डा. जनार्दन पन्थीको – शुभयात्रा

डा.जनार्दन पन्थी

निरन्तरता नै गतिको सर्वमान्य गुण हो। गतिको यो सर्वमान्य गुण बुझ्न मिहेनत गर्नैपर्ने हुन्छ। कुनै पनि प्रकारको गतिको नियम तब मात्र बुझ्न सकिन्छ जब त्यो गतिको एक–एक तत्वहरु सूक्ष्म रुपमा अध्ययन गरिन्छ। आफूखुशी यो निरन्तर गतिलाई अबरुद्ध अवस्थामा पु¥याउँदा ठूला–ठूला समस्या र घटना जन्मेका हामी देख्छौं। यसको सानो उदाहरण हो कछुवा र खरायोे दौड प्रतियोगिता।

खरायो र कछुवा मिलेर बसेका थिए। तर पनि खरायोले कछुवालाई सधैं होच्याउने व्यवहार गर्दथ्यो। खरायो र कछुवाले निश्चित दूरी कसले पहिलापार गर्नेबारे बाजी राख्छन्। खरायो आफू छिटो दगुर्न सक्ने र आफू विजयी हुने कुरामा दृढ थियो। खरायो र कछुवा दौडमा सहभागी भए। खरायो घमण्डका साथ अगाडि–अगाडि दौडियो र बीच बाटोमा आराम गर्दा निदायो। तर कछुवाले आफ्नै गतिमा उक्त निश्चित दूरी खरायोले भन्दा पहिले पार ग¥यो। विजयी भयो। जब खरायो निद्राबाट व्यूँझियो तब उसको घमण्ड चकनाचुर भयो। खरायोले गतिको निरन्तरतामा सुतेर अबरुद्ध ग¥यो। यही नै उसको गल्ती थियो।

मान्छेहरुका इच्छाबाट जन्मने गति सदैव निरन्तररुपमा हिडिरहेको हुन्छ। यही गतिले ऐतिहासिक गतिलाई भेट्टाउन पुग्छ। यही निरन्तर गतिका नियमहरु बुझ्नु नै इतिहासको मुख्य लक्ष्य हो। गतिका यी नियमहरुलाई स्वतन्त्ररुपले निष्कर्षमा पु¥याउनुको साटो हाम्रो बुद्धिले आफूखुशी ऐतिहासिक घटनालाई अलग्ग्याएर त्यसको वास्तविकता र सत्यतालाई बंगाएर अर्कै गति दिन्छौं। ऐतिहासिक गतिशीलताको आधार खोजी गर्दा हामी त्यसको वास्तविकता र धरातलीय यथार्थलाई बिर्सन्छौं। हामीले व्यवहारिक नियम नै त्यस्तै बसालेका छौं। हामी असत्यता तर्फ बढी विश्वस्त हुन पुग्छौं। अनगिन्ती इच्छाबाट जन्मने मानव सभ्यताको गतिशीलता यसैगरी निरन्तर रुपमा चलिहेको छ। पूर्ण सत्यता पछाडि परेको छ भने अर्धसत्यता अगाडि बढेको छ। सत्यको हार कहिल्यै पनि हुँदैन भन्ने कुरोलाई हामीले जानेर पनि नजानेको नाटक गर्दछौं। यही नाटकमा हामी रनभुल्ल हुन पुग्छौं।

गतिको यो निरन्तरताको गुण स्वतन्त्र रुपले बुझ्नु नै हाम्रो उद्देश्य हुनुपर्ने हो। अनगिन्ती मानिसहरुको आफूखुशी अलग–अलग इतिहासले पाठकहरुलाई दिग्भ्रमित पार्दछन्। इतिहासकारहरु आलोचना र विवेचनाबाट इतिहासको निष्कर्षमा पुग्नु नै समाज र राष्ट्रको भलाई हुनु हो। स्वतन्त्र र इमानदारिताका साथ यस्तो भइरहेको देखिदैन। इतिहासकार जतिसुकै विद्वान होउन, जबसम्म उनीहरुले सत्य र तथ्यलाई बङ्ग्याएर अलग–अलगरुपमा लेख्छन्। आधारबिनाको त्यो ऐतिहासिक लेखको अर्थात त्यो इतिहासको कुनै मूल्य हुँदैन। धेरैजसो इतिहासकारहरुले बुझेको एउटैमात्र अवधारणा हो– सत्ता।

रेल केले चलाउँछ ? भगवानले ? चक्काले ? यो प्रश्नको जवाफ फरक–फरक आउनसक्छ। सबैलाई आ–आफ्नो तर्क सही लाग्छ। जब उनीहरु स्वतन्त्र रुपमा आपसमा स्वस्छ संवाद गर्दछन्, अनि मात्र थाहा हुन्छ कि रेल ऊर्जाबाट चल्छ। भगवानले रेल चलाउँदैनन्। चक्काले मात्र रेल चल्दैन भन्ने कुरो प्रष्ट हुन्छ। इतिहासको सही गतिसम्म पुग्न यही स्वस्छ संवादको जरुरी छ।

