नयाँ कांग्रेसीले नचिन्ने चैतु

पाण्डव शर्मा
साठिको दशक तिर दाङको घोराही बजारमा सधै जसो देखिने गोरा अनि अग्लो कदका एक जना व्यक्ति आजभोली देखिदैनन् । उनको वारेमा न कसैले खोज गर्न चाहन्छन् । न उनी आँफै चर्चामा आउन चाहन्छन् ।

नेपाली कांग्रेस दाङका पूराना नेताहरु मध्येका एक जना चर्चित नेता हुन् तीर्थराज चैतु ।
विपि जयन्तीको अबसरमा आज विहानै देखि फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा कांग्रेसीहरु आफ्ना उपदेश दिन व्यस्त देखिन्थे । मलाई कांग्रेस दाङको वारेमा जान्न मन लाग्यो । अनि कांग्रेसलाई जनता कहाँ लैजाने पूराना नेताको वारेमा पनि जानकारी लिन मन लाग्यो । मेरो दृष्टि पुग्यो हाल घोराही-१५ भरतपुरको एक घरमा वेडमा लम्पसार पल्टिरहेका तीर्थराज चैतु ।

दिउसो करिव एक बजे तिर उनको घरमा पुग्दा चैतु वेडमा एउटा मुढो झै पल्टिएका थिए । म पुग्ने वित्तिकै उनले आँफू नजिकै रहेको वेडमा बस्न आग्रह गरे । उनीसँग पछिल्लो पटक तीन वर्ष पहिले भेट भएको थियो मेरो । त्यतिवेला म नयाँ युगबोध दैनिका लागि अन्तरवार्ता लिन पुगेको थिए चैतु कहाँ । मैले पूरानो दिन सम्झाउदा वित्तिकै उनी मुस्कुराए । अनि कुराकानि शुरु भयो हाम्रो । उनीसँग भएको भलाकुसारी यहाँ प्रस्तुत गरिएको छ ।

तपाई नेपाली कांग्रेसलाई चिन्नुहुन्छ ?
(हाहा) कस्तो प्रश्न ? जसले कांग्रेसका लागि जीवन सर्मपण ग¥यो उसले कांग्रेसको वारेमा नजान्ने कुरै भएन नि ।

ए, तपाईलाई कांग्रेसीहरुले चिन्छ कि नाई ?
मलाई पूराना धेरै कांग्रेसी नेता तथा कार्यकर्ताहरुले चिन्नुहुन्छ । अहिले नयाँ पुस्तासँग त्यति चिनजान छैन । म हिड्न सक्दैन । घर मै थला परेको छु । जो म कहाँ आउँछन् । उनीहरुसँग कुराकानि हुन्छ ।

कहिले देखि थला पर्नुभयो ?
(अलि मलिन अनुहार बनाउँदै) तपाईले पूरानो कुरा सम्झाई दिनुभयो । म यसको वारेमा केही बताउनै पर्ने भयो । जव २०४६ चैत २६ गते तत्कालिन राजा विरेन्द्रले बहुदल घोषा गरे । त्यहि दिन मलाई दिउसो १ बजे घोराही जेलबाट रिहाई गरियो । २७ गते विजयी जुलुशमा म सहभागी भए ।

एक दुई दिन विजयी जुलशमै वित्यो । बैशाख ६ गते नेपाल विद्यार्थी संघको जन्म दिन थियो । म जन्मदिनमा भाग लिनुको अघिल्लो दिन गुरुवागाउँमा एक जना मित्रको घरमा सुतेको थिए । त्यसदिन राति बाहिर निस्कने क्रममा सिंढिबाट लडेर मेरो मेरुदण्ड नै भाँचियो । त्यसपछि म उठ्न बस्न नसक्ने भए । डेढ वर्ष सम्म उपचार नै गरियो । त्यसपछि लठ्ठी टेकेर सामान्य हिड्न सक्ने भए । त्यसपछि मेरो ओरालो यात्रा शुरु भयो ।

