द्रूतमार्गमा काटिएका रुखको बदलामा ६ लाख बिरुवा रोपिने

असोज ४, काठमाडौं। नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रूतमार्ग सडक आयोजना निर्माणका क्रममा काटिएका रुखका बदलामा बाराको कोल्हवी नगरपालिकामा शनिवार बृहत् वृक्षरोपण गरेको छ ।

संविधान दिवसको अवसरमा स्थानीय शान्ति टोलमा आयोजित कार्यक्रममा टिक, सिमल, शिरिष तथा जामुन जातका बिरुवा पाँच हेक्टरमा रोपिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

वृक्षरोपणमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायका जनप्रतिनिधि, नेपाली सेनाका जवान, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरुको सहभागिता थियो ।

उक्त स्थानमा उम्रिएका साललगायतका बिरुवा र नयाँ रोपिएका बिरुवालाई तारबार गरी संरक्षण गर्ने कार्यसमेत भएको सेनाले बताएको छ ।

वन तथा भू–संरक्षण विभाग र द्रूतमार्ग आयोजनाबीचको समझदारीअनुरुप द्रूतमार्ग निर्माणका क्रममा हालसम्म हटाइएका १७ हजार ९५४ र पछि कटान गर्नुपर्ने रुखको सट्टामा ६ लाखको संख्यामा बिरुवा रोपिनेछ ।

वैशाखदेखि बाराको निजगढ तथा मकवानपुरको राजदमार इलाकामा आफ्नै नर्सरी स्थापना गरी जमीन सुहाउँदो र छिटो हुर्कने प्रजातिका १ लाख ५० हजार बिरुवा उत्पादन गरिसकेको छ ।

निजगढ र कोल्हवी नगरपालिकामा रहेका सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको पहिचान गरिएको १८८ हेक्टर खाली जग्गाको सर्भेगरि वृक्षरोपण गरिने पनि नेपाली सेनाले बताएको छ ।