प्रचण्ड कमजाेर हुँदा हामी बलियाे हुन्छाैं ?

श्रीकृष्ण अधिकारी

कमरेड प्रचण्डमाथि मानहानी गर्ने पत्रकार रबि लामिछानेको अभिव्यक्तिपछि सामाजिक सञ्जाल र अनलाइन पत्रिका लगायत मिडियाहरूमा क्रिया प्रतिक्रियाको वर्षा चलिरहेको छ। रबि लामिछानेको आरोपलाई ठीक हो भन्ने र गलत हो भन्ने, ध्वंशात्मक भयो र रचनात्मक थियो भन्ने धारणाहरूको वर्षा भएको छ। रबि लामिछानेलाई देवता र प्रचण्डलाई राक्षसका रूपमा चित्रण गर्दै विरोध र समर्थनमा आइरहेका तर्क–बितर्कबाट म पनि नछुने र नबोली र नलेखी बस्नसक्ने कुरा भएन।

नेपाली कम्युनिष्ट आन्दोलमा कमरेड प्रचण्डले विचार निर्माणको दशक, जनयुद्धको एक दशक, शान्ति र संविधान निमार्णको दशक र कम्युनिष्ट एकताको कुशलतापूर्वक नेतृत्व गर्दै समृद्धि र समाजवादको यात्रामा नेतृत्व लिने ठाउँमा हुनुहुन्छ। अध्यक्ष प्रचण्डको असाधारण नेतृत्व क्षमताले राष्ट्र र जनताको हितमा काम गरेको छ। क. प्रचण्ड ४ दशक लामो विचार र वर्गसङ्घर्षको प्रयोगको ब्यवहारवाट खारिएको समष्टी ज्ञान हो। सीमा समस्या थोरै होलान्। कम्युनिष्टहरू रचनात्मक आलोचनाबाट जति खुसी हुन्छन्न्, शत्रुतापूर्ण आलोचना त्यति नै दुखी हुन्छन् र त्यसको प्रतिवाद गर्छन्।

आलोचना मित्रवत गर्नुपर्छ, तथ्यपूर्ण सत्यमा आधारित हुनुपर्छ । निरपेक्ष देवत्वकरण र निरपेक्ष राक्षसीकरण गर्ने एकाङ्की दृष्टिकोण पूर्णतः गलत छ। क. प्रचण्ड कमजोरी गर्न र कमजोरी सुधार्न दुवैमा नडराउने वस्तुसापेक्ष इमान्दार नेता हो। यो तथ्य ४ दशकको व्यवहारले सावित गरेको छ। प्रचण्डमा छिपाउने लुकाउने कुरा केही पनि छैन। उहाँको जीवन किताबको पानाजस्तै छर्लङ्ग छ।

यति भनेपछि तपाईले मलाई प्रचण्डको अन्धभक्त पक्कै भन्नुहुन्छ। तर, म प्रचण्डको रचनात्मक आलोचनाको पक्षमा छु। प्रचण्डबाट विचारबाहेक भौतिक सुविधा, लाभ, सेवा केही पनि लिएको छैन। पार्टी संगठनको विषयबाहेक उहाँको घर, डेरामा व्यक्तिगत विषय लिएर गएको पनि छैन। मलाई प्रचण्ड सर्वाधिक मनपर्ने नेता हो। मेरो बुझाइमा प्रचण्डले आफूबाट भएका कमीकमजोरी जनतामा लुकाउ जान्नुहुन्न। जनतासँग मनका कुरा खोल्ने र भावना पोख्ने उहाँको बानी छ। उहाँको यो बानी कसैलाई इमान्दारिता लाग्छ, कसैलाई बेइमान र कमजोर लाग्छ। कसैलाई सत्य लाग्छ, कसैलाई झुट।

अंश हेरेर प्रचण्डबारे समग्रमा धारणा बनाउनु राम्रो कुरा होइन। समग्रबाट सिङ्गो प्रचण्ड विशेषता सग्लो रूपमा बुझ्न सकिन्छ। प्रचण्डमा गुण र दोष दुवै छ। उहाँमा अन्तरनिहित गुणले दोषलाई जित्दै आएको छ। जनता र देशको पक्षमा उहाँलाई यो सही छ भन्ने लागेपछि हाम्फाल्न डराउने नेता होइन उहाँ। क. प्रचण्ड जोखिम र चुनौतिसँग लड्ने नेता हुनुहुन्छ, भाग्ने नेता होइन।

