चलेन विरोधीहरुको कुनैपनि चाल, मलेसियामा सोचेभन्दा धेरै राम्रो सहयोग मिल्यो : धुर्मुस

काठमाडौँ : चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुटेका कलाकार तथा अभियन्ता सीताराम कट्टेलले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् ।

मलेसियाका नेपालीले राम्रो सहयोग नगर्दा निराश भएर फर्किएको समाचार आइरहेका बेला धुर्मुसले त्यहाँका नेपालीबाट पाएको सहयोगले आफू उत्साहित भएको बताएका छन् ।

‘रंगाशाला निर्माण सहयोगार्थ जुन उद्धेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामाका नेपाली दिदिबहिनी दाजुभाइबाट सोँचे भन्दा राम्रो सहयोग-सदभाव पाएका छौं’, धुर्मुसले भने, ‘यही अभियानलाई लिएर फेरि मलेसिया आउने निम्तो पनि पाएका छौं, यसले हामीलाई थप हौसला मिलेको छ ।’

मलेसियाका विभिन्न ठाउँमा क्रिकेट रंगशालाका लागि चलाएको अभियानका क्रममा त्यहाँका नेपालीबाट प्राप्त सहयोगबारे नेपाल फिरेर जानकारी गराउने उनले बताएका छन् । ‘केही भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु’, धुर्मुसले भनेका छन् ।

क्रिकेट रंगाशाला निर्माणका लागि सहयोग जुटाउन कलाकार पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ सहित धुर्मुस साताअघि मलेसिया पुगेका थिए ।

विरोधीका ५ कूतर्कमाथि ७ तर्क

गत साता नेपाल सरकारले चितवनको भरतपुरमा गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा धुर्मुस्–सुन्तली फाउण्डेशनलाई दिएपछि देशभरिका खेलप्रेमी र आम नागरिक उत्साहित भएका छन् । पछिल्लो समय नेपालमा क्रिकेटप्रति आकर्षण ह्वात्तै बढेको छ, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले उत्साहजनक नतिजा निकाल्न थालेको छ । यस्तो परिस्थितिमा भरतपुरमा निर्माण हुन थालेको रंगशालाप्रति सबैको चासो रहनु बिल्कूलै स्वाभाविक छ ।

धुर्मुस्–सुन्तली फाउण्डेशनले रंगशाला निर्माणको जिम्मा लिइसकेको छ । भरतपुर महानगर र फाउण्डेशनबीच सम्झौता–पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । तर, आम नेपालीको सहयोग र सद्भावबाट निर्माण हुने यस रंगशालाप्रति एउटा सानो स्वार्थ समूह योजनावद्द रुपमा परिचालित भइरहेको छ । विभिन्न कूतर्क अघि सारेर उक्त समूह रंगशाला निर्माणको काम अवरुद्ध पार्न प्रयत्नशील देखिन्छ । यहाँ उक्त समूहले अघि सारेका केही कूतर्क र त्यसको वास्तविकताबारे संक्षिप्त चर्चा गरिएको छ ।

कूतर्क–१ : नेपालको आवश्यकता रंगशाला होइन । तर, सरकारले रंगशाला निर्माणको मनोगत निर्णय लिएको छ । एउटा रंगशाला बनाउने पैसाले दर्जनौं स्कूल र अस्पतालहरु बनाउन सकिन्छ । यो सरकार र भरतपुर महानगर गरीबको पक्षमा छैन । रंगशाला गरीबको आवश्यकता र चाहना दुवै होइन ।

तर्क : शिक्षा, स्वास्थ्य, आवास र रोजगार मुलूकका प्राथमिक आवश्यकता हुन् । तर, यसो भन्दैमा अरु सम्पूर्ण क्षेत्रको बेवास्ता गर्न मिल्छ ? स्कूल र अस्पतालको आफ्नै महत्व छ । तर, यसो भन्दै गर्दा रंगशालाको पनि आफ्नै महत्व र क्षेत्र छ । खेल मानवीय स्वास्थ्यका दृष्टिले मात्र नभई मानसिक स्वास्थ्य र स्फूर्तिका लागि पनि उत्तिकै जरुरी छ ।

कूतर्क गर्नेहरुलाई यसो भन्न सकिन्छ, ‘खेलले रोग लाग्ने जोखिमलाई कम गर्न सक्छ, तपाई त्यतिबेला अस्पताल धाउनु पर्दैन, जतिबेला तपाईंको शरीर स्वस्थ रहन्छ । खेलले मानिसलाई स्वस्थ राख्दछ । यसरी हेर्दा रंगशालाले अस्पताल र बिरामीको चापलाई कम गर्न सघाउ पुग्छ । स्वस्थ जीवनका लागि अस्पताल जति आवश्यक छ, रंगशाला पनि त्यत्तिकै आवश्यक छ ।

