नेपालमा केही गर्न सकिँदैन,लगानी गर्ने ठाउँ छैन भन्नेहरुले पिताम्बरबाट सिक्ने कि ?

वसन्ता पुन/दाङ ।
माघ १६ – ‘२० हजारको सामान एक हप्ता पनि पुग्दैन । बेचिसक्दा ८ हजारसम्म कमाउँछु ।’ दाङको घोराही बजारमा ठेलामा मौसमी फलफुल बेच्ने ४२ वर्षे पिताम्बर पौडेलको काम र कुरा पैसा कमाउन खोज्ने सबैका लागि निकै चाख लाग्दा छन् ।

हजारौं युवा महिनाको २० हजार कमाउन विदेशिरहँदा पिताम्बर भने नेपालमै रमाइरहनु भएको छ । तर यो हिम्मत पिताम्बरलाई त्यसै आएको होइन । यो उहाँको आफ्नै पिडाले जन्माएको हो ।

उहाँ २०६२ सालमा साउदी अरब जानुभयो । साउदीको दमाममा रहेको अहमद गुमुल्ला सुपरमार्केटमा लेवरको काममा । ‘९० हजार रुपैयाँ तिरेर सुपर मार्केटको काम सजिलो थियो । तर महिनाको तलब जम्मा पाँच सय रियाल मात्रै के गर्नु । ऋण तिर्नै २ वर्ष लाग्यो ’ उहाँले भन्नुभयो ।

८ वर्षसम्म एउटै कम्पनीमा काम गर्दा तलब विस्तारै बढ्यो । महिनाको झण्डै २० हजार रुपैयाँ पुग्यो । तर पनि चित्त बुझेको थिएन पीताम्बरको । घर छोडेर जाँदाको पीडा त छँदै थियो, भने जस्तो कमाइ नहुँदा पीताम्बरको मन तड्पिन्थ्यो ।

८ वर्ष विदेशमा बस्दा पनि सोचे जस्तो कमाइ भएन । अलि अलि कमाएको पनि घर खर्च र औषधी उपचारमै सकियो । त्यति त उहाँले भारतमा काम गर्न जाँदा नै कमाउनुहुन्थ्यो । त्यो पनि एक रुपैयाँ लगानी नगरी ।

‘तीन र एक वर्षको छोरा, बाआमा र श्रीमतीसँग बसेर रमाइलो गरेर जीवन बिताउने रहर कसलाई थिएन र ? मरुभूमीको गर्मी खाने रहर पनि त थिएन । तर पापी पेट र पैसाले गर्नु गर्छ’ उहाँले भन्नुभयो ।

परदेशमा ८ वर्ष बित्यो तर फर्किंदा हातमा १५ हजार रुपैयाँ मात्रै बच्यो । यो पिडा उहाँलाई मात्र होइन उहाँका आफन्तलाई पनि थियो । फेरि विदेश नजाने अठोट गरेर नेपाल फर्किनुभएको थियो ।

विदेशबाट फर्किएपछि लगभग ८ महिनासम्म उहाँ खाली बस्नुभयो । आफूसँग भएको १५ हजार पनि सकिने स्थिती आयो । पीताम्बरको समस्या देखेर दाङमै बसेर होटल चलाउने ठूलो बुवाको छोरा लुटुप्रसाद पौडेलले पनि विदेश जानु भन्दा दाङमै केही गरेर बस्न सुझाव दिनुभयो ।

‘दाइले भनेको कुरा त ठिकै थियो तर के गर्नु केही गर्नलाई पैसै थिएन ।’ लगानी गर्ने पैसा नहुँदा पीताम्बर केही समय त अलमलमा पर्नुभयो । त्यसमाथि नेपालमै केही गर्छु भन्दा नपत्याउने समाजका कारण उहाँको पीडा झनै थपियो ।

‘विदेश जान्छु भन्दा ऋण दिने प्रशस्त भेटिन्छन् तर नेपालमा केही गर्छु भन्दा कसैले दिँदैनन्’ पिताम्बर सुनाउनुहुन्छ । त्यसो त पिताम्बरको पुख्र्यौली घर अर्घाखाँचीको मालारानी गाउँपालिका–९ मा हो ।

तर सबैले सानो भएपनि व्यापार सुरु गर्न सुझाव दिएपछि उहाँले व्यापार त सुरु गर्नुभयो नै बसाई पनि अर्घाखाँचीबाट दाङमै सार्नुभयो ।

काम त सजिलो छ नै कमाइ पनि गज्जबकै छ । साउदीमा १२ घण्टा खट्ने पिताम्बर अहिले त्यसको आधा पनि खट्नुहुन्न । तर कमाइ दोब्बर छ ।

‘२० हजारको सामान एक हप्तामै सकिन्छ । त्यति बेचिसक्दा ७/८ फाइदा हुन्छ ।’ कमाइका कुरा सुनाउँदा ४२ वर्षका पिताम्बरको अनुहारमा खुसी देखियो ।

अहिले उहाँ ठेलामा मौसम अनुसारका सामान बेच्नुहुन्छ । कहिले फलफूल बेच्नुहुन्छ, कहिले बदाम बेच्नुहुन्छ अनि कहिले मकै पोलेर बेच्नुहुन्छ । उहाँलाई साथमा साथ हातमा हात दिन श्रीमतीले पार्वती पौडेलले दिइरहनुभएको छ ।

‘सबै घर खर्च र छोराछोरीको पढाई खर्च कटाएर महिनामा ३०/३५ हजार बचत हुन्छ ।’ कमाइको मेलो सुनाउनुभयो । जुन मरुभूमीमा उहाँका लागि सम्भव भएन् । अहिले उहाँसँग झण्डै ३ लाख रुपैयाँ बचत छ ।

दाङमै १० लाख रुपैयाँको घडेरी पनि जोडिसक्नु भएको छ । छिट्टै घर बनाउने योजनामा हुनुहुन्छ । ‘८ वर्ष विदेश बस्दा केही भएन । तर ४ वर्ष नपुग्दै नेपालमै प्रगति गरें ।

’ आफ्नो कामप्रति पीताम्बर आफैं दङ्ग हुनुहुन्छ । नेपालमा केहि गर्न सकिँदैन अनि लगानी गर्ने ठाउँ नै छैन भन्नेहरुले पिताम्बरबाट केही सिक्ने कि ।  उज्यालो अनलाइन बाट