‘धर्म र ईश्वर गरिबहरुको सबैभन्दा ठूलो दुस्मन हो’

रामु सिद्धार्थ / रातोपाटी

धार्मिक सम्प्रदाय आपसमा दुस्मनी राख्न सिकाउँदैन’– यो सेतो झूठको के ठेगान । धार्मिक सम्प्रदायले दुस्मनी सिकाउँदैन भने टुप्पी र दाह्रीको झगडामा हजार वर्षदेखि आजसम्म हाम्रो देश किन अल्झिरहेछ ? पुरानो इतिहासलाई छोडिदिनुहोस्, आज पनि हिन्दूस्तानका सहरहरु र गाउँहरुमा एउटा धार्मिक सम्प्रदायवालाहरुलाई अर्को सम्प्रदायका रगतको प्यासी कसले बनाइरहेछ ? गाई खानेहरुलाई गोबर खानेहरुसँग कसले लडाइरहेको छ ? वास्तविक कुरा के हो भने ‘धार्मिक सम्प्रदायले नै आपसमा दुस्मनी राख्न सिकाउँछ । भाइलाई भाइको रगत पिउन सिकाउँछ ।’ हिन्दूस्तानीहरुको एकता धार्मिक सम्प्रदायहरुको मेलमिलापमा हैन, त्यसको चितामा हुन्छ । कागलाई धोएर हाँस बनाउन सकिँदैन । धार्मिक सम्प्रदायहरुको बिमारी स्वाभाविक हो । त्यसको, मृत्यबाहेक अरू कुनै उपचार छैन ।
–राहुल सांकृत्यायन

राहुल सांकृत्यायनको जन्म ९ अप्रिल १८९३ मा एउटा ब्राह्मण परिवारमा भएको थियो । उनी वेदान्ती, आर्य समाजी, बौद्ध मतावलम्बी हुँदै मार्क्सवादी बने । विद्रोही चेतना, न्यायबोध र जिजासावृत्तिले उनलाई पूर्ण रूपमा ब्राह्मणवादी जातिवादी हिन्दू संस्कृतिको विरुद्धमा खडा गरिदियो । फुले र आम्बेडकरले जस्तै उनले जातिवादी अपमानलाई व्यक्तिगत रूपमा सामना त गर्न परेन तर सनातनी हिन्दूहरुको लाठी चाहिँ अवश्य पनि खानुपर्यो ।

राहुल सांकृत्यायन आफ्नो अपमार शास्त्र जान र जीवन अनुभवहरुका आधारमा हिन्दूहरुलाई सोझै चुनौती दिने गर्थे, त्यसको पतनशीलता र उच्च अहंकारलाई भण्डाफोर गर्थे । उनले आफ्ना पुस्तकहरुमा, विशेष गरेर ‘तिम्रो क्षय’मा हिन्दूहरुको समाज, संस्कृति, धर्म, भगवान, सदाचार, जातपातको अमानवीय अनुहारलाई नङ्ग्याएका छन् ।

उनी स्वतन्त्रता, समता र भाइचारामा आधारित एक उन्नत समाजको सपना देख्छन् । उनलाई यो कुराको गहिरोसँग अनुभूति छ कि मध्यकालीन बर्बर मूल्यहरुमा आधारित समाज र त्यसको व्यवस्थालाई विध्वंश नगरी नयाँ समाजको रचना गर्न सकिन्न । उनी स्पष्ट शब्दमा हिन्दू समाज, व्यवस्था, धर्म, जाति र उसका भवनाहरुको नाशको आह्वान गर्छन् । यिनीहरुको नाश नगरी नयाँ समाजको रचना गर्न सकिन्न भन्ने कुरा उनी मान्ने गर्थे ।

उनी हिन्दू समाज व्यवस्थाको सर्वनाशको आह्वान गर्दै भन्छन्, ‘हरेक पिँढीका करोडौँ व्यक्तिहरुको जीवनलाई कलुषित, पीडित र कष्टकर बनाएर के यो समाजले आफ्नो नरपिशाचताको परिचय दिँदैन ? यस्तो समाजको लागि हाम्रो मनमा के इज्जत हुन सक्छ, के सहानुभूति हुन सक्छ ? भित्रबाटै जघन्य, कुत्सित कर्म ! धिक्कार छ यस्तो समाजलाई !! सर्वनाश होस् यस्तो समाजको !!’