हुन त यसबीचमा म जिल्ला विकास समितिको सभापति पनि भए । तर, करिव ६ वर्ष भयो म निकै थलिएको छु । घर बाहिर जान सक्दैन । मेरो सहार अहिले वेड मात्र भएको छ ।

अहिले पार्टीमा निष्कृय हुनुहुन्छ है ?
म बिचारमा निष्कृय छैन । तर, हिड्न नसक्दा सक्रिय राजनीतिमा छैन । तर, पनि अहिले केही नेताहरु म कहाँ भेट्न आउँछन् । केहीलाई मेरो मतलव छैन ।

तपाई राजनीतिमा कहिले देखि लाग्नुभयो ?
म राजनीतिमा २०२४ साल देखि लागेको हुँ । मंसिर महिना थियो त्यो । मैले सबैभन्दा पहिले काशिनाथ गौतमको ‘नेपालका लागि समाजवादी मार्ग’ भन्ने किताव पढेको हुँ । त्यतिवेला विपि कलकत्तामा निर्वासित हुनुहुन्थ्यो । त्यसबाट मैले विपि र प्रजातन्त्रको वारेमा जान्ने मौका पाँए ।

मैले २००७ सालको क्रान्ति र २०१८ सालमा सुवर्ण सम्शेरले अगुवाई गर्नुभएको शसस्त्र आन्दोलनको विषयमा जानकारी पाएँ । मैले विजौरीका नवनकुमार शर्माबाट सदस्यता लिएको हुँ । हामी त्यतिवेला हप्तामा एक पटक विजौरी जाने गर्दथेउ । त्यतिवेला अहिले जस्तो सवारी साधन थिएनन् ।

कहिले हिड्दै, कहिले टेक्टरमा झुण्डिएर विजौरी जान्थ्यौं । त्यहाँ राजनीतिको वारेमा छलफल हुन्थ्यो हाम्रो । त्यसपछि म पढ्नको लागि बहराईज गए । आइए प्रथम वर्षको परिक्षा सकेर पढ्न वनारश गएको हुँ । त्यहाँ भारतका स्थानीय नेताहरुसँग राम्रो सम्पर्क थियो भेरो । वनारशमा खुमबहादुर खड्का, बलदेव मज्गैयाँ, हेमलाल भुसाल, ओमभक्त बुढाथोकी लगायतका दाङका साथिहरु थियौं ।

आज विपि जयन्ती विपिलाई कसरी सम्झनुभयो ?
मैले विपिलाई कुनै औपचारीक रुपमा सम्झन् पाएन ।

किन त्यस्तो ?
साथिहरुले बोलाउनुभएको थिए । मलाई स्वास्थ्यले साथ दिएको छैन । म राम्रोसँग बस्न पनि सक्दैन । करिव २० मिनेटको बीचमा पिसाव फेरी रहनुहुन्छ ।

तपाईको विपिसँग सँगत भयो कि भएन ?

म विपिको अनुयायी हुँ । मैले विपिलाई धेरै पटक भेटेको छु ।

कहिले भेट्नुभयो विपिलाई ?
मैले बहराईजमा पढ्दा खेरी नै विपिलाई भेटेको हुँ । हामी विपिलाई भेट्न वनारश गएका थियौं । त्यतिवेला विपिले निर्वासित जिवन विताईरहनुभएको थियो । वनारशमा विजौरीका साथि मुकुन्द गौतम, अन्य नेताहरु छविकुमार शर्मा, अम्मर घिमिरे, रामकुमद अनाडी, नारायण गौतम लगायतका नेतासँग भेट भयो ।

हामी सबै विपिलाई भेट्न गयौं । त्यतिवेला विपि वनारशको रथयात्रा चौराहको मुमारगञ्जमा बस्नुहुन्थ्यो । पहिलो भेट त्यहि भएको हो । हामी भेट्न जाँदा उहाँ माथिल्लो तलामा हुनुहुन्थ्यो ।

