घोराहीका मासु पसल सुधार उन्मुख

चेतना अनलाइन

घोराही । घोराहीका मासु पसलहरु सुधार उन्मूख देखिएका छन् । घोराही उपमहानगरपालिका पशु सेवा शाखाले आज गरेको मासु पसलहरुको अनुगमनका क्रममा सुधार उन्मूख हुदै गएको देखिएको हो ।

नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनमा विगतको अबस्थामा अहिले सुधार देखिएको पाईएको हो । यस अघिका अनुगमनका क्रममा पटक पटक सुुधार्न निर्देशन दिदै आएपछि व्यवसायीहरुले मासु पसल सञ्चालन मापदण्ड अनुसार नै सुधार थालेको पाईएको अनुगमन टोलीले निष्कर्ष निकालेको छ ।

यसअघि पसल बाहिरै छरपष्टरुपमा मासुहरु झुण्ड्याउने, फलामको रडहरु प्रयोग गर्ने, फ्रिज प्रयोग नगर्ने, सफाई नगर्ने, दर्ता नगर्ने प्रबृत्ती हट्दै गएको र सुधार उन्मूख अबस्थामा पसलहरु रहेको पाईएको छ ।

अनुगमन टोली सबै पसलहरुलाई अनिबार्यरुपमा दर्ता गर्न, खुल्ला मासु नराख्न, झुण्ड्याउदा फलामको रड प्रयोग नगर्न, सिसा वा जालीको प्रयोग गरेर मासु बेच्न, सरसफाई अनिबार्य गर्न, मूल्य सूचि अनिबार्य राख्न र डि फ्रिजको प्रयोग गरि मासु राख्ने कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

अनुगमन टोलीले राँगाका १०, खसीका ८, बंगुरका २ र डेरी पसल २ गरी २२ वटा पसलको अनुगमन गरेको छ । मानब स्वास्थ्य सँग प्रत्येक्ष जोडिने मासु व्यवसायलाई स्वच्छ र व्यवस्थित ढंगले बिक्रि वितरण गर्नु पर्छ भन्ने सन्देश दिन अनुगमनलाई निरन्तरता दिदै आएको उपमहानगरले जनाएको छ ।
अनुगमनका कार्यबहाक नगर प्रमुख सीता सिग्देल न्यौपाने, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, पशु सेवा शाखा प्रमुख जीवराज पौडेल, पशु सेवा शाखाका प्राबिधिक खिमबहादुर बस्नेत, भेटेनरीका शशिधर शर्मा, उपभोक्ता हित संरक्षण शाखाका प्रमुख विष्णु गिरी, प्रहरी सहायक निरिक्षक सन्तोष रावल रहनुभएको थियो ।