पार्टीमा भावनात्मक एकता गर्ने हाम्रो पहिलो कार्यभार हो: तुलसीराम पुन ‘सुवास’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको सचिवमा तुलसीराम पुन ‘सुवास’ चयन भएका छन् । पूर्व घटक माओवादी पार्टीको करिब एक दशक सचिवको जिम्मेवारी बहन गरिसकेका सुवास पार्टी भित्र इमान्दार, सरल र स्पष्ट योजना बनाउन सक्ने नेताका रुपमा स्थापित छन् ।

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको समयमा उनले जनमुक्ती सेनाको कमाण्डर भएर लामो समय काम गरेका थिए । कुशल सैन्य कला भएका सुवास संगठनमा समेत राम्रो अनुभव हासिल गरिसकेका छन् ।

उनीसँग चेतना अनलाइका सम्पादक पाण्डव शर्माले पार्टी एकता, आगामी योजना, उनका अनुभूति लगायतका विषयमा केन्द्रित भएर गरेको कुराकानी ।

दुई प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको सचिवको जिम्मेवारी बहन गर्नुभएको छ । कस्तो अनुभुति भएको छ ?

सबैभन्दा पहिलो कुरा नेकपाको एकता प्रकृया लामो समय देखि विभिन्न विषयहरुमा अवरोध भइरहेको थियो । अहिले पार्टीको सचिवालय बैठकबाट एकताका केही बाँकी कामहरुलाई सम्पन्न गरेको छ । यसबाट पनि एउटा खुशी पैदा भएको छ ।

जिम्मेवारीका हिसाबले मलाई जुन जिम्मेवारी दिइएको छ । यसबाट मलाई नयाँपनको महसुश भएको छ । विगतमा पनि करिव १० वर्ष पूरानो पार्टीको सचिवको जिम्मेवारी रहेर काम गरिसकेको अनुभव मसँग छ । अब नयाँ पार्टीमा पनि मलाई सचिवको जिम्मेवारी पाए पछि नौलो अनुभूती भएको छ । मलाई उत्साह जागेको छ ।

पार्टीको तल्लो कमिटीसम्म अँझै एकताले पूर्णता पाउन सकेको छैन । जनवर्गीय संगठनहरुको एकताको काम बाँकी नै छ । पार्टी एकताले पूर्णता कहिले पाउला ?

जनवर्गीय संगठनको एकता केन्द्रस्तरबाट नै एकताको काम अघि बढेको छैन । अब छिट्टै केन्द्रबाटै जनवर्गीय संगठनहरुको नाम, नेतृत्व देखि विभिन्न विधान टुंगिदै आउने छन् । जनवर्गीय संगठनहरुले केन्द्र देखि प्रदेश र जिल्ला हुँदै एकताको प्रकृया अघि बढ्ने छ ।

पार्टी एकताको सन्दर्भमा हामीले जिल्लामा कार्यदल बनिसकेपछि नगर र गाउँ कमिटी निर्माण गरेका छौं । कतिपय तहरुले आफ्ना वडा कमिटीको निर्माण गरिसकेको अवस्था छ भने कतिपय ठाउँमा गृहकार्य चलिरहेको छ । त्यसलाई घोषणा गर्न बाँकी छ । जिल्ला कमिटी छिटै बन्ला र बाँकी कामहरु पनि जतिसक्यो छिटो टुंग्याउँछौं ।

तपाईहरु फरक फरक पृष्ठभूमिबाट आएका पार्टीहरु एकता गर्नुभएको छ । पार्टी एकता प्रकृया लामो समयसम्म चल्यो । यो अबधिमा तपाईहरुबीच भावनात्मक एकता गर्न कत्तिको सफल हुनुभएको छ ?

विभिन्न कार्यक्रमहरुमार्फत हामीहरु एक आपसमा सहकार्य गर्दै आएका छौं । निर्वाचनमा भएको सहकार्यले पनि हामीलाई भावनात्मक रुपमा एक हुनका लागि थप सहयोग पुग्यो । जिल्लास्तरमा कार्यदल बनेकाले हामीलाई जिल्लास्तरमा एकताको काम गर्न पनि केही सहज भयो ।

हामीले सबै कुराहरु सहमतीमा टुंग्याएका छौं । हामी विगतमा आफ्नो पृष्ठभूमी र पार्टीमा भए पनि जिल्लाका विभिन्न एजेण्डाहरुमा विगत देखि नै सहकार्य गर्दै आएका थियौं । अब सहकार्यका लागि त्यस्तो अप्ठेरो र जटिल अवस्था हुँदैन ।

