परिवर्तन संस्थागत गर्न दलिय एकता आवश्यकता छ–ज्ञवाली

घोराही ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले परिवर्तन संस्थागत गर्न दलिय एकता आवश्यक रहेको बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दाङको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले भन्नुभयो, ‘मुलुकको राजनीतिक परिवर्तनका लागि दलहरुका बीचमा भएको एकतालाई कायम राख्नुपर्दछ । सत्ता पक्षिय र प्रतिपक्षिय मानसिकता त्यागेर एकताबद्ध भएर परिवर्तन संस्थागत गर्नुपर्दछ ।’

लामो संघर्षपछि मुलुकमा परिवर्तन आएको भन्दै नेता ज्ञवालीले दलहरु नजुट्दासम्म विकास र समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने बताउनुभयो । तीनवटै सरकारले विकास र समृद्धिको यात्राको नेतृत्व गरेको भन्दै नेता ज्ञवालीले प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको समृद्धिको यात्रालाई सघाउ पु¥याउनुपर्ने बताउनुभयो । ‘जनताका आकांक्षा पुरा गर्ने कार्यमा मुलुकका तीनवटै सरकार लागिपरेका छन् । विकास र समृद्धिको यात्रालाई तीनवटै सरकारले अगाडि बढाइरहेका छन्’, स्थायी कमिटी सदस्य ज्ञवालीले भन्नुभयो, ‘सरकारको समृद्धिको यात्राको सहयोगी प्रतिपक्ष दल नेपाली कांग्रेस बन्न्ुपर्दछ ।’

नेकपाको सरकारले छिमेकी मुलुकहरुसँगको समान विदेश नीति अख्तियार गर्दै राष्ट्रिय स्वाधिनता कायम गरेको भन्दै नेता ज्ञवालीले भारत र चीन दुवै देशसँगको सम्बन्धलाई समान ढंगले अगाडि बढाएको बताउनुभयो । चीनका राष्ट्रपतिको भ्रमणले नेपालको विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेता ज्ञवालीले मुलुकको समृद्धिको यात्राका लागि भ्रमण फलदायी भएको दावी गर्नुभयो ।

मुलुकका अन्य कम्यूनिष्ट पार्टीहरुसँग एकता कायम गर्दै शक्तिशाली कम्यूनिष्ट पार्टी बनाउने दिशामा नेकपा लागिपरेको भन्दै नेता ज्ञवालीले उक्त गृहकार्य सुरु हुने बताउनुभयो । पार्टीभित्र विभिन्न समयमा बैचारिक मतभेद हुनु स्वभाविक रहेको भन्दै नेता ज्ञवालीले पार्टीभित्रका विकृति अन्त्य गर्नतर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।