राष्ट्रिय राजनीतिक परिदृश्यमा नेकपाको नेतृत्वमा रहेको वर्तमान सरकारलाई असक्षम, असफल, अपरिपक्व देखाएर स्थितिलाई उल्टाएर अस्थिरताको पश्चगामी कोर्षमा मुलूकलाई लानका लागि एउटा डिजाइन बनेको देखिन्छ। पुरातनवादी सोचमा आधारित यो अतिवाद वा त्यो अतिवादले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि उल्ट्याउने दुस्प्रयासस्वरूप शान्ति प्रक्रियायता दर्जनौंपटक कमरेड प्रचण्डलाई कमजोर पार्न उनको राक्षसीकरणको घटिया कार्य हामीले झेल्दै आएका छौं। यही श्रृङ्खलाको पछिल्लो कडीका रूपमा प्रचण्डको राक्षसीकरणको खेल चलाएर जनतामा प्रचण्डप्रति आम घृणा पैदा गर्ने प्रपञ्च मन्थन भइरहेको छ। अहिले रबि लामिछाने त्यसकै एउटा रूप हो। विभिन्न स्वार्थ र शक्तिहरूको निशानामा हिजो प्रचण्ड जति हुनुहुन्थ्यो, आज पनि त्यही अनुपातमा तारो बन्नुभएको छ। यस अर्थमा प्रचण्ड मुल लक्ष्यमा दृढ र सही हुनुहुन्छ।

इतिहासको अनुभवहरूबाट हेर्दा स्थापित कम्युनिष्ट नेता सिध्याउन अन्तर्राष्ट्रिय र हाम्रै इतिहासमा के–कस्ता परिघटनाहरू मञ्चन भए भन्नका लागि तलका केही उदाहरण काफी छन्। क्युवामा फिडेल क्यास्ट्रोलाई सिआइएले ६०० पटकभन्दा बढीपटक मार्ने योजना बनायो। हाम्रो इतिहासमा भीमसेन थापा, मदन भण्डारी र राजा वीरेन्द्रको हत्या किन र कसरी भयो ? हामी जानकार नै छौं। चीनमा माओलाई प्लेनमा मार्ने योजना आफ्नै सहयोद्धा लिनपियायोले बनाए। तर, असफल भयो। रूसमा लेनिनमाथि गोली प्रहार भयो। स्टालिनलाई आफ्नै पार्टीका नेताबाट मार्ने षड्यन्त्र भयो। तर, असफल भयो। भारतमा सशस्त्र सङ्घर्षमा रहेका एउटै विचार बोकेका तर, फरक फरक गुटमा रहेका कम्युनिष्ट पार्टीले एकले अर्को पार्टीका नेता कार्यकर्ताको हत्या गरेका थिए।

कोन्टा विद्रोह सुनैकै छौं। ‘फुटाउ र राज गर’को तरिकाद्वारा एउटा कम्युनिष्टविरुद्ध अर्को कम्युनिष्टलाई भिडाएर एउटै तीरबाट दुईवटा शिकार खत्तम पार्ने रणनीति कम्युनिष्ट विरोधीको नयाँ कुरा होइन। विश्वबाट असफल भइसकेको कम्युनिष्ट नेपालमा जुटेर ठूलो कम्युनिष्ट पार्टी बनेको प्रतिक्रियावादीलाई राम्रो लागेको छैन। शान्ति प्रक्रियादेखि संविधान निर्माण र पार्टी एकतासम्म आउँदा राष्ट्रिय राजनीतिमा प्रचण्डको नेतृत्व कौशलता जुन उचाईबाट झल्किरहेको छ, त्यसलाई कसरी डिमोरलाइज गर्न सकिन्छ भन्ने खेल भइरहेको छ। प्रचण्डलाई निरपेक्ष देवत्वकरण सिध्याउन सकिन्छ कि निरपेक्ष राक्षसीकरण गरेर ? यो नयाँ अभ्यास होइन।

प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको नेतृत्वमा रहेको बर्तमान कम्युनिष्ट सरकारले दीर्घकालिन महत्वका रचनात्मक काम गरेको छ। संविधानले व्यवस्था गरेको मौलिक हक र अधिकार कार्यन्वयनका लागि नयाँ संरचनाहरू र कानूनहरू निर्माण गरेको छ। ‘सुखी नेपाली’को लक्ष्य हासिल गर्न जनजीकिाका धेरै काम गर्न बाँकी छ। जनताको आर्थिक जीवनमा सुधार ल्याएर सुखी नेपालीको सपना पूरा गर्नुछ । भ्रष्टाचार, विकृति, बिसंगतिलाई कानूनको कठाघरामा खडा गरी सजाय गर्नुछ। संविधानमा भएका मौलिक हक अधिकारलाई कार्यान्वयन गर्न चाहिने कानूनहरू निर्माण भएका छन्। समृद्धिको काम त सुरू भएको छ। सुखी नपालीको परिणाम आइसकेको छैन। जनतालाई खुसी बनाउन पर्यटन, उर्जा, कृषि र पूर्वाधार निर्माणमा जनमूखी योजना लागू गर्ने स्थिति बनेको छ।