मुख्य कुरा पार्टी हो । पार्टीको संगठनात्मक एकता हो । हामीले पार्टी अनुशासनलाई मुख्य रुपमा जोड दिनुपर्ने छ । पार्टीलाई भावनात्मक रुपले एकताबद्ध गर्नु अहिलेको आवश्यकता हो । त्यसपछि हामीले पार्टीलाई स्पष्ट बिचार, स्पष्ट योजना सहित जनताको घरदैलोमा पु¥याउने छौं । पार्टीले सर्वहारा, श्रमजिवि, किसान, शोषित, उत्पीडित, प्रगतिशिल, देशभक्त शक्तिहरुलाई गोलबन्द गर्दै अगाडी बढ्ने छ ।

हिजो तपाई १० वर्षे जनयुद्धको समयमा जनमुक्ति सेनाको कमाण्डर भएर पनि काम गर्नुभयो । शान्तिप्रकृया हुँदै तपाईहरुले पनि खुला राजनीतिको अभ्यास गर्नुभयो । अहिले पार्टीमा नयाँ ढंगको एकता पैदा भएको छ । विगतमा तपाईहरुले सञ्चालन गरेको पार्टीको संगठनात्मक पद्धती र अहिलेको अबस्थामा कत्तिको भिन्नता पाउनुभएको छ ?

विगतको जनयुद्धको क्रममा हाम्रो पार्टी फलामे अनुशासनमा थियो । संगठनात्मक रुपमा हाम्रो संगठनको रुप फौज भन्ने नारा थियो । चाहे हामी संगठनिक क्षेत्रमा काम गरौं चाहे जनमुक्ति सेनामा काम गरौं । हाम्रो फलामे अनुशासन थियो । त्यो बेला हाम्रो अनुशासन निकै कडा हुन्थ्यो । पार्टी भित्र हामी अत्यन्तै पादर्शी हुनुपर्दथ्यो ।

अहिले खुला प्रकृयामा आए पछि त्यो बेलाको जस्तो शक्ति र जोश जाँगर अलि कम भएको जस्तो लाग्छ । अब हामीले जे जति पार्टी भित्र प्रवेश गरेका नराम्रा खाले बिचार, व्यवहार र आचारणहरु र सस्कारलाई कम्यूनिष्ट बिचार, सिद्धान्त, अनुशासन र नैतिकता अनुरुप ढाल्ने प्रयास गर्ने छौं ।

सांगठनिक रुपमा हामी लेनिनवादी संगठनात्मक पद्धतीमा, बैचारिक रुपले माक्र्सवाद, लेनिनवादको आलोकमा पार्टी केन्द्रको निर्देशनमा तथा माथिल्लो तहको निर्णयमा एकबद्ध र प्रतिबद्ध भएर अघि बढ्ने छौं ।

नेकपाको आन्तरिक जीवन अहिले संक्रमणकालिन अबस्थामा छ । तपाई दाङ जस्तो राजनीतिक हिसाबले राष्ट्रिय प्रभाव राख्न सक्ने जिल्लाको सचिव बन्नुभएको छ । पार्टीलाई अघि बढाउन के योजना छ ?

हामीले हाम्रो पार्टीका विभिन्न तहका कमरेडहरुलाई क्षमता अनुसारको उचित जिम्मेवारी प्रदान गर्नुपर्ने छ । तल्लो तहसम्मका कमिटीहरुलाई समायोजन गर्नुपर्ने छ । मुख्य कुरा पार्टी हो । पार्टीको संगठनात्मक एकता हो । हामीले पार्टी अनुशासनलाई मुख्य रुपमा जोड दिनुपर्ने छ ।

पार्टीलाई भावनात्मक रुपले एकताबद्ध गर्नु अहिलेको आवश्यकता हो । त्यसपछि हामीले पार्टीलाई स्पष्ट बीचार, स्पष्ट योजना सहित जनतको घरदैलोमा पु¥याउने छौं । पार्टीले सर्वहारा, श्रमजिवि, किसान, शोषित, उत्पीडित, प्रगतिशिल, देशभक्त शक्तिहरुलाई गोलबन्द गर्दै हामी अगाडी बढ्ने छौं ।