नेपालीहरु आफ्नो रातो रगतले सीमारेखा कोर्न तयार हुनुपर्छ

शदियौंदेखि नेपालको सिमाना मिचेर आफ्नो क्षेत्र भन्दै भोगचलन गर्दै आएको भारतले पश्चिम नेपालको सिमाना मिचेर नेपाली भूभागमा सडक निर्माण गरेर आफ्नो विस्तारवादी आचरण विश्वसामु देखाएको छ ।

जतिजति स्थानमा भारतसँग नेपाली सिमाक्षेत्र रहेका छन्, त्यहाँत्यहाँ सीमा विवादको बखेडा निकाल्दै आएको भारतले नेपाललाई पत्तै नदिएर नेपाली भूमिमा आफ्नो स्वार्थसिद्ध गर्दै सडक निर्माण गरेपछि यतिबेला नेपालमा भारतीय विस्तारवादविरुद्ध आवाजहरु बुलन्द भएका छन् ।

पछिल्लो समय शक्तिराष्ट्रको ताज पहिरिने होडमा दिनानुदिन नयाँ प्रविधिको बिकास र प्रयोग गरिरहेको चीन र दक्षिण एशियामा जबरजस्त आफ्नो प्रभुत्व जमाउने होडमा दौडिरहेको भारतले दुई देशबीच ब्यापार बढाउने भन्दै सडक निर्माण गर्न थालेपछि स्वाभिमानी नेपालीहरुले पटकपटक त्यसको बिरोधमा आन्दोलनहरु नगरेका होइनन् ।

दुई देशबीच ब्यापार गर्नका लागि ब्यापारिकनाका निर्माण गर्ने भन्दै भारत र चीनबीच सन् २०१५ मा लिपुलेकलाई प्रमुख व्यापार केन्द्रका रूपमा विकास गर्ने सहमति भएपछि दुबै देशले आआफ्नो क्षेत्रमा सडक निर्माणलाई तीव्रता दिएका थिए । भारतले भर्खरैमात्र नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालिका– १ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक निर्माण गरेर उदघाटन गरेपछि नेपालमा यसको तीब्र बिरोध सुरु भएको छ ।

नेपाललाई थाहै नदिएर नेपाली भूमिबाट लिपुखोला किनार हुँदै भारतले २२ किलोमिटर लामो सडक निर्माण गर्नु स्वाभिमानी नेपालीलाई सह्य हुने कुरै भएन । यतिमात्र नभएर दार्चुलाको व्यास गाउँपालिका १ मा पर्ने गुञ्जीमाथिको भूभाग वर्षौंदेखि भारतीयको नियन्त्रण छ । नेपालप्रति सधैं हेपाहा ब्यबहार राख्ने भारतीय विस्तारवादले भर्खरै मात्र तावाघाट–लिपुलेक–मानसरोवर सडक उदघाटन गरेपछि नेपाली भूमिमाथि भारतीयको नाङ्गो हस्तक्षेप भन्दै स्वाभिमानी नेपालीहरु आक्रोशित छन् ।

भारतीय विस्तारवादले नेपाली उत्तर पश्चिमको लिम्पियाधुरादेखि गुन्जी कालापानी हुँदै लिपुलेकसम्मको नेपाली भूमि अतिक्रमण गरेको छ । भारतले गुन्जीबाट नेपाल प्रवेश गरेर त्यसमाथिका सबै नेपाली भूभागमा कब्जा जमाएको छ । त्यस्तै भारतले लिम्पियाधुराको कुटीबाट आउने नदी महाकाली भए पनि भारतले कालापानीमा बनाएको कालीदेवी मन्दिर छेउँको पानी (काली खोला)को मुहानलाई महाकालीको मुहान बताउँदै आफ्नो भूभाग भनेर भोगचलन गरेको लामो समय भइसक्यो ।

नेपालको व्यासका बासिन्दा लिपुलेक हुँदै ताक्लाकोट बजारमा व्यापार गर्न जाने गरेकोमा कालापानीमा भारतीय सुरक्षाकर्मी बसेपछि नेपालीलाई उक्त बाटो भएर अगाडि जान कडाई गरिएको थियो । भारतले सन् १९६२ को चीन–भारत लडाइँपछि उक्त क्षेत्रमा आफ्नो भूभाग सुरक्षाका निमित आफ्ना सिपाहीहरु राखेको भएपनि पछि बिस्तारै चीनसँगको व्यापारिक सम्बन्ध विस्तार गर्न नेपालको लिपुलेकलाई समेत हत्यायो ।

