दाङ पश्चिम नेपालको प्रमुख आर्थिक केन्द्र बन्छ

नारायण भुसाल
अध्यक्ष, दाङ जिल्ला उद्योग वाणिज्य संघ

 

दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण भुसालले आफ्नो कार्यकाल शुरु हुनेबित्तिकै व्यवसायीको पक्षमा केही सुधारका काम शुरु गरेका छन् ।

दाङलाई पश्चिम नेपालको प्रमुख आर्थिक केन्द्रविन्दु बनाउन निजी क्षेत्रको तर्फबाट आफूले पहल गर्ने उनी बताउँछन् । दाङ उवासंघको योजना, व्यवसायीका समस्या, दाङमा लगानीको सम्भावनालगायतका विषयमा केन्द्रित भएर चेतना अनलाइनका सम्पादक पाण्डव शर्माले गरेको कुराकानी ।

 

दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । तपाईसँग के छन् योजना ?

म सबैभन्दा पहिले हामीलाई विश्वास गरेर मतदान गर्नुहुने आम मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यहाँहरुको सहयोग र समर्थनले हामी अघि बढ्नेछौं ।

हामीले निर्वाचित भए लगत्तै घोराही क्षेत्रमा देखिएको घुमन्ते व्यवसाय नियन्त्रण गर्ने पहल शुरु गरिसकेका छौं । अवैधानिक रुपमा चलिरहेको घुमन्ते व्यवसाय हामीले बन्द गर्नेछौं । यसका लागि उपाध्यक्ष टंकसिंह बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका छौं ।

त्यसैगरी व्यवसायीहरुलाई दर्ता, नवीकरण गर्न सहज होस् भनेर भदौ २३, २४ र २५ गते उद्योग वाणिज्य संघको परिसरबाटै प्यान उपलब्ध गराउने तयारीमा छौं ।
घोराहीलाई सफा र सुन्दर शहर बनाउन उवासंघको तर्फबाट पहल गरिनेछ । जिल्लामा बाह्य लगानी बढाउन लगानीमैत्री वातावरणका लागि पहल गर्ने छौं । व्यवसायीहरुको भौतिक सुरक्षाका लागि सुरक्षा निकायसँग उचित समन्वय गर्ने छौं ।

व्यावसायिक सुरक्षाका लागि सम्बन्धित निकायसँग उचित पहल गरिने छ । केही समय भित्र विभिन्न भञ्सार कार्यालयहरुमा पुगेर त्यहाँबाट हुन सक्ने अवैध सामान ओसारपसार रोक्न पहल गर्ने छौं ।

बजार व्यवस्थापनका लागि घोराही उपमहानगरपालिकासँग उचित समन्वय गरिने छ । फुटपाट रोकेर एकीकृत बजार व्यवस्थापन गरिने छ । हप्ताको एक दिन हाट बजार लगाइने छ ।

 

पुराना ठूला योजनाहरु पूरा गर्न के गर्नुहुन्छ ?

म विगतका कार्यसमितिहरुमा विभिन्न पदमा काम गर्दै आएको छु । विगतका कार्यसमितिले अघि बढाएका योजनाहरुको वारेमा म राम्रोसँग विज्ञ छु । ती योजनाहरुलाई हामीले निरन्तरता दिने छौं ।

सभागृह निर्माणको कामलाई सम्पन्न गर्ने हाम्रो प्रमुख दायित्व रहनेछ । औद्योगिक क्षेत्र स्थापना गर्ने हाम्रो सबैभन्दा ठूलो योजना हो । जिल्लामा औद्योगिक क्षेत्र बनेको खण्डमा लगानीको वातावरण तयार हुन्छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आउन सक्छन् । हामीले राजश्वसम्बन्धी सचेतनामूलक कार्यक्रम अघि बढाउने छौं । त्यसैगरी लेखा व्यवस्थापनसम्बन्धी व्यवसायीहरुलाई सचेत बनाइने छ ।

 

तपाई निर्वाचन प्रक्रियाबाट आउनुभएको छ । निर्वाचनमा पराजित पक्षलाई कसरी समेट्नुहुन्छ ?

