तुलसीपुर उवासंघले भन्यो–घोराहीमा हेलिकप्टरले फन्को लगाएको घटनामा हाम्रो कुनै संलग्नता छैन

चेतना अनलाइन

घोराही, १६ माघ । तुलसीपुर उद्योग वाणिज्य संघले बुधवार घोराहीमा जारी महोत्सव स्थलमा हेलिकप्टरले निकै तलबाट फन्को मारेर धुलो उडाएको घटनामा आँफूहरुको कुनै संलग्नता नभएको स्पष्ट पारेको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत ‘विरु’ ले हिजोको घटनामा उवासंघको कुनै पनि संलग्नता नभएको स्पष्ट पार्नुभएको हो । उहाँले यसमा सम्बन्धित एयरलाइन्स अथवा त्यहाँ सवार यात्रुहरुले घोराही महोत्सव अवलोकन गर्ने उद्देश्यले त्यहाँ फन्को मारेको हुन सक्ने बताउनुभयो ।

‘एयरलाइन्सले आफ्नो ग्राहक बढाउन प्रचारका लागि नजिकै गएको हुन सक्छ, तर महोत्सवलाई असफल बनाउने उद्देश्य भए जस्तो लाग्दैन ।’
तुलसीपुर र घोराहीमा जारी दुबै महोत्सव दाङबासीकै हितमा भएको उल्लेख गर्दै रावतले दुबै महोत्सवलाई सफल बनाउनु आँफूहरुको दायित्व भएको बताउनुभयो ।

‘हामी व्यवसायीक एकता चाहन्छौं, दाङलाई पूर्ण रुपमा एकढिक्का बनाउन चाहन्छौं,’ रावतले भन्नुभयो, ‘घोराहीमा जारी महोत्सवलाई तुलसीपुर उद्योग वाणिज्य संघले असहयोग गर्ने भन्ने कुरै हुँदैन ।’ उहाँले घोराहीमा जारी महोत्सव सफलताको समेत कामना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: January 30, 2020