पानिको महत्व तिर्खा लागेपछि मात्र

मानवजीवनका लागि मात्र नभएर हरेक प्राणीको लागि पानीको उपलब्धता जति जरुरी छ, मानवजीवनका लागि झन् खानेपानीको शुद्धतामा समेत ध्यान दिनु जरुरी छ । किनभने, अनेकन रोगहरुको कारक पनि खानेपानी नै बन्ने गरेको छ ।

पानीमार्फत फैलिने रोगका कारण विश्वमा धेरै मानिसको ज्यान जाने गरेको छ । दूषित पानीका कारण अनेक रोगको संक्रमण बढ्ने भएकाले पछिल्लो समय स्वच्छ पानीको अभियान चलाइएका छन् । खानेपानीको स्वच्छताका लागि चालिएका केही कदमहरु स्वागतयोग्य पनि छन् ।

खानेपानीका ट्यांकरमा पानी परीक्षण गरी स्टिकर लगाउने, बोलतबन्द पानी उद्योगहरुमा गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीपीएम) मापदण्ड अपनाउन लगाउनेजस्ता केही अभियानहरु प्रशंसनीय छन् । हामीले सेवन गर्ने खाद्य तथा पेयपदार्थहरुमा विष–विषादी, केमिकल्स र रसायनहरुको प्रकोपले स्वस्थ मानिस भेटिनै मुस्किलजस्तै भइसकेको अवस्था छ । अहिले मानिसले पानीसमेत शुद्ध पिउन पाएका छैनन् । समाजमा चेतनाको कमी र असावधानीका कारण पानी परीक्षण गर्ने बानी नगण्य छ । अस्पतालहरुमा समेत शुद्धपानीको व्यवस्था नभएका खबरहरु समय–समयमा सार्वजनिक हुँदै आएका छन् ।

चितवनमा अधिकांश प्रशोधित पानी उद्योगहरुले पानीको नियमित परीक्षण नगर्ने पाइएको छ । केही खानेपानी संस्था, संघसंस्था, उद्योग र व्यक्तिले पानी परीक्षण गर्ने गरे पनि अधिकांश व्यक्तिलाई कस्तो पानी सेवन गरिरहेका छौँ भन्ने नै थाहा छैन । खानेपानी परीक्षण प्रयोगशाला, भरतपुरमा परीक्षणका लागि ल्याइएका अधिकांश नमुनाहरुमा कोलिफर्म (दिसामा हुने जीवाणु) देखिएको छ । कोलिफर्मको जीवाणु भएको पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइडजस्ता रोगहरु लाग्छन् । विशेष गरी माडी, सौराहा, नवलपरासीलगायतका क्षेत्रमा प्रयोग गरिने पानीमा आर्सेनिक फेला परेको छ ।

अधिकांश चितवनवासीले आर्सेनिकयुक्त खानेपानीकै प्रयोग गरिरहेका छन् । यस्तो पानी नियमित सेवन गर्दा क्यान्सर रोग लाग्ने केमिस्टहरुले जनाएका छन् । भरतपुर प्रयोगशालामा ४ सय जनाले ल्याएको पानीको नमुना परीक्षणमा ५७ प्रतिशत प्रदूषित देखिनुले खानेपानीको अवस्था छर्लंग हुन्छ । शुद्ध मानेर किनेर पिइने मिनरल वाटर अर्थात् प्रशोधित पानी उत्पादकले समेत नियमित पानी परीक्षण नगर्ने दृष्टान्तले हामी कति शुद्ध पानी पिइरहेका छौँ भन्ने प्रस्ट हुन्छ । खानेपानी उद्योग सञ्चालन गर्नेहरुले आफ्नै स्वचालित मेसिन जडान गर्नुपर्ने प्रावधान भए पनि चितवनमा सञ्चालित १८ उद्योगमध्ये अझैसम्म कुनै पनि उद्योगले प्रयोगशाला राखेका छैनन् ।

नेपालका अधिकांश शहरबजारमा ट्यांकर र बोतलबन्द प्रशोधित पानीको भर गर्नुपर्ने बाध्यता छ । प्रायः खोलानाला र भूमिगत स्रोतबाट संकलित पानीलाई नै प्रशोधित गरी बेच्ने गरिएको छ । राम्रोसँग प्रशोधन नगरी सोझै उपभोक्तासम्म पु¥याइने त्यस्ता पानीको कारण हैजा, आउँ, हेपाइटाटिसजस्ता रोगका स्रोतसमेत बन्दै आएका छन् । उपभोक्ताको गुनासोका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गरिएका विभिन्न पानीका बोतलहरुमा ‘इकोलाइ’ जस्ता हानिकारक जीवाणुहरू भेटिनुले यसको पुष्टि गर्छन् ।

पानीजस्तो संवेदनशील पदार्थमा पनि हेलचेक्र्याइँ र लापरबाही हुुनु अपराध हो । अझ पानी प्रशोधन उद्योगहरुले बिक्री गर्ने पानी गुणस्तरहीन हुनु अर्को ठूलो बेइमानी हो । प्रशासनले पानी प्रशोधन गर्ने उद्योगहरुमा कडाइका साथ अनुगमन गर्नुपर्छ । गाउँशहरमा अझै पनि अधिकांश मानिसले चापाकल वा इनारजस्ता स्रोतकै पानी प्रयोग गरिरहेका छन् । यस्ता स्रोतबाट संकलित पानीको नमुना परीक्षणबाटै आर्सेनिक, कोलिफर्म, रंग, फलाम, एमोनिया रहे÷नरहेको निक्र्यौल हुने भएकाले हरेक व्यक्ति तथा समुदायले आफूले प्रयोग गर्ने पानीको शुद्धताबारे ध्यान दिनुु आवश्यक छ ।
– प्रमिला भुसाल, कैलाली ।