लोकतन्त्रमा निर्वाचन स्वभाविक प्रक्रिया हो । निर्वाचन भइसकेपछि हार जित पनि स्वभाविक प्रक्रिया हो । अर्को कुरा, हामी निर्वाचनको दिनसम्म फरक–फरक प्यानलमा थियौं ।

विजय भइसकेपछि हामी एउटै प्यानल हो । हामी अहिले साझा भइसकेका छौं । यहाँको व्यावसायिक क्षेत्रको विकासका लागि सबै पक्षको सहयोग आवश्यक छ । हामी सबै पक्षलाई मिलाएर अघि बढ्छौं ।

अर्को कुरा यसपटक विगतमा जस्तै निर्वाचनमा राजनीतिक हस्तक्षप पनि भएन । विगतका निर्वाचनमा राजनीतिक दलहरुले नै कुनै प्यानलको पक्ष र विपक्षमा विज्ञप्ती निकाल्ने गर्दथे । तर, यसपटक त्यो हदसम्म पुगेन । व्यवसायीहरुले सक्षम साथीहरुलाई नेतृत्वमा पु¥याएका छन् । हामी सबै एक भएर काम गर्ने छौं ।

 

दाङका व्यवसायीहरुको समस्या के छन् ?

कुनै पनि क्षेत्र समस्या मुक्त हुन सक्दैन । व्यवसायीहरुबीच थुप्रै समस्या छन् । ती समस्या समाधानका लागि उद्योग वाणिज्य संघले पहल गर्ने छ ।

मुलुकभरका व्यवसायीहरुका साझा समस्या नै हाम्रो समस्या हो । त्यस्तै, दाङमा केही विशिष्ट प्रकारका समस्याहरु छन् । घरभाडा सम्बन्धी विवाद यहाँको प्रमुख समस्या हो । व्यवसायी र घरधनीबीच उचित समन्वय नहुँदा समस्या भइरहेको छ । निश्चित भाडादर बनाइनुपर्छ ।
लो भोल्टेज पनि दाङका व्यवसायीहरुको प्रमुख समस्या हो । दाङमा अहिले पनि उद्यमीभन्दा व्यापारीहरु धेरै हुनुहुन्छ । यहाँका व्यवसायीहरुलाई उद्यमी बनाउन सरकारले विशेष योजना ल्याउन जरुरी छ ।

राजश्वसम्बन्धी व्यवसायीहरुलाई जानकारी छैन । सरकारले पनि राजश्व विषयमा स्पष्ट नीति बनाउन सकेको छैन । राजश्वको सिलिङ विवाद पनि एउटा प्रमुख समस्या हो ।

 

तपाईहरु विगतदेखि नै दाङमा लगानीको वातावरण तयार भइरहेको छ भन्नुहुन्छ । दाङमा लगानीका क्षेत्रहरु के के हुन् ?

दाङ भौगोलिक र हावापानीका दृष्टिकोणले लगानीका लागि निकै उपर्युक्त जिल्ला हो । दाङ औद्योगिक तथा कृषि लगानीका लागि राम्रो सम्भावना बोकेको जिल्ला हो । दाङमा कृषि उद्योग नै लगानीको प्रमुख क्षेत्र हो ।

प्रशस्त खेतीयोग्य जमिन भएकाले दाङ कृषि उत्पादन राम्रो गर्न सकिन्छ । माछापालन, पशुपालन, बाख्रा, बंगुर तथा गाइपालन गर्न सकिन्छ । यहाँ साना तथा ठूला जडिबुटी उद्योगहरु पनि सञ्चालन गर्न सकिन्छ ।
दाङ पर्यटकीय क्षेत्र पनि हो । यहाँका तालतलैया, मन्दिर, गुफा तथा वनजंगल पर्यटकीय गन्तव्य बन्न सक्छन् । साथै छिमेकी जिल्ला प्युठानमा रहेको स्वर्गद्वारी जानको लागि दाङ भएरै जानुपर्दछ ।

