घरेलु हिंसाको प्रमुख कारण पितृसत्तात्मक सोँच

पाण्डव शर्मा

घोराही । ओरेक नेपालले विगत लामो समयदेखि दाङमा घरेलु हिंसा र महिला सशक्तिकरणको क्षेत्रमा काम गरिरहेको छ ।

ओरेककै अगुवाईमा घोराहीमा हिंसा पीडित महिलाहरुका लागि सुरक्षित आवास गृह समेत सञ्चालन भइरहेको छ । गैरसरकारी संस्थाका क्षेत्रबाट भएको यस प्रकारको उपलब्धिमुलक सामाजिक कामलाई धेरैले प्रशंसा गर्ने गरेकाछन् ।

दाङमा घरेलु हिंसाको अवस्था, कारण र समाधानका उपाय लगायतका विषयमा रहेर ओरेक नेपाल, दाङकी प्रमुख ईश्वरी थापासँग गरिएको कुराकानीको सार :

 

 

दाङमा अहिले घरेलु हिंसाको अवस्था कस्तो छ ?

 

विगतको तुलनामा घरेलु हिंसाका घटनाहरु बढेको तथ्याङ्कमा देखिन्छ । तर,विगतमा घरेलु हिंसा भएपनि ती कुरा बाहिर समाजमा आउँदैन थिए ।

अहिले समाजमा यस्ता कुरा बाहिर आउन थालेका छन् । विगतमा पनि घरेलु हिंसा भइरहेका थिए,अहिले पनि भइरहेका छन् । फरक पहिले ती घटनाहरु हाम्रो समाजमा आउँदैन थिए ।

घटनाहरु घर भित्रै लुकेर रहन्थे । तर, अहिले बिस्तारै घटनाहरु घर बाहिर आउन थालेका छन् । समग्रमा घरेलु हिंसाको दर पनि बढेकै छ ।

घरेलु हिंसाको शिकार कस्तो समुदाय र वर्गका महिलाहरु बढी परेको देखिन्छ ?

 

पछाडी पारिएका वर्ग तथा समुदायका महिलाहरु सबैभन्दा बढी घरेलु हिंसाको शिकारमा परेको देखिन्छ ।

साथै हुने,खाने वर्गमा पनि यस्ता धेरै घटना भएको पाइन्छ तर, प्रतिष्ठा र इज्जतको कारण नाम बाहिर नखुल्ने समस्या रहेको छ ।

सम्पन्न परिवारमा झन घटनाको प्रकृति जटिल बन्दै गएको देखिन्छ । कोही आएपनि बाहिर नभन्दिनु होला है भन्ने जस्तो कुरा गर्छन् ।

 

घरेलु हिंसाका कारणहरु के हुन् ?

 

हाम्रो समाजमा रहेको पृत्तिसत्तात्मक सोंचनै प्रमुख कारणको रुपमा देखिन्छ ।

महिलाहरुलाई अहिले पनि दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गलत दृष्टिकोण छ । कानुनी रुपमा महिलाहरुलाई सम्पत्तिमा अधिकार भएपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन ।

विभिन्न कूप्रथाको कारणले गर्दा महिलाहरु घरेलु हिंसाको शिकार हुनु परेको छ । अहिले पनि समाजमा बोक्सी जस्ता कूप्रथा पनि चल्दै आएको छ । पुरुषले दोस्रो विहे गर्ने, मादकपदार्थ सेवन गर्ने जस्ता विभिन्न कारणले महिलाहरु माथी शारीरिक र मानसिक हिंसा भइरहेको छ ।

 

घरेलु हिंसामा मेलमिलापको अवस्था कस्तो छ ?

 

मेलमिलापहरु पनि  धेरै भइरहेको छ । पहिले घटना भयो भनेर पीडित पक्ष हामी कहाँ आउनु हुन्छ ।

कुरा गर्दै जाँदा मिल्नु पर्छ भनेर आफै अग्रसर हुनुहुन्छ । नमिलेमा समाजमा बस्न गाह्रो हुन्छ भन्ने उहाँहरुको भनाई रहन्छ ।

 

मेलमिलाप उहाँहरुको इच्छा अनुसारले हुन्छ  कि सामाजिक बाध्यताले ?

