जनताले घर आँगनमा सरकार आएको अनुभूति गरेका छन् : खुशीराम चौधरी

खुशीराम चौधरी
अध्यक्ष
घोराही उपमहानगरपालिका वडा नं १७

तपाईहरु जनप्रतिनिधि भइसकेपछि यहाँको विकासमा के परिवर्तन आएको छ ?

हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएको साढे दुई वर्ष भयो । संघीयता कार्यान्वयनको चरणमा नयाँ संरचनासँगै हामी निर्वाचित भएर आएका हौं । हामीले यहाँ आएर धेरै कानूनहरु बनाउनुपर्ने थियो । केही समय हामीलाई ऐन तथा कानुन बनाउन समय लाग्यो ।

पहिलो वर्ष आधार वर्षको रुपमा हामीले काम गर्यो । त्यसको साथसाथै हामीले जनताका कामहरुलाई सर्वसुलभ ढंगले घर आँगनबाटै सेवा दिन सफल भएका छौ्रं । संघीयता भनेकै जनताको घर आँगनमा सरकार पुग्नु हो । हामीले जनतलाई सहज रुपमा सेवा दिएका छौं । अहिले जनताले घर आँगनमा सरकार आएको अनुभूति गरेका छन्

तपाईहरुको प्राथमिकता के हो ?

पहिलो वर्ष हामीले सडक निर्माणलाई पहिलो प्राथिमकतामा राखेका थियौं । सडक विकासको मेरुदण्ड नै हो । वडाका विभिन्न ठाउँहरुमा सडकको स्तर वृद्धि गर्ने काम भएको छ । दोस्रो वर्ष हामीले सडकका साथै सिचाईलाई पनि प्राथमिकता राख्यौं । यो वडाका अधिकांश वडाबासीहरु कृषिमा आधारित हुनुहन्छ । तर, हामीसँग राम्रो सिचाई सुविधा नहुँदा समस्या उत्पन्न भएको छ । त्यसैले सिचाईलाई हामीले प्राथमिकतामा राखेका हौं ।

गत वर्ष वडाकै बजेटमा ओखरा र भैसाहिमा दुई ओट सिचाइँ डिप बोरिङ निर्माण गरेका छौं । हाम्रै पहलमा केन्द्र सरकारले दुई ओटा कृतिम जलाशय र दुई ओटा पक्की कुला गरेर दुई करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । अन्य सिचाइँका योजनाहरुको वारेमा अध्ययन भइरहेको छ । चालु आर्थिक वर्षमा हामीले पूर्वाधार निर्माणका साथै मानविय विकासका लागि सचेतनामुलक कार्यक्रमहरु गर्ने योजना बनाएका छौं ।

विगतका दुई आर्थिक वर्षमा पनि हामीले सचेतना मुलक कार्यक्रम नगरेका भने होइनौं तर, यो वर्ष अलि बढी प्राथमिकतामा राखिएको छ । भौतिक विकासले मात्रै हामीले समृद्धि हासिल गर्न सक्दैनौं । यहाँ रहेका जनताहरुको चेतनास्तर वृद्धि गर्नु हाम्रो दायित्व हो ।

तपाईको वडाको प्रमुख समस्या के हो ?

हाम्रो मुलुकका सबै स्थानीय तहका समस्याहरु लगभग उस्तै उस्तै होलान् । हाम्रा साझा समस्याहरु छदै छन् त्यसमा पनि हाम्रो वडा प्रशस्त कृषियोग्य भूमि भएको वडा हो । तर, यहाँ व्यवसायीक कृषि हुन सकेको छैन । हाम्रा किसान दाजुभाई तथा दिदी बहिनिहरुले निर्वाहमुखी कृषि अपनाईरहनुभएको छ । सिचाईको सुविधा नहुँदा बेमौसमी तरकारी तथा अन्नवालीको उत्पादन हुन सकेको छैन । हामी सिचाइँको सुविधा पुर्याएर हाम्रो वडामा व्यवसायीक कृषि बढाउन चाहन्छौं ।

स्थानीय सरकार आए पछि धेरै कर बुझाउनुपर्यो भनेर जनताहरुले गुनासो गरिरहेका छन् । के साँचो हो ?

हामीले करको वारेमा बुझाउन नसक्दाको परिणाम हो । यो कर भनेको आफ्ना लागि हो । हाम्रो करबाट नै हाम्रो विकास हुने हो । तर, केही शीर्षकमा धेरै कर उठाइएको छ भने त्यसमा छलफल गरेर हामीले समयानुकुल बनान सक्छौं । यसको विषयमा जनताहरुले बुझ्नुभयो भने उहाँहरु नै निर्धारित कर तिर्न प्रेरित हुनुहुन्छ ।

वडालाई विकास गर्न तपाईसँग के योजना छ ?

हामी १७ नं वडालाई पर्यटनको केन्द्र बनाउन चाहन्छौं । यहाँ गोरक्ष रत्ननाथ मन्दिर रहेको छ । यो ऐतिहासिक मन्दिर हो । यसको प्रचार प्रसार गर्न सकेको खण्डमा र उचित भौतिक पूर्वाधार निर्माण भएमा पर्यटनको केन्द्र बनाउन सकिन्छ । त्यसैगरी छिमेकी वडामा रहेको विश्वकै अग्लो धारपानी मन्दिरलाई चौघेरा मन्दिरसँग जोड्न चाहन्छौं ।

त्यसका लागि कटुवाखोलाको तल्लो वेल्टमा पक्की पुल निर्माण गर्नुपर्ने छ । हाम्रो वडामा केन्द्र र उपमहानगरको लगानीमा ६ ओटा बृहत कृतिम जलाशय निर्माण भएका छन् । यसले पनि यहाँको कृषि, सिचाई र पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने हामीले विश्वास लिएका छौं । हामीले कृषि, पर्यटन र उत्पादनको माध्यमबाट वडालाई समृद्ध बनाउन चाहन्छौं ।

अदालतले जनप्रतिनिधिहरुले तलव नपाउने फैसला गरेको छ । यसमा तपाईको धारणा के छ ?

म सर्वप्रथम सम्माननीय अदालतको निर्णयलाई सम्मान गर्न चाहन्छु । विगतमा पनि हामीले माग गरेर तलव खाएको होइन । सरकारले बनाएको ऐनको आधारमा हामीलाई केही पारिश्रमिक दिइएको हो । हामीले तलवि भएर काम गरेको भन्ने कुरा गलत हो ।

किन भने तलव भनिसकेपछि अहिले सामान्ने कार्यालय सहयोगीको पनि १६ हजार तलव छ । तर, हामी वडा सदस्यले ९ हजार मात्रै बुझ्नुहुन्थ्यो । यसलाई तलव मान्नेकी नमान्ने यो कुरा जनताले बुझ्ने कुरा हो । हामी सेवाका लागि राजनीति गरेका हौं ।

पैशा कमाउने भए त अर्कैबाटो अवलम्वन गर्न सकिन्थ्यो होला । अर्को कुरा सामाजिक काम गर्नेहरुलाई पनि यातायात खर्च चाहिन्छ । रिचार्ज चाहिन्छ । चिया खानुपर्छ । यो समस्या हाम्रो स्थानीय तहको मात्र नभएर समग्र मुलुककै भएकाले थप छलफलबाट यो कुरा टुंग्याउनुपर्छ भन्ने मेरो मान्यता हो ।