राहुल सांकृत्यायन आफ्नो अनुभव र अध्ययनबाट धर्मको आधारमा बन्धुतामा आधारित मानवीय समाजको रचना गर्न सकिन्न भन्ने निष्कर्षमा पुगिसकेका थिए । चाहे त्यो कुनै पनि धर्म किन नहोस् । उनी तिम्रो धर्मको क्षय’मा लेख्छन्, ‘बितेका दुई हजार वर्षका इतिहास बताइरहेछ कि…, धर्मका सम्प्रदायहरुले एक अर्कामाथि अन्यायका कति पहाडहरु थोपरे… आफ्ना–आफ्ना खुदा र भगवानको नाममा, आफ्ना–आफ्ना किताबहरू र पाखण्डहरुको नाममा मानिसहरुको रगतलाई उनीहरुले (धर्महरुले) पानीभन्दा पनि सस्तो बनाएर देखाइदिए… हिन्दूस्तानको भूमि पनि यस्तो धार्मिक मतान्धताको शिकार रहे… इस्लाम आउनुभन्दा पहले पनि के सम्प्रदायले वेदमन्त्र उच्चारण गर्ने र सुन्नेहरुको मुख र कानमा पगालिएको शिशा र लाहा हालिदिएनन् ?’

धर्म जुन ईश्वरको नाममा टिकेको छ, जसलाई उनीहरु सृष्टिकर्ता र विश्वको सञ्चालक मान्छन्, राहुल त्यस ईश्वरको अस्तित्वलाई नै इन्कार गर्छन् । उनी स्पष्ट रूपमा भन्छन्, ईश्वर अन्धकारको उपज हो । उनी लेख्छन्, ‘जुन समस्या, जुन प्रश्न, जुन प्राकृतिक रहस्यलाई जान्नका लागि मानिस असमर्थ मानिन्थ्यो, त्यसैलाई ईश्वर भनेर कल्पना गरिन्थ्यो ।

वास्तवमा, ईश्वरको कल्पना नै पनि त अन्धकारकै उपज हो । अज्ञानताको अर्को नाम नै ईश्वर हो ।’ उनी यो कुरालाई बारम्बार रेखाङ्कित गर्छन् कि ईश्वर अन्याय र अत्याचारलाई कायम राख्नको लागि शोषक–उत्पीडतहरुको एउटा उपकरण हो । उनी लेख्छन्, ‘अज्ञानता र असमर्थताबाहेक कुनै पनि अरू आधार ईश्वर–विश्वासका लागि छ भने त्यो धनाढ्य वर्ग एवं धूर्तहरुको आफ्नो स्वार्थ–रक्षाको प्रयास हो ।

समाजमा हुने अत्याचारहरु र अन्यायहरुलाई वैध सावित गर्नका लागि उनीहरुले ईश्वरको बहाना खोजेका छन् । धर्मको धोखाधडीलाई चलाउनका लागि र त्यसलाई न्यायपूर्ण सवित गर्नका लागि ईश्वरको कल्पना अत्यन्तै सहायक छ ।’

राहुल सांकृत्यायन हिन्दू धर्म, ईश्वर र मिथकहरुमा टिकेका हिन्दू संस्कृतिको विध्वंशको पनि आह्वान गर्छन् । ‘त्यो रामराज्य कस्तो थियो होला, जसमा कुनै पनि मानिसले भनेकै भरमा मात्र रामले गर्भवती सीतालाई जङ्गलमा छोडिदिए ?’ जुन महान ऋषि–साधुहरुलाई हिन्दू संस्कृति गौरवान्वित गर्छन्, उनको बारेमा राहुल लेख्छन्, ‘जुन ऋषिहरुको स्वर्ग, वेदान्त अनि ब्रह्मका बारेमा ठूला ठूला व्याख्यान र सत्संग गर्ने फुर्सद थियो, जो दान र यक्षमाथि ठूला–ठूला ठेलीहरु लेख्न सक्थे, किनकि त्यसबाट उनीहरु र उनीहरुका सन्तानहरुलाई फाइदा थियो, तर मानिसमाथि पशुहरुलाई जस्तै हुने अत्याचारलाई समूल नष्ट गर्नका लागि उनीहरुले कुनै प्रयत्न गर्ने आवश्यकता नै ठानेनन् । ती ऋषिहरुभन्दा त आजका जमानाका सामान्य मानिसमा पनि मानवताको गुणले बढी सुसज्जित छन् ।’