 

सामाजिक बाध्यताले हो । पीडक थुनियो भने पीडितलाई झन तनाव दिने काम हुन्छ ।

कम से कम तिम्रो श्रीमान हिरासत बाहिर भयो भने तिमीलाई कमाएर पाल्छ नत्र तिम्रो जीन्दगीनै वर्वाद हुन्छ भन्ने जस्तो कुराहरु गरिन्छ ।

हिंसा गरेको हो भनेर ठहर हुन्छ तर, पिडकबाट सिगो परिवार आश्रित हुन्छ । समाजका मान्छेहरुले श्रीमतीलाई दवाव दिन्छन् । अनि आफै पीडित नै पिडकलाई छुटाउनुपर्ने बाध्यता हुन्छ ।

 

तथ्याङ्कलाई हेर्ने हो भने अहिले हाम्रो समाजमा सम्वन्ध विच्छेद निकै बढेको देखिन्छ । मान्छेहरु किन यसरीसँगै जिउने कसम खाएर विहे गरेको एक÷दुई वर्षमै सम्बन्ध बिच्छेदसम्मको स्थितिमा पुग्छन् ?

 

यसका कारणहरु विभिन्न छन । बाहिर हेर्दा एउटा देखिन्छ तर, भित्र फरक कारण भइरहेको हुन्छ । अहिले हाम्रोमा विदेश गएका श्रीमानहरुका श्रीमतीहरु अतै गयो भन्ने खालका केसहरु आइरहेको हुन्छ ।

बुझ्दै गयो भने यसमा भित्री कारण धेरै हुन्छ । बाहिरबाट हेर्दा श्रीमान विदेशमा हुँदा श्रीमतीले चाहना बढि गरेर गयो भन्ने हुन्छ । भित्रको कुरा धेरै फरक हुन्छ ।

लाउन,खान दिएर मात्रै पुग्दैन । भित्री कुराहरु अनेक हुन सक्छन् । उहाँहरुसँग एक पटककै भेटमा हामीले पत्ता लगाउन सक्दैनौं ।

 

घरेलु हिंसाका विभिन्न कारणहरु मध्ये वालविवाह पनि एक हो । दाङमा यसको अवस्था कस्तो छ ?

 

दाङमा यसको अवस्था निकै जटिलनै छ । परम्परागत अभ्यासका कारण पनि हामीलाई समस्या परेको छ । सानैमा बिहे गर्नुपर्छ भन्ने मान्यता छ ।

छोरा र छोरीको रुपमा हुने भेद्भावका कारण पनि वाल बिहे भएको छ । छोरी अर्काको घरमा जाने जात हो भन्ने बुझाई अहिले पनि हाम्रो समाजमा रहेको छ ।

छोरीलाई चाँडै बिहे गर्दियो भने हामीले मुक्ति पाउँछौं भन्ने गलत सोँचका कारण पनि अविभावकहरु सानैमा छोरीको बिहे गर्दिन लालहित हुन्छन् ।

 

सम्बन्ध विच्छेदका घटनाहरु त हुन्छन तर,हाम्रो विद्यमान झन्झटिलो न्याय प्रणालीका कारण पीडित महिलाहरुले पूर्ण रुपमा अंश नलिएरै केही आर्थिक लेनदेनमै सम्बन्धविच्छेद गरेको देखिन्छ । त्यसको अवस्था कस्तो छ ?