मुलूकको सम्पूर्ण तागतलाई एकाकार गरी विकासलाई तिब्रता दिने परिस्थिति तयार भइरहेको बेला कम्युनिष्टविरोधीले कम्युनिष्ट सरकार स्थिर रहेर विकासमा फड्को मार्दै जान सक्छ भन्ने बुझेका छन्। कम्युनिष्ट एकता र सरकारको नेतृत्व कम्युनिष्टले लिएको एकथरि तत्वलाई मन परेको छैन। एकता नहोस्, पार्टी फुटोस्, कमजोर बनोस् र जनता भड्काउन सकियोस् भन्ने जोखाना हेरेका छन्। अस्थिरताको दलदलमा मुलूकलाई धकेल्न सकियोस् भन्ने चाहानाले काम गरिरहेको देखिन्छ। हाल पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लव समूहको निशाना कमरेड प्रचण्डमाथि केन्द्रित हुन खोजेको देखिन्छ। उपरोक्त परिघटना हेर्दा कतै शान्ति भाँडेर रक्तपाततिर मुलूकलाई धकेल्न गम्भिर षड्यन्त्र त छैन ? भन्ने प्रश्न जन्मिएको छ।

जनताका आशा र अपेक्षा कम्युनिष्टले मात्र पूरा गर्न सक्ने कुरा हो। कम्युनिष्टहरू एकताद्ध भएर मात्र त्यो गर्न सकिन्छ। परिस्थितिको गाम्भिर्यतालाई बोध गर्दै विप्लवलाई क. प्रचण्डले ‘२०५२ को पूरानो तरिकाले कतै पुगिन्नँ। नक्कल गरेर सफल नेता भइँदैन, परिपक्व हुनुहोस्, नयाँ कुरा ल्याउनुस्’ भन्नुभएको हो। विप्लव कमरेडले ‘श्रम, प्रविधि र चेतनाको फ्युजन वैज्ञानिक समाजवादी क्रान्ति हो’ भन्नुभएको छ। त्यसका लागि अहिलेको संविधानभन्दा बाहिर जानुपर्ने आवश्यकता छैन। शान्तिपूर्ण छलफल बहसको तरिकाबाट नेपालको संविधानमा टेकेर एकतावद्ध हुँदै राष्ट्रिय पूँजीको विकास गर्दै वैज्ञानिक समाजवादको आधार बनाउन सकिन्छ।

सीमा, समस्या आफ्ना ठाउँमा होलान्। तर, मुलधारमा बसेर छलफल गर्न नसकिने कुरा छैन। कम्युनिष्ट सरकारको नेतृत्व असफल पार्न कोशिस भइरहेको छ। अन्तराष्ट्रिय शक्तिको त्रिकोणात्मक रणनीतिक स्वार्थले हामीकहाँ केही न केही काम गरिरहेकै हुन्छ। शक्ति केन्द्रको प्रभावमा केही मिडिया योजनावद्ध रूपमा नै तथ्यलाई बङ्याएर, यताउति तन्काएर विषयलाई सकभर विवादित बनाउन लागेका छन्। नेपालको हितमा अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओली र अध्यक्ष क. प्रचण्डले छिमेकी राष्ट्र, अन्तराष्ट्रिय स्तरमा सन्तुलन बनाउन मेहेनत गरिरहनुभएको छ। तर, मिडियाले सरकार र पार्टी नेतृत्वका राम्रा पहलहरू ओझेलमा परून् भन्नका लागि तथ्यगत आधारविना नै अमुक नेता अमेरिकापरस्त, अमुक नेता भारतपरस्त, चीनपरस्त भनेर मिथ्या प्रचार गर्ने गरेका छन्।

हामीभित्र आन्तरिक समस्या पनि छन्। तर, ती समाधान नै गर्न नसकिने प्रकृतिका छैनन्। घटनाहरू गहिरिएर अध्ययन गर्ने, हेर्ने, बुझ्ने र आफ्नै विवेकलाई नढाँटीकन भन्ने हो भने राम्रो र नराम्रो दुवै जे हो, त्यही देख्न, बुझ्न र सुधार्न सकिन्छ। बिना आधार, बिना तथ्य, जाँचबुझ बिनाको सतही हल्लामा तरंगित भइहाल्न पनि हुँदैन।