हामी गए पछि उहाँ तल झर्नुभयो । आग्लो कदको, मिजाशिलो स्वभाव अनि मुस्कुराईरहने विपिलाई मैले त्यहि भेटे । मैले त्यस अघि पनि विपिको वारेमा धेरै पढेको र फोटाहरु देखिसकेको थिए ।

जेल कत्तिको बस्नु भयो ?
म सात पटक जेल बसे । सबैभन्दा लामो समय पाँच वर्ष बसे । हुन त मलाई आजिवन कारावास सुनाईएको थियो । २०३२ सालमा पञ्चायतको दोस्रो संविधान संशोधन भयो । त्यसको वारेमा जनताको प्रतिकृया के छ भनेर बुझ्न विपिले हामीलाई दाङ पठाउनुभयो ।

शिव गिरी र म गुप्त रुपमा दाङ आयौं । तर, भरतपुर स्कुलको पूरानो छात्राबासको पूर्वतर्फ कटुवाखोलाको ढिकमा पुलिसले फेला पारिहाल्यो । हामीलाई हिरासतमा निकै यातना दिइयो । हामीलाई पूर्वपक्षका लागि घोराही कारागारमा राखियो । त्यतिबेला अञ्चलाधिश थिए चन्द्रमान भक्त थकालि । मुद्दा प्रक्रिया १६ महिना चल्यो ।

फैसला गर्ने बेला उनको सरुवा भइसकेको थियो । पछि नयाँ अञ्चलाधिश आए दिगम्भर झा । उनले आजिवन कारावास सजाय सुनाए । हामीलाई काठमाडौं केन्द्रिय कारागारमा लगियो । त्यहाँ तीन वर्ष आठ महिना बस्यौं । २०३६ सालमा जनमत संग्रह घोषणा भयो । २०३७ साल वैशाख २ गते प्रहरीले हामीलाई बल्ल छोड्यो ।

पार्टीमा कुन कुन तहमा बसेर काम गर्नुभयो ?
मैले एक कार्यकाल केन्द्रिय सदस्य र दुई कार्यकाल दाङ जिल्ला सभापति भएर काम गर्ने अबसर पाए ।

तपाई कांग्रेसमा अहिलेको मुल समस्या के देख्नुहुन्छ ?
सबैभन्दा मुख्य कुरा कांग्रेसीहरुले पढ्नै छोडेका छन् । सबै पैशाको पछि दौडिरहेका छन् । इमान्दारहरु पाखा लागेका छन् । सबैमा तीव्र महत्वाकांक्षा पलाएको छ । अग्रजलाई सम्मान गर्नुपर्छ भन्ने सोच नै छैन । हुन त सबै पार्टीमा होला यस्तो प्रवृत्ति । तर, म सबैभन्दा बढी कांग्रेसमै हावी भएको देख्छु यस्तो प्रवृत्ति ।

अहिलेको कांग्रेसलाई कस्तो देख्नुहुन्छ तपाई ?
अहिले पार्टीमा इमान्दार नेता तथा कार्यकर्ताहरु पछाडी परेका छन् । नेताहरु घमण्डी र व्यक्ति केन्द्रित भएका छन् । अहिलेको निर्वाचनमा कांग्रेसको पराजयको प्रमुख कारण नेताहरुकै दोष हो । यस्तै व्यक्तिवादी सोच हुने हो भने कांग्रेसलाई पतन गराउँछन् यीनिहरुले । अहिले टिकट वितरणमा एक जना व्यक्ति मात्रै हावि भए । उनको हर्कतले पार्टी कमजोर भएको कुरा सबैलाई थाहा छ ।

दाङमा खुमबहादुरले मात्र टिकटमा हस्तक्षप गरे भनिन्छ । तपाईले उनैलाई भन्न खोज्नुभएको हो ?
मैले व्यक्तिको नाम लिन्न । तपाई आँफै बुझ्नुस् ।

प्रकाशित मिति: July 21, 2017