यसको फाइदा दाङको होटल व्यवसायले लिन सक्छ । दाङमा होटल व्यवसायको सम्भावना पनि राम्रो छ । दाङमा पछिल्लो समय ठूला लगानीका होटलहरु खुल्न थालेका छन् । अझैं दर्जनौं ठूला होटलहरु खुल्न सक्छन् । समथर भूभाग र राम्रो हावापानी भएकाले दाङमा ठूला प्रकृतिका उद्योगहरु पनि स्थापना गर्न सकिन्छ ।

पूर्वी नेपालको तुलनामा पश्चिम नेपालमा उद्योगधन्दाहरु धेरै खुल्न सकेका छैनन् । तर, पश्चिम नेपालमा बजारको सम्भावना राम्रो छ । दाङ पश्चिम नेपालकै केन्द्रविन्दु भएकाले सबैखाले उद्योग धन्दा खोल्न सकिन्छ ।

 

अहिले ठूला लगानीकर्ताहरु दाङमा आइरहेका छन् । लगानीकर्ताहरुको रोजाइ दाङ किन भएको होला ?

मैले यस अघि नै प्रष्ट पारिसकेको छु । दाङ पश्चिम नेपालको लगानीको प्रमुख क्षेत्र हो । यहाँ लगानीका धेरै सम्भावनाहरु पनि छन् । यहाँको भौगोलिक अवस्था र हावापानी नै लगानीको प्रमुख आधार हो ।

दाङ दक्षिण एशियाकै ठूलो उपत्यका हो । यहाँको हावापानी निकै राम्रो छ । कच्चा पदार्थहरु पनि पर्याप्त मात्रामा छ । सिमेन्ट उद्योगको लागि चुनढुंगा, कोइलाको खानी प्रशस्तै छ । दाङ भारतीय सिमासँग पनि जोडिएको छ । उद्योगधन्दाको बजारीकरणका लागि दाङमा कुनै समस्या छैन ।

दाङको आर्थिक तथा समग्र विकासका लागि के गर्नुपर्ला ?

तराई तथा भित्री मधेशका अन्य जिल्लाको तुलनामा दाङ विकासमा अलि पछि परेको छ । अब यहाँको विकासका लागि सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बेला आएको छ ।

यहाँको समग्र आर्थिक विकासका लागि सबैभन्दा बढी पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । पूर्वाधार निर्माणबिना मुलुकको आर्थिक विकास हुन सक्दैन । सबैभन्दा पहिले सडक सञ्जाल निर्माणलाई तीव्रता दिनुपर्छ ।
हुन त पछिल्लो समय दाङमा सडक सञ्जाल निर्माण भइरहेका छन् । सहिदमार्गलाई पूर्णता दिनुपर्छ । दाङ–सुर्खेत सडक, लमही–कोइलाबास सडक, घोराही–मुर्कुटी–प्यूठानलगायतका ठूला सडक परियोजनाहरु समयमै सम्पन्न गरिनुपर्छ ।

यसले गर्दा दाङलाई छिमेकी मुलुक भारत र पश्चिम नेपालका विभिन्न जिल्लाहरुसँग प्रत्यक्ष जोड्छ । यहाँको उत्पादनलाई ती ठाउँमा लैजान र त्यहाँ उत्पादित अत्यावश्यकीय वस्तुलाई यहाँ ल्याउन सजिलो पर्नेछ ।

तुलसीपुर विमानस्थलमा नियमित उडान गर्न सकियो भने पनि यहाँको पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुग्नेछ । साथै हवाइसेवा व्यापारिक प्रयोजनका लागि पनि प्रयोग हुन सक्छ । पछिल्ला वर्षहरुमा दाङमा विभिन्न प्रकृतिका उद्योगहरु पनि खुलिरहेका छन् ।

धाराको टुटी उद्योग, बिस्कुट उद्योग, ग्यास प्लान्टलगायतका उद्योगहरु खुलिरहेका छन् । आगामी दिनमा यस्ता प्रकृतिका थुप्रै उद्योगहरु खुल्न सक्छन् ।

र, अन्त्यमा केही भन्नु छ कि ?
म अन्त्यमा हामीलाई मतदान गर्नुहुने सबै मतदाताहरुलाई धन्यवाद दिन चाहन्छु । त्यसैगरी मेरो विचार राख्ने मौका दिनुभएकोमा नौलो जनउभार परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।