धर्म र ईश्वरबाट आफ्नो मुक्तिको प्रक्रियाको वर्णन गर्दै उनले आफ्नो कथा ‘मेरो जीवनयात्रा’ मा लेखेका छन्, ‘आर्य समाजको प्रभाव भएको कारण सिद्धान्तमा म द्वैतवादी हो, रामानुजको समर्थक रहे । यही दार्शनिक अलमलमा बौद्ध दर्शनका लागि बढी जिज्ञासा उत्पन्न भयो, रामानुज र शंकरको तर्फबाट, अन्ततः वर्णाश्रम धर्मको श्राद्ध गरेर दार्शनिक खण्डनद्वारा नै बौद्धहरुको विरोध गर्ने गरिन्थ्यो र दर्शानिक सिद्धान्तहरुमा रामानुजीय शंकरलाई प्रच्छन्न बौद्ध भनिन्थ्यो ।

फेरि बौद्ध दर्शन के हो ? यसतर्फ ध्यान जानु जरुरी थियो र पूर्व पक्षको रूपमा उद्धृत केही वाक्यहरुले मेरो तृप्ति हुन सक्दैथियो ।’ तर राहुल कहाँ रोकिनेवाला थिए र ? आफ्नो आगामी जीवनयात्राका बारेमा उनले लेखे, ‘अब मेरो आर्य सामाजिक र जन्मजात विचार छुट्दै गएको थियो । अन्त्यमा यस सृष्टिको कर्ता पनि छ, खालि यसमा मेरो विश्वास बाँकी रहेको थियो । तर अझैसम्म मलाई यो थाहा थिएन कि मलाई बुद्ध र ईश्वरमा एउटालाई छान्ने चुनौती दिइनेछ ।

मैले पहिले ईश्वर र बुद्ध दुवैलाई एकैसाथ लिएर हिँड्ने कोशिस गरेँ तर त्यसमा पाइला पाइलामा आपत्तिको सामना गर्नुपर्यो । दुई तीन महिनाभित्रै मलाई त्यो प्रयत्न बेकार लाग्न थाल्यो । ईश्वर र बुद्ध साथै रहन सक्दैन, यो प्रष्ट भयो र यो पनि प्रष्टसँगै थाहा हुन थाल्यो, ईश्वर काल्पनिक चीज मात्रै हो, बुद्ध यथार्थ वक्ता हुन् । त्यसपछि, कैयौँ हप्तासम्म हृदयमा अर्को एउटा बेचैनी पैदा भयो– लामो समयदेखि चल्दै आएको एउटा भारी अवलम्ब हराउँदै गइरहेको छ भन्ने थाहा हुन्थ्यो ।

तर मैले सधैँ बुद्धलाई आफ्नो पथप्रदर्शक बनाएको थिएँ र केही समयपछि ती काल्पनिक भ्रान्तिहरु र भित्तीहरुको ख्याउ आउँदा मात्रै पनि आफ्नो अबोधनापनमा हाँसो आउन थाल्यो । अब मलाई डार्बिनको विकासको सत्यता थाहा हुन थाल्यो । अब माक्र्सवादको वास्तविकता हृदय र मस्तिष्कमा छेडेर घुस्ने गरेको लाग्न थाल्यो ।’

आखिरमा राहुल सांकृत्यायनले एक धर्मको रूपमा बौद्ध धर्मसित पनि नाता तोडे । उनी बुद्धलाई एक महान मानिस र महान विचारक मानिरहे, तर धर्मको रूपमा बुद्ध धर्मबाट पनि छेउ लागे र पूर्ण रूपमा वैज्ञानिक भौतिकवादलाई अपनाए । ‘जीवनयात्रा’मा उनले लेखेका छन्, ‘कुनै समय थियो जब धर्म प्रचारक बन्ने कुराको म तीव्र अनुरागी थिएँ तर अब अवस्था पूरै बदलिएको थियो ।

बौद्ध धर्मको साथ पनि मेरो कच्चा धागोको मात्रै सम्बन्ध थियो । हो, बुद्धप्रति मेरो श्रद्धा कहिल्यै कम भएन । म उनलाई भारतका सबैभन्दा ठूला विचार मान्दै आएको छु र म के ठान्दछु भने जुन बेला विश्वबाट धर्मको नामोनिसान मेटिनेछ, त्यसबेला पनि मानिसले अत्यन्तै उच्च सम्मानका साथ बुद्धका नाम लिनेछन् ।’

उनी जातिको सोझो सम्बन्ध हिन्दूहरुको ईश्वर र उनीहरुको धर्मसँग जोड्ने गर्थे । किनकि यी दुवै जाति व्यवस्थाको जननी वर्ण व्यवस्थाको समर्थन गर्ने गर्छन् ।