राम्रो कति प्रतिशत हो, नराम्रो कति प्रतिशत हो, हिसाब गर्नुपर्छ। संविधानअनुरुपका नयाँ कानून बनेका छन्। अब न्याय, विकास, समृद्धिको यात्रामा एकढिक्का भएर लाग्दा छिटै ठूलठूला परिणाम निकाल्न सकिन्छ। हामीले हाम्रो नेतृत्वलाई रचनात्मक सुझाव सल्लाह र काममा सहयोग गर्न आवश्यक छ।

पार्टी एकतालाई तलैसम्म पूर्णता दिने अहिलेको मूख्य काम हो। देशभर पार्टी कमिटिका मिटिङ र भेलामा छलफल चलाउँदै जनतामा पारिएका भ्रम र आशंकाहरू निवारण गर्दै जानुपर्छ। गुटगत आग्रह पूर्वाग्रह त्यागेर जनसेवाको काममा लाग्नुपर्छ।

भरोसायोग्य, स्थायी र दीगो विकासमा जोड दिनुपर्छ। साङ्गोपाङ्गो नहेरिकन हतारमा आत्तिइहाल्ने र धेरै मात्तिइहाल्ने गर्नु हुँदैन। आफ्नो ठाउँमा सजग, सचेत र प्रष्ट हुनुपर्छ। हाम्रासामू चुनौती र सम्भावना सँगसँगै छन्। हामी आ–आफ्नो ठाउँमा इमान्दार भएर लाग्दा सबै ठीक हुँदै जान्छ। डा. सिके राउत पृथकतावादी अतिवाद त्यागेर राजनीतिको मुलधारमा आएका छन्। उनका गतिविधि हेर्दै र बुझ्दै जाने विषय हो। उनका गतिविधिअनुसार सरकार र पार्टीले धारणा बनाउँदै जान्छ।

बिप्लवलाई वार्तामा ल्याउनुपर्छ, प्रतिबन्ध अन्तिम समाधान होइन। हिंसा मुलूकले थेग्दैन र आवश्यक पनि होइन। मुलधारमा सामाजिक न्याय, सुशासन, विकास, समृद्धि हुँदै समाजवादको यात्रा जो एकीकृत जनक्रान्तिको भावना यसैभित्र अन्तर्निहित हुन सक्छ, शान्तिपूर्ण ढंगले एकतावद्ध भएर सँगसँगै हिंडेर पूरा गर्न सकिन्छ ।

पहिलो, हामी छिटोभन्दा छिटो जनतामा जानुपर्छ। पार्टी र जनता बीचको अन्तरसम्बन्ध प्रगाढ बनाउन आधारभूत जनताका आलोचना सुन्नुपर्छ। तलैदेखि जनप्रतिनिधि, पार्टी नेता, कार्यकर्ताहरूले जनतालेचोखो मनले गरेको आलोचना सुन्नुपर्छ, उसले जानेको भाषामा नेताहरू सच्चिनुपर्छ। राम्रो काम गर्नुपर्छ भन्ने जनमतलाई शिष्टतापूर्वक लिई पार्टीको माथिदेखि तल र तलदेखि माथिका नेताहरूले आ–आफ्ना खराबी के–के छन्, हेनुपर्छ, धुलो लागेको भए टक्टकाउनुपर्छ। नेताका गल्तीले कार्यकर्ता र कार्यकर्ताका गल्तीले नेता लज्जित हुनपर्ने स्थिति बन्न दिनुहुँदैन।

दोस्रो, नेपालको राजनीति अन्तर्राष्ट्रिय चाहनाबाट पनि प्रभावित हुन्छ। संघ र प्रदेशको मात्र होइन, टोल, वडा र गाउँको विकास गर्ने प्रश्नलाई हेर्दा त्यहाँ अमेरिका, भारत र चाइनाको स्वार्थ पनि आइरहेको हुन्छ भन्ने कुरा भुल्नु हुँदैन।

हामी साझेदारी अर्थतन्त्रको अभ्यासमा छौं। उर्जा र पर्यटनको क्षेत्रमा देखिएका पछिल्ला गतिविधिले समृद्ध नेपाल बन्न अब गाह्रो छैन। समृद्ध नेपाल सँगसँगै सुखी नेपाली बनाउन हामीले जोड दिनुपर्छ। प्राविधिक ब्यवसायिक शिक्षा। आधुनिक कृषि, उद्योग, मलखाद, सिंचाइ, बीउ बिजन औजारमा सहजता र भरपर्दो कृषि बजार।