 

अहिले यस्ता धेरै घटनाहरु आउँछन् । शुरुमा महिलाहरु म तत्काल श्रीमानलाई छोड्छु भनेर आउनु हुन्छ । अनि हामीले किन छाड्न थाल्नु भयो भनेर सम्झाउदा उहाँहरु मान्नुहुन्न ।

उहाँहरुलाई त्यो पारिवारिक टर्चरले निकै सताएको हुन्छ । बरु उहाँहरु दुःख गरेर खान तयार हुनुहुन्छ तर,परिवारमा दिएकोे त्यो दवाव सहन सक्नुहुँदैन । मानसिक रुपमा उहाँहरु माथी सबै पक्षबाट दवाव सृजना गरिने भएको हुनाले उहाँहरु दृढतापूर्वक लड्न सक्नु हुन्न ।

 

देखिने गरी विभिन्न कारणले घरेलुहिंसा भइरहेको छ । तर, अहिले हाम्रो समाज आधुनिकताको नाममा कतै हाम्रो मनोवैज्ञानिक प्रभावका कारण समस्या उत्पन्न भएको त होइन ?

 

समाजमा अहिले लाग्ने गरेको आरोप हो,यो । तर, प्रविधिबाट हामी पछि हट्ने भन्ने हुँदैन । समाजमा विकृतिको कारण प्रविधिको विकास हो भनेर बुझ्नु गलत कुरा हो ।

हामी पढ्ने र सिक्ने कुरामा पछि पर्नु नै हुँदैन । हामी विभिन्न ठाउँमा जाँदा मोवाइल र इन्टरनेटलाई दोष दिने कुराहरु आइरहेको हुन्छ ।

उमेर नपुगेका छोराछोरीलाई ती प्रविधिहरु कसरी प्रयोग गर्न सिकाउने भन्ने कुरा फरक हो । हामीले उनीहरुलाई कस्तो खालको शिक्षा दिन्छौं भन्ने कुरापनि महत्वपूर्ण हो । हाम्रा बाल, बच्चाहरुले मोवाइल कसरी चलाइरहेकाछन भनेर ख्याल गर्नुपर्छ ।

उनीहरुले कतै गलत ढंगले प्रयोग गरेका त छैनन भनेर अविभावकहरुले ध्यान दिनैपर्छ । हाम्रो नानी, बाबु टिनेजमा हुँदा एकअर्कामा स्वाभाविक रुपमा आर्कषित हुन्छननै । त्यो बेलामा हामीले बोल्दैमा भेट्दैमा त्यसलाई गलत अर्थ लगाईदिन्छौं ।

हाम्रो समुदायमा उनीहरुलाई बिग्रियो भन्ने खालका कुराहरु गरिन्छ । भेटघाट हुँदा वितिक्कै फिजिकल रिलेसन भयो भन्ने खालका कुराहरु आउँछन् । यहि कारणले गर्दा उनीहरु भागेर बिहे गर्ने अवस्थामा पुग्छ ।

बिहेलाई सेक्सको लाइसेन्स हो भन्ने जस्तो गरिन्छ । जसको कारणले लाइसेन्स लिनका लागि नै बिहे गर्नुपर्छ भन्ने जस्तो सोँच हुन्छ । हामीले त्यस्तो आशंकाको वातावरण तयार गर्नु हुँदैन ।

 

घरेलु हिंसा रोक्नका लागि सरोकारवालाहरुको भूमिका के हुन्छ त ?

 

यसका लागि हाम्रो समाजमा विद्यमान सोँचाईलाई नै परिवर्तन गर्नुपर्छ । महिलाहरुलाई हेर्ने दृष्टिकोण अहिले पनि गलत छ । छोरीहरु अहिले गर्भ देखिनै असुरक्षित छन् ।

गर्भदेखिनै असुरक्षित हुँदै जन्मेको छोरीलाई मृत्युसम्म पुग्दा पनि असुरक्षित तरिकाले राख्ने काम हुन्छ । यसलाई रोक्न हाम्रो समाजमा सचेतनाको आवश्यकता छ । त्यसैगरी हाम्रा कानुनहरुको व्यवहारिक कार्यान्वयन हुनुपर्छ ।

दोषीलाई मात्रै होइन दोषीहरुलाई बचाउन खोज्ने व्यक्ति तथा समुहहरुलाई पनि कानुनी दायरामा ल्याइनुपर्छ । छोरीहरुलाई छोरा सरह शिक्षामा पहँुच पु¥याइनुपर्छ ।