भारतीय धर्मशास्त्र, ऋषिमुनि, महाकाव्य, महानायक र यहासम्म कि ईश्वरको साक्षात अवतार भनिने राम र कृष्ण वर्ण व्यवस्थाको सबैभन्दा ठूला रक्षकका रूपमा देखापर्छन् । राम वर्ण व्यवस्थाको रक्षाका लागि शंबुकलाई मार्छन् र तुलसीको राम यो कुराको हाक्काहाक्की घोषणा गर्छन् कि मानिसहरुमो द्विज मलाई सबैभन्दा प्रिय छन्–
सब मम प्रिय सब मम उपजाए। सब तें अधिक मनुज मोहिं भाए।।
तिन्ह महं द्विज द्विज महं श्रुतिधारी। तिन्ह मह निगम धर्म अनुसारी।

कृष्ण गीतामा भन्छन्, चार वर्णहरुको सिर्जना मैले गरें–
‘चातुर्वर्ण्यं मया सृष्टं’स्
ब्राह्मणोऽस्य मुखामासीद्वाहू राजन्यः कृतः।
ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रो अजायत॥
(ऋग्वेद ज्ञण्।ढण्, यजुर्वेद ३१ वां अध्याय)

जाति गुणलाई हैन, जन्मलाई नै सर्वस्व मान्छ । हिन्दू समाज जातिको शुद्र्र–अतिशुद्रहरु र महिलाहरुका बीचको प्रतिभावानभन्दा पनि प्रतिभावान व्यक्तिहरुलाई कुल्चँदै आएका छन् र मूर्ख–गुणहीन द्विजहरुलाई पनि सम्मान दिँदै आयरहे । हाम्रा ‘महान कवि’ तुलसीदासको पनि आदेश थियो–
पूजहिं विप्र सकल गुणहीना
सूद्र न पूजहिं ग्यान प्रवीना।

यो पूरै व्यवस्थामाथि कडा टिप्पणी गर्दै राहुल लेख्छन्, ‘जुन समाजमा प्रतिभाहरुलाई जिउँदै गाड्न आफ्नो कर्तव्य सम्झिइन्छ र गधाहरुका सामु अङ्गुर छर्नमा जसलाई आनन्द आउँछ, के यस्तो समाजको अस्तित्वलाई हामीले क्षणभर मात्रै पनि सहनु हुन्छ ?’ त्यो तिम्रो जातपातको क्षयमा सफा शब्दहरुमा घोषणा गर्छ कि ‘निश्चय पनि जातपातको क्षय गर्नाले हाम्रो देशको भविष्य उज्ज्वल हुन सक्छ ।’

राहुल सांकृत्यायन हिन्दू संस्कृतिको मनुष्यविरोधी मूल्यहरुमाथि निर्णायक हमला त गर्छन् नै, उनी मानिसहरुलाई धर्मको कुनै आवश्यकता नै छैन भन्ने पनि मान्छन्, मानिस वैज्ञानिक विचारहरुका आधारमा अति सुन्दर समाजको निर्माण गर्न सक्छन्, एउटा सुखी र सुन्दर जीवन बाँच्न सक्छन् ।

सबैभन्दा ठूलो कुरा यो हो कि उनी उत्पादन–सम्पत्तिका सम्बन्धहरूमा क्रान्तिकारी परिवर्तनका हिमायती छन् किनकि मार्क्सको के कुरामा उनी पूर्ण रूपमा सहमत छन् भने भौतिक आधारहरुमा क्रान्तिकारी परिवर्तन नगरी राजनीतिक, सामाजिक–सांस्कृतिक सम्बन्धहरुमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिँदैन र जुन परिवर्तन ल्याइन्छ, त्यसलाई टिकाइराख्न मुस्किल हुन्छ । जातिको सम्बन्धमा पनि उनको यही धारणा थियो ।

उनी वामपन्थीमा त्यस यान्त्रिक र जडसूत्रवादी सोचको विरोधी थिए । आधारमा हुने परिवर्तनले मात्रै जातिव्यवस्था आफै टुटेर जानेछ भन्थे । हिन्दी क्षेत्रका उनी एक मात्र वामपन्थी थिए, जो ब्राह्मणवादी हिन्दू धर्म–संस्कृतिमा कडा चोट गर्थे । भारतमा सामन्तवादको विशिष्ट संरचना जातिलाई मान्थे र आधार अनि अधिरचना (जाति) दुवैका विरुद्ध एकसाथ निर्णायक सङ्घर्षका हिमायती थिए ।

यो मान्यतालाई कायम गर्न ब्राह्मणविरोधी बौद्धधर्मको उनको गहन अध्ययनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उनका तीन किताबहरु ‘बौद्ध दर्शन’, ‘दर्शन–दिग्दर्शन’ र ‘वैज्ञानिक भौतिकवाद’ यस दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छन् ।