देउवालाई ओलीको प्रश्नः बैंशमै बृद्धभत्ता खाने हो ?

प्रधानमन्त्री मानिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कामचलाउ सरकारले देशलाई कंगाल बनाउन खोजेको आरोप लगाएका छन् ।

एमालेले बिहीबार पत्रकार सम्मेलन गरेर सरकारका पछिल्लो निर्णयहरुको आलोचना गरेको छ । साथै उसले संविधान, कानुन र राष्ट्र हित विपरितका निर्णयहरु नयाँ सरकारले अस्वीकार गर्ने समेत बताएको छ ।

देउवा सरकार संविधानको गलत ब्याख्या टिकेको भन्दै एमाले अध्यक्ष ओलीले जाने बेलामा जथाभावी निर्णय गरेर देश र अर्थतन्त्रलाई नै संकटमा पार्न खोजेको बताए ।

सरकारले बजेट ल्याएको हो कि नीति तथा कार्यक्रम ल्याएको हो भन्दै ओलीले भने, ‘कि पैसा राख्ने ठाउँ नभएर हल्का गरौं भनेर वितरण गरेको हो ?’

नयाँ कर्मचारी भर्ना गर्नु पर्ने बेलामा ६० अर्ब खर्च गरेर भएका कर्मचारीको स्वच्छिक अवकास दिन खोजिएको भन्दै उनले यसको पनि विरोध गरे ।

६५ बर्षमा नै बृद्धभत्ता दिने सरकारको निर्णयको विरोध गर्दै ओलीले भने, ‘अर्कोले ६० वर्षमा झार्ने, अर्कोले ५० वर्षमा झार्ने । अनि बैंशमै बृद्धभत्ता खाने हो ?’

अध्यक्ष ओलीले वीरगञ्जमा नेपाली सीमा मिचिएको विषयमा यकीन जानकारी आफूलाई नआएकाले केही भन्न नसक्ने बताए । त्यहाँ एमालेको टोली गएको र त्यसले रिपोर्ट दिएपछि मात्र केही भन्न सकिने उनले बताए ।

नेपालको सिमानाहरु सुरक्षित हुनुपर्ने भन्दै ओलीले मिचिएको भए मान्य नहुने बताए । ‘हाम्रो सिमाना र हितहरु सुरक्षित हुनुपर्छ । यो सरकारलाई त सिमाना र हितको के ख्याल होला र’ उनले भने ‘सिमाना मिचिएको भए मिचिएको भए सच्याइनुपर्छ । मिचिएको मान्य हुँदैन ।’