भौतिकशास्त्रको नियमअनुसार यदि कुनै वस्तुले आफ्नो चारैतिरका वस्तुहरुको अपेक्षा आफ्नो स्थिति बदल्छ भने त्यसलाई गति भनिन्छ। माथि नै भनिएको छ कि गतिको लागि ऊर्जा आवश्यक हुन्छ। गतिका आफ्नै नियम र प्रकार छन्। न्यूटनका अनुसार गतिका तीन नियमहरु हुन्छन्। उनको पहिलो नियम अनुुसार ‘कुनै वस्तुमा बाहिरी वल नलगाएसम्म उक्त वस्तु स्थिर अवस्थामा छ भने स्थिर नै रहिरहन्छ र चाल अवस्थामा छ भने चाल अवस्थामा नै आफ्नो गतिमा अगाडि बढिरहन्छ। दोस्रो नियमअनुसार ‘कुनै पनि वस्तुमा समग्र वल त्यो वस्तुको पिण्ड र प्रबेगको गुणसँग बराबर हुन्छ। तेस्रो नियमअनुसार ‘हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ।

त्यसैगरी गतिका विभिन्न प्रकार हुन्छन्। जस्तै बृतीय, दोलक, आवर्त, धुर्णन आदि आदि। कुनै पनि वस्तुको वेग परिवर्तनको दरलाई प्रवेग भनिन्छ। वेग धनात्मक हुन्छ भने प्रवेग धनात्मक वा ऋणात्मक हुन्छ । ऋणात्मक प्रवेगलाई गतिह्रास मानिन्छ। दूरी भन्नाले कुनै पनि वस्तुको यात्राको शुरुको बिन्दु र अन्तिमको बिन्दु बिचको लम्बाइलाई जनाउँछ। स्थानान्तर भन्नाले वस्तुको यात्राको शुरुको बिन्दु र अन्त्य बिन्दुबीचको सबै भन्दा छोटो दूरीलाई जनाउँछ। अर्थात कुनै व्यक्ति आफ्नो घरबाट आफ्नो कार्यालय घुमाउरो बाटो हँुदै जान्छ भने उसले वास्तवमा हिडेर पार गरेको दूरीलाई स्थानान्तरण भन्न मिल्दैन। उक्त व्यक्तिको घर र कार्यालयबीचको सिधा दूरी मात्र स्थान्तरण भनिन्छ।

व्यक्ति, परिवार वा समाजका अन्य श्रेणीका वर्गहरु अर्को वर्गमा जाने गतिलाई सामाजिक गतिशीलता भनिन्छ। परिणामस्वरुप समाजमा उक्त व्यक्तिको सामाजिक स्थितिमा परिवर्तन आउँछ। समाजशास्त्रीय मान्यताअनुसार यस गतिशीलताको तात्पर्य एक सामाजिक अवस्थाबाट अर्को स्तरीय सामाजिक व्यवस्था प्राप्त गर्नु हो। प्रतिष्ठा प्राप्तिको गति हो। यहि प्रतिष्ठा प्राप्तिको लडाइँ, विगतदेखि वर्तमानसम्म हरेक तह र तप्काका मानिसहरुका बीच निरन्तर गतिमा छ। गतिका नियमहरुलाई अध्ययन गर्दै जाँदा के निष्कर्षमा पुगिन्छ भने ऊर्जा बिना कुनै पनि बस्तुको गति सम्भव छैन। गतिबिनाको त्यो वस्तु यथास्थितिमै रहिरहन्छ। गतिको यो नियम हरेक क्षेत्रमा व्यवहारिक देखिन्छ।

कतै जान लागिरहेको बटुवाका लागि ऊ पुग्ने स्थान उसको गन्तव्य हो। गन्तव्यको उद्देश्यले शरीरमा ऊर्जा प्रदान गर्दछ र हिड्ने शक्तिमा जोश ल्याउ‘छ। गन्तव्य स्थानमा पुगेपछि आनन्द लिने मात्र होइन। कुन उद्देश्य बोकेर त्यहाँ पुगिएको थियो त्यसको उचित व्यवस्थापनको कार्ययोजना पनि उत्तिकै जरुरी हुन्छ। हिउँको थुप्रोलाई क्षणभरमा पगाल्न सकिदैन। त्यसका लागि एउटा निश्चित वायुमण्डलीय चाप र तापक्रम चाहिन्छ। त्यो वायुमण्डलीय चाप र तापक्रमको संयोग नमिल्दासम्म जतिसुकै धेरै तापक्रम बढाए पनि त्यो हिउँ पग्लदैन। बरु एकाएक जति धेरै तापक्रम बढायो त्यति नै त्योेहिउँ ठोस बन्छ।

पृथ्वीनारायण शाहदेखि वर्तमानसम्मको राजनीतिक र सामाजिक गतिको लामो कालखण्ड हामीले पार गरिसकेका छौं। ती कालखण्डहरुमा राष्ट्रियता, हिंसा, निरंकुशता, सामन्तवाद आदिआदि देखि प्रजातन्त्र पनि भेटाउन सकिन्छ। गतिका सबै नियम र प्रकारहरु हामीले अनुभव गरिसक्यौं। यत्तिकैमा हाम्रो गतिले बिश्राम लिएन। हामी अझ सुखी र उन्नत भविष्यको यात्रामा छौं। सुखी र उन्नत भविष्यको हाम्रो यो यात्रा सरल जीवन, सकारात्मक सोच र रचनात्मक कार्यका साथ अगाडि बढाउनु जरुरी छ। यो वा त्यो बहानामा खरायो र कछुवाको प्रतियोगिता जस्तै नहोस्। माछो–माछो भ्यागुतो नहोस्। समय गतिशील छ। परिवर्तन समयको आवश्यकता र नियम दुबै हो। शुभयात्रा।

(हामीले यो लेख लेखकको अनुमतिमा नयाँ युगबोधबाट साभार गरेका हौं)

प्रकाशित मिति: December 23, 2019