वर्तमान भारतीय शासक नरेन्द्र मोदी नेपालसँगको सम्बन्धका बारेमा जति लोकप्रिय हुन खोजे पनि त्योभन्दा सैयौं गुणा बढी स्वर्णिम नेपालको सुन्दर भूमिप्रति कुदृष्टि राखेको कुरा नेपालको विभिन्न स्थानको भूमिमाथि दिनदहाडै बलात्कार गरेबाट सजिलै लख काट्न सकिन्छ । यिनै द्वैध चरित्रका मोदी भारतका प्रधानमन्त्री भएपछि चीनसँग सुरक्षा रणनीति, व्यापार र धार्मिक हिसाबले उपयुक्त नाका लिपुलेक भएको ठहर गर्दै नेपालको भूमि मिचेरै यहाँको सडक निर्माणमा तीब्रता देखाएका हुन् । त्यसो त लिम्पियाधुरा र लिपुलेकतिरको नेपाली भूमि मात्रै मिचिएको होइन ।

भारतले नेपालको पूर्व मेचीदेखि पश्चिम कालीसम्मका नेपालका सिमानाहरू जो राजनीतिक, भौगोलिक र रणनीतिक हिसाबले फाइदाजनक छन्, ती सबै क्षेत्रका सिमानाका जंगे पिलरहरु भत्काएर सिमानाका हजारौं हेक्टर तराईका उर्वर भूमिमा आफ्ना सैनिकको क्रिडास्थल बनाएको छ ।

नेपालका गोर्खे सैनिकको वीरतापूर्ण इतिहास नजरअन्दाज गर्दै नेपालप्रति भारतले गरेको घृणित ब्यबहार देशभक्त स्वाभिमानी नेपालीहरुका लागि कदापि पनि सह्य हुँदैन । हिजोको खुर्पेठ्याक नेपाली सेनाले लडेको वीरतापूर्ण लडाई, नालापानी लगायत किल्ला काँगडा र टिस्टासम्म पुगेर नेपालका आम जनसमुदायहरुले लडेको वीरतापूर्ण लडाई, नेपालका विभिन्न भूभागहरूमा अंग्रेजहरुसँग नेपालले लडेको लडाई किन नहोस नेपाली सेनाको योगदान विश्व रंगमञ्चमा ओजपूर्ण भएको कुरा भारतीय शासकहरुले बुझ्न जरुरी छ ।

नेपाल विश्वका महाशक्तिका रुपमा उदाउँदा मुलुकहरु चीन र भारतको बीचमा रहेको स्वतन्त्र सार्वभौमसत्तासम्पन्न सुन्दर शान्त राष्ट्र हो । नेपाल आफैमा सानो र विकासशील मुलुक भएकाले यतिबेला महाशक्तिका रुपमा उदाउँदा राष्ट्रहरुले बल मिचाई गरेका छन् । नेपाली भूमिमा निरन्तर आफ्ना बिषालु नंग्राहरुले चिथोर्ने विस्तारवादी नीति अख्तियार गरेको भारतबाट दिनदहाडै प्रताडित थियो नै । त्यसमाथि महाशक्ति राष्ट्रको रुपमा उदय भएको चीनले पनि लिपुलेकमा भारतसँग व्यापारिक सम्झौता गर्दा सार्वभौमसत्तासम्पन्न नेपाललाई कुनै पनि सूचनाबिना सम्झौता गर्नुले नेपाली भूमिमा आफ्नो स्वार्थका लागि चीनले पनि र्याल चुहाएको देखिन्छ ।

हजारौंपटक नेपाली उर्बर भूमिमा आँखा गाडेको भारतले नेपाल, नेपाली राष्ट्रियता र स्वाधीनतामाथि पुनः एकपटक हस्तक्षेप गरेको छ । यो स्वाभिमानी नेपालीका लागि सानोतिनो बिषय बन्न सक्दैन । भारतमा जति नै शासकहरु फेरिए पनि नेपाललाई हेर्ने दृष्टिकोण र ठूलो मुलुक हुनुको रबैया भारतले कहिले पनि छाडेन । जसको उदाहरण कालापानी, महेशपुर लगायतका हजारौं स्थानहरु छन् । यसको पछिल्लो ज्वलन्त उदाहरण हो–कालापानी, लिपुलेक हुँदै चीनको धार्मिक पर्यटकीय स्थल मानसरोवर जोड्ने सडक निर्माण कार्य सम्पन्न गरी उक्त सडकको उदघाटन गर्नु ।