आगलागीबाट बच्न पूर्वतयारी आवश्यक
केही महिनाअघि झापाको शिवसक्षाक्षी नगरपालिकामा आगोले जलेर एकै परिवारका चारजनाको मृत्यु भयो । झापाको शिवसक्षाक्षी नगरपालिका मात्र होइन, नेपालका महानगरदेखि गाउँपालिकासम्म सबै स्थानीय तह आगलागीको उच्च जोखिममा छन् ।

झापामा उक्त घटनापश्चात् स्थानीयवासी जनप्रतिनिधिप्रति निकै आक्रोशित बने । मेयरले ७० लाखको गाडी चढ्दा एउटा दमकल किन्न नसक्ने भन्दै सार्वजनिकरुपमा तीव्र आलोचना भयो । सञ्चारमाध्यमले ‘दमकल छैन, मेयरलाई ७० लाखको गाडी !’ शीर्षकमा समाचार छापे । यो एक प्रतिनिधि घटनामात्रै हो । स्थानीय तहमा महँगो र विलासी गाडी चढ्ने शृङ्खला अद्यापि चलिरहेकै छ ।

जनप्रतिनिधिले लाखौँ रुपैयाँको गाडी चढ्दा आफ्नो गाउँ÷नगरमा दमकल, एम्बुलेन्स छ कि छैन भनेर ख्याल नराख्नु दुर्भाग्य नै हो । चितवनका सात स्थानीय तहमा जम्मा तीनवटा मात्रै दमकल हुनुले पनि हामी कति आगलागीको जोखिममा छौँ भनेर आँकलन गर्न सकिन्छ ।

भरतपुर महानगरमा दुईवटा र माडी नगरमा एउटा दमकलका भरमा चितवनवासी छन् । इच्छाकामना गाउँपालिका र पूर्वका चार नगर रत्ननगर, कालिका, खैरहनी र राप्तीले दमकल खरिद गर्ने सामूहिक निर्णय गरेको महिनौँ भइसक्यो तर अझैसम्म दमकलको व्यवस्था गरेका छैनन् ।

राजधानीमा मात्रै बर्सेनि २ सय बढी आगलागीका घटना हुन्छन् । चितवनमा मात्रै बर्सेनि एकसयवटा आगलागीका घटना हुने गरेका छन् । गाउँ होस् या शहर, कुनै पनि ठाउँ आगलागीको जोखिममा नरहेको भेटिन गाह्रो पर्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रत्येक ५० हजार जनसंख्याबराबर एउटा दमकल चाहिन्छ । भरतपुर महानगरमा मात्रै ७ लाख बढी जनसंख्या रहेको छ ।

यो मापदण्डअनुसार १४ वटा दमकल आवश्यक हुन्छ । प्रतिलाख जनसंख्या बराबर एउटामात्रै व्यवस्था गर्ने हो भने पनि भरतपुर महानगरमा कम्तीमा सातवटा दमकल हुनुपर्छ । उपत्यकामा १३ वटामात्रै दमकलका भरमा आगलागी नियन्त्रणको प्रयास गरिँदै छ भने देशभर चालू हालतका एक सयवटा दमकलले आगलागीको जोखिम हल गर्ने प्रयास गर्दै छन् ।

गाउँबस्ती, जंगलवरपरका बस्ती, जनघनत्व बढी भएका, घर जोडिएका असुरक्षित बस्तीहरु सधैँ आगलागीको जोखिममा रहेका छन् । खाना पकाउने ग्यासको असावधानीपूर्ण प्रयोग, कलकारखानामा हुन सक्ने सम्भावित आगलागी, विद्युत् सर्ट हुने, गाडी दुर्घटना, वन डढेलोलगायत विभिन्न कारणबाट आगलागी हुन्छन् । जुद्ध शमशेरको पालामा सन् १९९४ सालमा स्थापना भएको दमकल सेवा आठ दशकपछि पनि संस्थागत विकास हुन नसक्नु विडम्बनाकै विषय हो ।

स्थानीय तहमा को भन्दा को कमको गतिले महँगा र सुविधायुक्त गाडी खरिद गर्ने होड चलेको छ । जनप्रतिनिधिले कम्तीमा पनि एउटा अत्याधुनिक दमकल किन्ने तत्परता देखाउनुपर्छ । दमकल अत्यधिक महँगो गाडी हो ।

दमकल र पानीमात्र नभएर यसको सञ्चालनका लागि दक्ष र तालिमप्राप्त जनशक्ति चौबीसै घन्टा तयारी अवस्थामा रहनु आवश्यक हुन्छ । विगतमा आगलागी हुँदा आगो निभेपछि मात्रै दमकल पुग्ने, घटनास्थल पुग्दा दमकलमा पानी नै नहुनेजस्ता समस्या पनि देखिएका छन् ।

दमकल आकस्मिक यन्त्र हो । सर्वप्रथम आफ्नो गाउँ÷नगर सुरक्षित राख्न प्रदेश सरकारको समन्वयमा वा स्थानीय तह आफैँले किन्ने व्यवस्था मिलाउनु आवश्यक देखिएको छ ।
– सुविन सुवेदी, काठमाडौं ।