चिनियाँ राजदूतका कारण प्रचण्डलाई टेन्सन ! माफी माग्न लगाए

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्। तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपस्थित दाहाल चिनियाँ राजदूत होउ यान्छीका कारण तनावमा परेका हुन्।

उनी युवा संघको कार्यक्रममा दिउँसो १ बजेतिर पुगेका थिए। चिनियाँ राजदूत यान्छीले ४ बजे भेटवार्ताका लागि दाहालसँग समय लिएकी थिइन। निर्धारित समयअनुसार उनी भेटवार्ताका लागि दाहाल खुमलटार समेत पुगेकी थिइन। तर, दाहाल युवा संघकै कार्यक्रममा भुलिएपछि उनलाई तनाव भएको हो।

कार्यक्रम लम्बिएर ४ बजे आफ्नो सम्बोधनको पालो आएपछि दाहालले सार्वजनिक रुपमै आफू तनावमा परेका बताएका थिए। समय अभाव भएको भन्दै उनले पूर्ववक्ताको भनाईमा समर्थन जनाउँदै आफ्नो सम्बोधनसमेत छोट्याएका थिए।

चिनियाँ राजदूत घरमा पुगिसकेको र निर्धारित समयमा भेट्न नसकेको भन्दै आफ्नो तर्फबाट परिवारका सदस्यलाई माफी माग्न लगाएको कुरा दाहालले कार्यक्रममा जानकारी गराएका थिए।

दाहालले तनावमा पर्नुको कारण यसरी खुलाएः

यस समारोहमा हाम्रा नेता साथीहरुले गम्भीर कुराहरु राख्नुभयो। तपाईहरुले देख्नुभयो होला यहाँ अन्तिम अन्तिमतिर आउँदा म टेन्सनमा छु थोरै। मैले घडी हेरेनछु, तपाईहरुको कुरा सुन्दा, तपाईहरुसँग बस्दै गर्दा। मजाले बसेछु म त। तर, ४ बजे मैले चिनियाँ राजदूतसँग मिटिङ्ग थियो अहिले। ४ यहाँ बजिसक्यो, उहाँ खुमलटार पुगिसक्नुभएछ। अब मलाई टेन्स नहुने त कुरै भएन। मैले खबर त गरे, एकछिन चिया खुवाएर राख्नु, माफ माग्नु भनेर भनेको छु। तर, यहाँ तपाईहरुमाँझ प्रस्तुत गर्ने सबै विषय गोलमाल भयो। त्यसकारण अगाडिकै साथीहरुको धेरै कुरामा समर्थन गरेकै छु मैले। म एक दुइटा कुरा मात्रै भन्न चाहन्छु।

एमालेका नेतालाई लाइन लाएर प्रधानमन्त्री बनाएँ

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् ।

तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापना दिवसको प्रमुख अतिथी बन्ने मौका पाएका प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको दावी गरे ।

मन्च र दर्शकदीर्घामा पूर्वएमाले समर्थित नेता कार्यकर्ताको खचाखच भीडलाई सम्बोधन गर्दै उनले आफू समय अनुसार चल्ने नेता भएको समेत प्रष्ट पारे । उनले आगामी दिनमा अझै नयाँ प्रयोग गरेरमात्र मर्ने चाहना रहेको भन्दै आफूलाई साथ दिन तत्कालिन एमालेका नेता कार्यकर्तालाई आह्वान गरे ।

प्रचण्डले भने–माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो,उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ ।

केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ । यो पटक पनि चुनावअघिनै तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ।’

अध्यक्ष प्रचण्डले युवाहरुको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेरमात्र ‘माथि जान’ मन छ भन्दै आफूलाई साथ दिन आग्रह गरे । उनले पार्टी एकीकरणको बाँकी काम तत्कालै टुंगो लाग्नेसमेत बताए । जनवर्गीय संगठनको एकीकरण जेठ ३ मै सम्पन्न गर्न आफूले अर्का अध्यक्ष केपी ओलीसँग छलफल गर्ने बताए ।