तत्कालिन माओवादीले ‘मृत्युदण्ड’ दिनुअघि परिवारलाई लेखेको मर्मस्पर्शी पत्र

नागरिक न्युज

रोल्पा– २०५८ साल फागुन २६ गतेदेखि १८ दिन अपहरणमा परेका प्रावि हरिगातिनाका २४ बर्षीय शिक्षक तिलकराम नेपालीलाई तत्कालिन विद्रोही माओवादीले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे।

रोल्पा नगरपालिका धनमुढाका नेपालीले आफ्नो परिवारलाई चिठ्ठी लेख्ने माग राखे। केही समयमा आफू मारिने जानकारी पाएका उनले २०५८ साल चैत १२ गते राती ९ बजे परिवारलाई ८ पेज लामो पत्र लेखे, ‘जन्म दिने बुवाआमा एक एक वटा साइनो भएका मुटुको टुक्रा जस्तो भाई श्रवण, बहिनी दुर्गा, श्रीमती मिना र छोरा जयन्द्रमा मेरो साइनो अनुसार दण्डवत प्रणाम र आर्शिवाद छ।’

‘बुवा आमा, भाई बहिनी, श्रीमती र छोरा सबैले सुन यो मेरो अन्तिम चिठ्ठी हो। यसमा मैले धेरै लेखेको छैन्। समयको घडी यस्तै रहेछ।

यो पत्र लेख्दाको समयसम्म म जिवित नै छुँ।’ पीडाले भरिएको चिठ्ठीमा उनले अगाडि लेखेका छन्, ‘सोधपुछ र छानविन अझै पनि होला जस्तो लागेको थियो। तर दुईपटक मात्र सोधिएर मलाई मार्ने निर्णय गरियो। म अब घर कहिल्यै आउन नपाउने भएँ।’

२०५८ साल चैत १३ गते राती सदरमुकाम छेउमा मारिनुअघि लेखिएको पत्र शवको माथि राखिएको थियो। अन्तिम पत्रमा उनले परिवारभित्रको बेमेल नबढाई मिलेर बस्न पटक पटक अनुरोध गरेका छन्। ‘तिमीहरु आ–आफ्नो ब्यक्तिगत पाराले नचल्नु।

आफ्नो र परिवारको इज्जतको ख्याल गर्नु। साझ बिहान आटो ढिडो वा गरिबीको खाना खाएर भएपनि आफ्नो इज्जत र जीबन ठूलो मान्नु। स–साना कुरामा बिबाद नगर्नु।’

राजनीतिको गन्ध कतै नघुसाइएको अन्तिम पत्रमा नेपालीले लेखेका छन्, ‘परिवारले मन पराएकी केटी बिहे गरेको हुँ। अर्काकी छोरी मिनालाई पराई र दुष्टका रुपमा नहेर्नु।

चार पाँच कक्षा पढेकी लाटी, सोझी र दुःखी मेरी जीवनसाथी, सिन्दुर हालेकी श्रीमती मेरो इज्जत सम्झेर मिलेर बस्नु।’ एकाघरका परिवार बाहेक फूपू र अन्य इष्टमित्रलाई समेत सम्झेर लेखिएको पत्रमा तिलकले गरिबीको पीडा समेत पोखेका छन्।

‘प्रिय मिना तिम्रो काखमा मेरो रगतको अस्तित्व छोरो जयन्द्र छ। वैशाखमा कोखको अर्को बच्चा पनि जन्मिन्छ होला। छोरा वा छोरी जे जन्मिए पनि राम्रो स्याहार सुसार गरी बचाएर राख्नू।

दुःख भयो भनि हिम्मत नहार्नू।’ उनले श्रीमतीलाई सम्झाएका छन्, ‘म बाहेक अरु २/३ वटा घरवार नगर्नू। लोभ लालचमा फसेर बदनाम नहुनू। तिमीले पनि दुःख पाउन सक्छौं।’

गरिबीका कारण आफूले सोचे अनुसार पढ्न नपाउनुको पीडा लेखेका तिलकले छोराले धेरै पढोस भन्ने अपेक्षामा रहेको लेखेका थिए। ‘बाख्रा, कुखुरा, दुध बेचेर भए पनि मेरो छोराछोरीलाई पढाउनू। जयन्द्र दुःख गरेर भुस पराल, बाख्रा, कुखुरा बेचेर भए पनि धेरै पढेस।’

पैसा नहुँदा नियमित क्याम्पस पढ्न नपाएको र आर्थिक जोहोका लागि विद्यालय पढाउने क्रममा मारिनु परेको पीडालाई तिलकले पत्रमा कोरेका छन्। ‘सानो जागिर खाएर भए पनि परिवारमा खुसी बाड्ने रहर थियो, तर त्यो सबै म संगै सकिने भयो।’

चिठ्ठीमा लिने दिने हिसाब सबै लेखेका उनले माइती मावली सबैलाई सम्झेका छन्। अन्तिममा उनी लेख्छन्, ‘मेरो कारणले लागेको ऋण तिर्न नसकेमा छोरा जयन्द्रले ठूलो भएपछि कमाएर तिर्ने छ। उसलाई १ देखि ५ कक्षासम्म बोर्डिङ्ग पढाउनु र पछि हाईस्कुलमा राम्ररी पढ्ने बाताबरण मिलाउनू।’

‘परिपुरण र न्याय’ दुबै कुरामा राज्य मौन बस्न थालेपछि माओवादी द्वन्द्वका पीडितहरु निराश बनेका छन्। बुवाको अनुहारको याद नआउने जयन्द्र र उनकी बहिनी ममता यतिबेला पढाईका लागि संघर्ष गर्दै छन्।

घर परिवार र ठुला हृदयका केहीको सहयोगमा प्लस टु सम्म पढेका जयन्द्र डाक्टर पढ्ने धुनमा छन्। उनी भन्छन्, ‘पोहर इन्ट्रान्स दिएको थिएँ। छात्रवृत्तिमा नाम निस्केन। एक बर्ष ग्याप भयो। जसरी भए पनि एमबिबिएस पढ्ने सोचमा छुँ।’

हजुरबुवा, अंकलको सहयोगमा विज्ञान संकायबाट प्लस टु पास गरेका उनी समस्या पर्दा बाबाले लेखेको पत्र पढ्छन अनि बुवा जिवित नै भएको भए पढ्न संघर्ष गर्नु नपर्दो होला भनेर कल्पनामा डुब्छन्।

कक्षा १० मा पढ्ने बहिनी पनि अब पढाईको लालसा बोक्ने बेला भएको बुझेका जयन्द्र पछिल्लो समय चिन्तित छन्। ‘कसैले सहयोग गर्ला भन्ने अपेक्षा छैन्। छात्रवृत्ति मै पढे पनि करिब १५ लाख खर्च हुन्छ। हेरौ के हुन्छ’, जयन्द्र भन्छन्, ‘मेरो त अझै परिवारको सर्पोट छ र त अबस्था यस्तो छ। अरुको झनै बिजोग छ।’

पत्र १
पत्र २
पत्र ३
पत्र ४
पत्र ५
पत्र ६
पत्र ७
पत्र ८