दीगो स्थायी र पक्की पूर्वाधार विकास, भ्रष्टाचारको रोकथामजस्ता जनमूखी वैज्ञानिक योजना, अनुगमन र परिणाममुखी काम हुनसके मात्र सुखी नेपालीको नाराले सार्थक रूप लिन थाल्छ। चुनावलाई केन्द्र बनाएर भोट बैंक र अर्को चुनावका लागि खर्चको जोहोमा लोभिएर विकासका नाममा हुने अराजकता र अपचलनलाई छुट दिनु हुँदैन। त्यसमाथि पूरै रोक लगाउनुपर्छ।

तेस्रो, राजनीतिक रूपमा क. प्रचण्ड र क. ओलीलाई सिध्याउन घेराबन्दी सुरू भएको छ। अहिले सतहमा देखिरहेका परिदृश्य हेर्दा राजतन्त्र फर्काउने दक्षिणपन्थीको एउटा अति र सशस्त्र गतिविधिको बामपन्थी दुस्साहसवादी अर्को अति छन्।

यी दुवै शक्ति वर्तमान राजनीतिक उपलब्धिलाई असफल साबित गराएर उल्ट्याउने प्रपञ्चमा छन्। पहिलो प्रचण्डको पूर्ण सखाप र दोस्रोमा विप्लवामाथि पूरै नरसंहार वा आत्मसमर्पणसम्मको प्रयास नहोला भन्न सकिँदैन। यस प्रकारको दुस्साहसपूर्ण षड्यन्त्रलाई निस्तेज पार्न छिटोभन्दा छिटो राम्रोभन्दा राम्रो काम गरेर जनतालाई साथमा लिएर प्रतिवाद गर्नुको बिकल्प छैन।

चौंथो, मिडियाहरू अझ सामाजिक सञ्जाल र विद्युतीय मिडियामध्ये कतिपयलाई योजनाद्ध प्रलोभनमा पारेर र कतिपय भ्रमवश भरपुर दुरुपयोग भइरहेको छ। निशानाको प्रमूख केन्द्र बाहिर क. केपी शर्मा ओली र भित्र क. प्रचण्ड बनाएको देखिन्छ। स्वतन्त्र र देशभक्त मिडियाहरूले यो कुरा बुझेको हुनुपर्छ। उनीहरुको प्रस्तुति सही पनि छ, आलोचना रचनात्मक देखिन्छ। तर, कतिपय मिडियाहरू भने हातै धोएर पार्टी र सरकारका विरुद्ध लागेका छन्।

अन्त्यमा, भिजनयुक्त सक्षम र स्थापित र जनता र देशप्रति इमान्दार लिडरसिप समाप्त पार्न इतिहासमा दुईवटा विधि प्रयोग भएको पाइन्छ, १. हजारौं काल्पनिक कृतिम घटनाहरू पैदा गरेर जनतामा पूरै बदनाम गरेर सम्माप्त पार्ने र २. त्यति गर्दा पनि उसले भ्रम चिर्दै जनतामा जाने, देश र जनताका पक्षमा सकरात्मक काम गरिराख्ने कौशल देखाए विभिन्न षड्यन्त्रको जालो रची भौतिक रूपमै समाप्त पार्ने। यसको अपवाद नेपाल पनि छैन र हुन पनि सक्दैन।

क. प्रचण्डका सीमा, समस्याको तुलनामा त्याग, समर्पण, निष्ठा र गतिको श्रृङ्खला धेरै माथि छ। क। प्रचण्ड चार दशक लामो विचारधारात्मक सङ्घर्ष र वर्गसङ्घर्ष, शान्ति, संविधानका अनुभवहरूको दर्जनौ श्रृङ्खलाबाट खारिएको वैचारिक नेता हो। ठोकेर भन्न सकिन्छ प्रचण्ड नरहँदाको भोलिपल्ट नेपाल धर्म, निरपेक्षता, सङ्घीयता, गणतन्त्र समावेशी–समानुपातिक र एसियाकै उत्कृष्ट संविधानको अवभेष पनि नरहने गरी त्रिदेशीय अन्तरविरोधको टकरावमा परेर खण्डहर भइसकेको हुनेछ। विचार गरौं, प्रचण्ड सिद्धिएर हामी कोही पनि सुरक्षित हुँदैनौं।