चिनियाँ भाषामै बालबालिकाले स्वागत गर्दा सी प्रफुल्लित

काठमान्डाैं / त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली मौलिक पोशाकमा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले चिनियाँ भाषामा स्वागत गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङ प्रफुल्लित हुनुभयो । आफ्नै भाषामा स्वागत पाउँदाको खुशी उहाँको अनुहारमा झल्किन्थ्यो ।

गुन्यू र चोली लगाएका बालिका र नेपाली टोपीसहित दौरासुरुवालमा सजिएका बालकले एक हातमा नेपालको र अर्काे हातमा चिनियाँ झण्डा फहराएर राष्ट्रपति सीलाई स्वागत गरेका थिए । बालबालिकाका गतिविधि निकै चाख लगाएर हेर्नुभएका सीले मन्द मुस्कान छर्दै हात उठाएर बालबालिकाको स्वागत ग्रहण गर्नुभएको थियो ।

विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिँंदै गर्दा रातो गलैँचाबाटै उहाँले नेपालको पूर्वदेखि पश्चिमसम्मको प्रतिनिधित्व हुने मौलिक पोशाकसहितको कलाकारको नृत्यलाई चाखपूर्वक अवलोकन गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उदीयमान महाशक्ति राष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्र प्रमुखको २३ वर्षपछि भएको नेपालको राजकीय भ्रमण ऐतिहासिक र नेपालीपन बनाउन विशिष्ट कक्षभित्रै सरकारले नेपालको मौलिक संस्कृति झल्कने नृत्य प्रस्तुत गरेको हो ।

उहाँको स्वागतमा कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउने, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरिएको थियो । उहाँलाई अतिविशिष्ट कक्षाको मूल ढोकामै पञ्चकन्याले पुष्पहारले स्वागत गरेका थिए ।

उहाँको स्वागत र सम्मानका लागि आज बिहानैदेखि त्रिभुवन विमानस्थलको चहलपहल बेग्लै थियो । उहाँको स्वागतलाई भव्य बनाउन त्रिभुवन विमानस्थलमा अतिविशिष्ट कक्षसँगै आसपासको क्षेत्र झकिझकाउ बनाइएको थियो । अपराह्न १ बजेदेखि नै पुगेका नेपाली र चिनियाँ पत्रकारको बाक्लो सहभागिता थियो । पत्रकारलाई समाचार सङ्कलन तथा तस्वीर र श्रव्यदृष्य खिंच्न विभिन्न तीन स्थान तोकिएको थियो ।

अपराह्न ४ बजेदेखि नेपाली सेनाले विमानस्थल क्षेत्रको हवाई गस्ती गरेको थियो । अपराह्न ४ः०८ बजे चिनियाँ पत्रकार र अधिकारीहरु सवार एयर चाइनाको पहिलो विमान अवतरण भएको ३७ मिनेटपछि ४ः४५ बजे राष्ट्रपति सी सवार विशेष विमान अवतरण भएको थियो ।

त्यसको करीब २० मिनेटपछि विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले उहाँलाई स्वागत गर्नुभएको थियो । नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथिको सम्मानमा २१ तोपको सलामी दिएपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई स्वागत अभिवादन गर्नुभयो ।

स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीको सहभागिता थियो ।