भारतले आफ्नो भूभागमा सडक निर्माण गर्दैगर्दा कुनै पत्तो नपाउने नेपाली राजनीतिज्ञ तथा विभिन्न समयमा सत्ताको बागडोर सम्हालेका नेताहरुको राष्ट्रियता भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमिमा भारतीय नम्बर प्लेटको सवारी साधन कुदाएर रिवन काटेपछि छचल्किएको छ । यसले राजनीतिज्ञहरुको मात्र होइन तथाकथित राष्ट्रवादी युवाहरुको झुण्डलाई समेत युट्युव तथा सामाजिक संजालमा कुर्लिने अवसर प्रदान गरेको छ ।

सधै नेपाली भूमिलाई विस्तारवादीहरुले आफ्ना बिषालु नंग्राहरुले चिथोर्दा आफ्नै मुटु चिथोरेझैँ गरी भक्कानिने निमुखा नेपाली जनताको देशप्रेमको भावना भने यतिबेला हृदयदेखि नै अंकुरण भएको छ । शदियौंदेखि नेपालको सीमा मिच्दै आएको भारतले नेपालको बिना कुनै अनुमति नेपाली भूमि प्रयोग गरी मानसरोवर जाने बाटो निर्माण सम्पन्न गरी उद्घाटन गरेपछि सरकार तथा विभिन्न समयमा सरकारमा हालीमुहाली गरेका राजनीतिक दलहरु राष्ट्रवादी वक्तव्य निकालेर राष्ट्रियताको ढ्वाङ फुकिरहेका छन् । तर वास्तवमै नेपाली भूमि फिर्ता गर्नका लागि नेपाल सरकारले वा अरु कुनै व्यक्तिले एक पृष्ठको वक्तव्य निकालेर अब पुग्दैन ।

हाम्रा देशका परराष्ट्र मन्त्रालयले निकालेका हस्ताक्षर बिनाका वक्तव्यलाई भारतले सिधै रद्दीको टोकरीमा फालिदिएर नेपाली भूमिमा रजाई गरिरहेको छ । अतः अब नेपालले वक्तव्य निकाल्दै बसेर मात्र हाम्रो भूमि फिर्ता हुँदैन । भारतले नेपालको भूमिप्रति राखेको वक्रदृष्टिलाई निर्मुल पार्न कुटनीतिक पहल आजै सुरु गर्नुपर्छ । नेपालले गरेको कुटनीतिक पहलले भारतले नसुन्ने अवस्था आउने हो भने अब भारतप्रति नेपाली निरीह बन्ने होइन यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्नुपर्छ ।

नेपाल र भारतबीचमा भएको सुगौली सन्धिका प्रत्येक पाना पाना पल्टाएर नेपालको भूमि छुट्याउनु पर्छ । विगतमा पनि यस्तै अतिक्रमणका कारण नेपालमा भारतविरुद्ध व्यापक जनदबाब भयो र भारतीय ज्यादतिको अन्तर्र्राष्ट्रिय चर्चा भएपछि अन्तर्राष्ट्रियरूपमा आफ्नो विस्तारवादी चरित्र उदाङ्गिने भएपछि दुईपक्षीय वार्ताबाट समस्या सुल्झाउने भन्दै वार्ता टोली बनाउन भारत तयार भएको थियो । यदि भारत तयार हुन्छ भने नेपालले एकपटक भारतसँग वार्ता गरी स्थायी समाधान खोज्न नितान्त आवश्यक छ ।

पछिल्लो मानसरोबर पुग्ने सडकमा चीन पनि जोडिएकाले नेपालले चीनसँग समेत सीमा समस्याका बारेमा गम्भीर छलफल गरी स्थायी निकास निकाल्न सक्नुपर्छ । कुनै पनि राष्ट्र सानो होस् वा ठूलो । धनी होस् वा गरिब सबै राष्ट्रको स्वाभिमान बराबरी नै हो । कसैले कसैलाई हेपाहा दृष्टिले हेर्नु हुँदैन । सार्वभौमसत्तासम्पन्न नेपालको सार्वभौमिकतामाथि बलमिच्याइँ गर्दै कसैले जबरजस्त आफ्नो भूमिको बलात्कार गर्छ भने करोडौं नेपालीहरु आफ्नो रातो र तातो रगतले सीमारेखा कोर्न तयार हुनुपर्छ । होइन भने नेपाल भारतसँगको सिमारेखामा जंगे पिलर मात्र होइन ग्रेटवाल लगाउन तयार छन् । पहिले आफ्नो सीमा छुट्याउनु नेपालको प्रमुख दायित्व हो ।

प्रकाशित मिति: May 12, 2020