरले १५ महिनामा तीनपटक गरेर ७ देखि १८ वटासम्म पाठापाठीपाउँछ,’ उनले भने, ‘दानापानी पुग्यो, स्याहार पुग्यो भने राम्रो फाइदा छ ।’

स्याङ्जामात्रै नभइ कास्की, पाल्पा, रुपन्देही, प्युठान र दाङलगायतका २० जिल्लामा आफ्नो फर्मका बंगुरका पाठापाठी बिक्री भइरहेको उनले बताए । ‘एक महिनाको एएटा पाठो ४५ सयमा बिक्छ,’ उनले भने, ‘बच्चा जन्माउन नसक्ने पोथी र भाले बंगुर हरेक महिना ५ देखि १० वटा मासुका लागि बिक्री हुन्छ ।’ मासुको लागि किनेर लैजानेलाई आफूले डेढ सय केजीदेखि तीन सय केजीसम्म तौलका बंगुर बेचिरहेको उनले बताए ।

‘बच्चाबाट १५ महिनामा १ करोड ३५ लाखको कारोबार हुन्छ,’ उनले भने, ‘मासुका लागि बिक्री हुने बंगुरले सरदर ६० लाख आम्दानी दिइसक्यो ।’ लगानी गरेर अरुको भरमा छाड्नुभन्दा आफैं लागिपरेर गरिने व्यवसाय सफल हुने उनको अनुभव छ । उनको फर्ममा पाँचजना कर्मचारी छन् । मासिकरूपमा हुने खर्च र ऋणको साँवा–ब्याज तिरेपछि पनि वार्षिक ५० लाख हात परिरहेको उनले बताए । ‘सबैले यही काम गर्नुस् भन्दिनँ तर, जे व्यवसायमा हात हालिन्छ सफलता पाउन भरपुर मिहिनेत गर्नैपर्छ,’ उनले भने, ‘हामीमध्येका धेरैजना लगानी हालेको व्यवसायबाट छिटै नाफा खोज्छौं । नाफा हात पर्न हाम्रोजस्तो पेसामा छिटो हुँदैन ।’ सुरुवातका दिन आफूले निकै संघर्ष गर्नुपरेको उनी बताउँछन् । ‘आफन्त, घरपरिवारले नगर भनेको काम जितेर थालियो,’ उनी भन्छन्, ‘त्यसमाथि फर्मको उत्पादनको बजारलाई आफूले सप्लाइ दिनसक्छु भनेर विश्वास जित्नै पनि समय लाग्यो ।’