रंगशालाको सट्टा स्कूल बनाउनुपर्ने कूतर्कका लागि पनि यही तर्क काफी छ, ‘मानसिक स्फूर्तिका लागि खेल जरुरी छ, रंगशाला जरुरी छ, जसले विद्यार्थीका लागि अध्ययनमा थप सहयोग पुर्‍याउँछ ।’ रंगशालाले शिक्षामा बाधा हाल्दैछ, बरु सहयोगी भूमिका खेल्दछ । तसर्थ, रंगशालाको ठाउँमा स्कूल–अस्पताल बनाउनुपर्ने धारणा जनताको भावनासँग खेल्ने कुटिल चालबाजी मात्र हुन्छ ।

कूतर्क–२ : रंगशाला सरकारले आफै बनाउनुपथ्र्यो, फाउण्डेशनलाई लिनु सरकार कमजोर हुनु हो । यसले सरकारको भूमिकामाथि प्रश्न उठ्न सक्छ, व्यक्ति राज्यमाथि हावी हुन सक्दछन् ।

तर्क : यो तर्कमा आंशिक सत्यता पनि होला । कतिपयले सकारात्मक सोंच र चिन्ताका साथ पनि यो तर्क अघि सार्ने गरेका छन् । तर, राज्यले विकास र समृद्धिका लागि व्यक्ति, समूह वा संस्थाहरुसँग सहकार्य गर्नै सक्दैन भन्ने तर्क पनि राम्रो होइन । राज्यले आवश्यक ठानेमा देशका जो–कोही नागरिकलाई काम दिन र काममा लगाउन सक्छ ।

नीजि क्षेत्रले गरेको विकासलाई स्वीकार गर्ने तर फाउण्डेशनले गर्ने विकासलाई विरोध गर्ने सोंच नितान्त पूर्वाग्रहमा आधारित हुन्छ । राज्यका सम्पूर्ण संरचनाहरु नीजिकरण गर्न उद्दत शक्ति र समूहले रंगशालाको विरोध गर्नु कुनै अर्थमा पनि सुहाउँदैन । फाउण्डेशनले मुनाफाका लागि रंगशाला बनाउन लागेको होइन । नीजि क्षेत्रले बनाउने रंगशालामा १५१ किलोको माला लिएर स्वागत गर्न पुग्नेहरुले सामाजिक भावनासहित गैरनाफामूलक रंगशाला निर्माण गर्दा टाउको दुख्नुपर्ने कुनै कारण छैन ।

कूतर्क–३ : सरकारले आफै लगानी गरेर रंगशाला बनाउनुपथ्र्यो । हामी नागरिकबाट पैसा उठाएर रंगशाला बनाउनु राम्रो कुरा होइन, हामी पैसा दिन सक्दैनौं र दिँदैनौं ।

तर्क : यो बिपन्न नागरिकले अघि सारेको तर्क होइन, बिचौलियाहरुले अघि सार्ने तर्क हो । भरतपुर महानगर र धुमुर्स्–सुन्तली फाउण्डेशनले कसैलाई पनि पैसाका लागि जबर्जस्ती गरेको छैन, गर्दैन पनि । सबैसँग सहयोगको अपील गरेको हो । यति मात्र होइन, कसैलाई यति नै पैसा दिनुपर्छ भनेर तोकेको पनि छैन । अनि, जसले रंगशालाको विरोध गरिरहेका छन्, उनीहरुसँग चन्दा माग्न गएको पनि छैन । तर, उनीहरु यसको विरोध गरिरहेका छन् ।

भरतपुर र देशकै नागरिक अत्यन्तै खुसी छ । भरतपुरमा रंगशाला बन्दा त्यसले पर्यटकको आकर्षण बढाउनेछ, नेपाललाई विश्वसामू चिनाउन थप बल पुग्नेछ । भरतपुर र देशकै जनशक्तिले रोजगारीको अवसर पाउनेछन् । तर, विरोधीहरु यो यथार्थ लुकाउन भरमग्दुर प्रयत्न गरिरहेका छन् । उनीहरु फाउण्डेशनले बनाउने रंगशाला असफल बनाउने र निर्माणका जिम्मा नीजि क्षेत्रलाई दिएर कमिसन खान सकिन्छ कि भन्नेतिर लागेका त होइनन् ? भन्ने प्रश्न यसले जन्माइदिएको छ ।

हामी नेपाली क्यासिनोमा पुगेर दिनमा लाखौं सक्छौं, भट्टीमा हजारौं स्वाहा पार्छौं । पैसा नभएर रक्सी, चुरोट, सूर्ति छोड्ने नेपाली आजसम्म भेटिएको छैन । हामीले त्यही २/४ दिनको फजुल खर्च रंगशाला निर्माणका लागि दिन सक्दैनौं ? के त्यसले हाम्रो व्यक्तिगत जीवन नै ध्वस्त हुन्छ ? हामी हामी ऋणमा चुर्लुम्म डुब्छौं ? कूतर्क गर्नेहरुले यतातिर सोच्नु पर्दैन ?

कूतर्क–४ : रंगशाला बनाउने भनिएको ठाउँको जग्गा वैधानिक छैन । आज रंगशाला बनाएर भोलि भत्काउनु परे कसले जिम्मा लिन्छ ?

तर्क : यो अन्यन्तै पूर्वाग्रही र सतही कूतर्क हो । नेपाल सरकार र त्रिभूवन विश्वविद्यालयले यसअघि नै रंगशाला बनाउने स्थानको जग्गामा कुनै कानूनी र वैधानिक जटिलता नरहेको स्पष्ट गरिसकेको छ । नेपाल सरकारले पनि आवश्यक प्रक्रिया पुर्‍याएर भरतपुर महानगर र फाउण्डेशनबीच निर्माण सम्झौताको वातावरण बनाएको छ । तसर्थ, यस्ता कूतर्क नागरिक भड्काउने निम्छरा प्रयत्न मात्र हुन् ।

कूतर्क–५ : धुर्मुस्–सुन्तली फाउण्डेशनले रंगशाला बनाउनै सक्दैन, यो २/४ जना मान्छेले बनाउन सक्ने कुरै होइन । झन् २ वर्षभित्र रंगशाला बनाउने कुरा त कोरा कल्पना मात्र हो । भरतपुरमा रंगशाला बन्दैन, यो भ्रम मात्र हो ।

तर्क : यो कूतर्क गर्नेहरुले भूकम्पपछि फाउण्डेशनले बनाएको नमूना बस्तीको अवलोकन गर्नैपर्छ र आफ्नो दिमागमा रहेको बिकार हटाउनुपर्छ । फाउण्डेशनमा हेर्दा २/४ जना मान्छे देखिन्छन् । तर, तिनीहरुसँग तीन करोड नेपालीको भावना गाँसिएको छ । नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं चितवनका सांसद प्रचण्ड, मेयर रेनु दाहाल लगायतका जनप्रतिनिधिहरुको बलियो हातेमालो छ । यो सानो चुनौतिले गल्ने वा ढल्ने शक्ति होइन ।

ईच्छाशक्ति र संकल्पले हर असम्भव कुरालाई सम्भव तुल्याइदिन्छ । ‘रेनु दाहालले के पो गर्लिन् र ?’ भन्ठान्नेहरु डेढ वर्ष नपुग्दै उनले गरेका कामबाट आश्चर्यचकित छन् । रंगशाला निर्माण पनि यस्तै आश्चर्य बन्दैन भन्न सकिएला ? ईच्छाशक्ति र इमान्दारिताले ठूलठूला चुनौतिका पहाड ढालिदिन्छ । यतातिर सोचेर हामीले रंगशाला निर्माणमा विश्वास गर्नुपर्ने हुन्छ ।

विरोध गर्नेहरुलाई ४ प्रश्न

भरतपुर नेपालको मध्यभागमा रहेको महानगर हो । यहाँ अन्तर्राष्ट्रिय रंगशाला बन्दा नेपालको क्रिकेट जगतले नै नयाँ फड्को हान्ने सम्भावना रहन्छ । नेपालको क्रिकेटले गति लिदा हामीले टाउको दुखाउनुपर्ने कारण के छ ?

रंगशालाले खेल क्षेत्रको मात्रै विकास गर्दैन । रंगशाला बन्दा व्यक्तिको प्रतिव्यक्ति आय बढ्छ, रोजगारीको सिर्जना हुन्छ, पर्यटकको आकर्षण बढ्छ । के यी सबै उपलब्धिले रंगशालाको विरोध गर्ने तपाईहरुको व्यक्तिगत जीवनमा कुनै हानी गर्छ ?

तपाईसँग फाउण्डेशनले जबर्जस्ती चन्दा मागेको छैन । तपाईले रंगशशाला निर्माणमा सहयोग गर्नैपर्छ भन्ने बाध्यता पनि छैन । देशमा पूर्वाधार र मानवीय जनशक्तिको विकासमा सघाउ पुग्ने परियोजना सञ्चालन गर्दा तपाईले विरोध गर्नुपर्ने खास कारणचाहिँ के छ ?

तपाईहरुको अवरोधले निम्छरो अवरोध हाल्न सक्ला । तर, रंगशालाको अभियान रोकिनेवाला छैन । देश नै विकास र समृद्धिको लयमा लयवद्ध भइरहेको बेला तपाईले विरोध गरेर आफ्नो बौद्धिकतााके दुरुपयोग गर्दा अलिकति पनि ग्लानीवोध भएन ?

अन्त्यमा, गौतम वुद्ध अन्तर्राष्ट्रिय रंगशाला हाम्रो शान हो, हाम्रो भविष्य हो, नेपाल र नेपालीको गौरव हो । रंगशालाको बहुआयमिक महत्व छ । हामी सबै जुटे देश बन्छ । हामी नागरिकको दायित्व सरकारलाई गाली गर्ने मात्र होइन, विकास र समृद्धिको यात्रामा सहकार्य गर्ने पनि हो । सके धनले सहयोग गरौं, नसके मनले सहयोग गरौं । रंगशाला निर्माणको सपना साकार पारौं ।