के तपाई रक्तदान गर्दैहुनुहुन्छ ? यी हुन रक्तदान गर्दा ख्याल गर्नैपर्ने कुराहरु

आजभन्दा करिब ३१ वर्षअघिको घटना हो । मेरा एकजना आफन्त सुत्केरी व्यथाले च्यापेर पाटन अस्पताल भर्ना भए । बच्चा जन्माउने क्रममा उनलाई रगतको आवश्यकता पर्ने भयो । त्यसबेला अहिले जस्तो सहजै रगत पाइहाल्ने अवस्था थिएन । फलतः आफन्तहरुलाई हारगुहार गरियो । केही लक्का जवान आफन्तहरुलाई रगत दिन तयार पारियो । रगतको क्रस म्याच गर्दा एकजनाको रगत मिल्ने देखियो ।

निजले रगत दिने भए । रगत दिनुपूर्व केही जुस खाएर आउँछु भनी उनी बाहिर निस्किए । निक्कै बेर कुर्दा पनि उनी आएनन् । पछि बुझ्दा पो थाहा भयो, उनी त टाप कसेछन् ।

यो घटना उल्लेख गर्नको कारण के हो भने कुनै बेला यस्तो पनि पनि थियो, जुन बेलामा रगत दिनुभनेपछि मानिसहरुमा अनौठो डर, त्रास र आतंक जब्बर रुपमा गडेको थियो । रगत दिनुभनेको आफ्नो शरीरलाई नै कमजोर बनाउनु, रोगी बनाउनु हो भन्ने हदसम्मको भ्रम मानिसहरुमा थियो ।

पाटन अस्पतालबाट भाग्ने ती आफन्तले पनि निक्कै समयपछि आत्मालोचित हुँदै भनेका थिए, कसैले उनलाई रगत दियो भने त कमजोर होइन्छ, रोगी बनिन्छ भनेर भनिदिएका रहेछन् । त्यही भएर उनी आतंकित बनेर भागेका रहेछन् ।

तर अहिले स्थिति बदलिएको छ । रक्तदान गर्दा कमजोर होइँदैन, रोगी बनिँदैन, बरु उल्टै स्वस्थ पो होृइन, रक्तदान गर्दा त बरु कसैको जीवन पो बाँच्छ भन्ने सुखद भावना मानिसहरु जानकारी भइसकेको छ ।

पर्शुराम दाहालले अहिलेसम्म २० पटक रक्तदान गरे । १९ वर्षको उमेरदेखि रक्तदान गरेका दाहाल उमेरले अहिले ५० पुगे । बीचमा स्वास्थ्यमा समस्याले गर्दा रक्तदान गरेनन् । उनले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दै पछिल्लो पटक रक्तदान गरेको ९० दिन कटे पछि मात्रै रक्तदान गर्ने गरेका छन् । स्वास्थ्यमा समस्या नआएको खण्डमा ६० वर्षको उमेरसम्म रक्तदान गर्ने उनको इच्छा छ ।

केही समय पहिला नेपालमा रक्तदानका सीमित कार्यक्रम मात्रै संचालन गरिन्थ्यो । विशेषत नेपाल रेडक्रस र अस्पतालको आयोजनमा रक्तदानको कार्यक्रम आयोजना गरिन्थ्यो । नेपालमा वि.स २०२३ मा रेडक्रसले ब्लड बैंक संचालन गरेको हो । तर अहिले रक्तदानका कार्यक्रम विभिन्न सामाजिक संघ संस्थाहरुले पनि आयोजना गर्दै आइरहेको छ ।

नागरिकले पनि रगतको अभाव भएपछि जस्तोसुकै अवस्थामा पनि रक्तदान गरिरहेका छन् । रक्तदानको सवालमा पछिल्लो समय नेपाली युवाहरुमा उद्धारताको भाव पनि बढ्दै गएको देखिन्छ । तर रक्तदान तपाई हामीले सोचेको जस्तो सामान्य भने होइन । स्वास्थ रगत दानको लागि रक्तदान गर्ने व्यक्ति आफै पनि स्वास्थ्यको हिसावले स्वस्थ हुनुपर्ने हुन्छ । रक्तदान गर्ने नागरिक आफैले पनि रक्तदान गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

यसरी बन्छ रगत

रगत मानव शरीरको मुटु र रक्तनली शिरा, धमनीमा अविरल बगिरहने महत्वपूर्ण तरल पदार्थ हो । प्राकृतिक रूपमा रातो देखिने रगत, ४५ प्रतिशत कोषिका र ५५ प्रतिशत तरल प्लाज्माको समिश्रण हो । कोषिकामा रातो रक्तकण, सेतो रक्तकण र प्लेटलेट हो भने प्लाज्मामा पानी, खनिज पदार्थ, प्रोटिन अल्बुमिन, ग्लोबुलिन, फाइब्रोनोजिन, प्रोथोम्विन विभिन्न रसायनिक पदार्थ र रगत जम्न चाहिने क्लोटिङ तत्वहरू रहन्छन् । हड्डीभित्र रहेको रातो मासीमा रगत बन्दछ, वयस्कमा । तर, भु्रण अवस्थामा र नवजात शिशुमा भने कलेजो र फियोले रगत निर्माण गर्दछन् ।

मानव शरीरमा नयाँ रगत बन्ने र पुरानो नष्ट हुने क्रम निरन्तर रूपमा चलिनै रहन्छ । सामान्यतया रातो रक्तकोष १२० दिनमा, सेतो रक्तकोष १ साता, लिम्फोसाइट सय दिनमा र प्लेटलेटको ८ देखि १२ दिनमा चक्र पूरा हुन्छ र नष्ट हुन्छन् । पुरुषमा ७६ मिलि प्रतिकेजी रगत हुन्छ भने महिलामा ६६ मिलि प्रतिकेजी रगत हुन्छ । तर, दैनिक कार्यसञ्चालन गर्न शरीरमा ५० मिलि प्रतिकेजी रगतको आवश्यक पर्छ ।

९० दिन कटे पछि मात्रै रक्तदान गरौं

अन्य राष्ट्रमा भने पछिल्लो पटक रक्तदान गरेको ५० दिन पछि फेरि रक्तदान गर्न पाउने व्यवस्था छ । तर नेपाल र नेपालीको हकमा भने पछिल्लो पटक रक्तदान गरेको ९० दिने कटे पछि मात्रै फेरि रक्तदान गर्न मिल्छ ।

यो स्वास्थ्यको हिसाबले रक्तदान गर्ने व्यक्तिको लागि निकै महत्वपूर्ण कुरा हो । ९० दिन नपुग्दै रक्तदान गरेको खण्डमा रक्तदान गर्ने व्यक्तिको रगतमा हेमोग्लोविनको मात्रा कम हुने जस्ता समस्याहरु देखापर्न सक्छन् ।

वास्तवमा, हाम्रो समाजमा व्यक्तिको रहनसहन र खानपीनको वर्तमान अवस्थाको कारण यो सावधानी अपनाइएको हो । रक्तदान गर्ने मापदण्डमा पछिल्लो पटक रक्तदान गरेको ९० दिन कटे पछि मात्रै रक्तदान गर्नुपर्ने कुरालाई स्पष्ट उल्लेख गरिएको छ ।

यस्तै रक्तदान गर्ने व्यक्तिमा कुनै पनि सरुवा रोग लागेको हुँनु हुँदैन । निजले एन्टिबोयोटिक औषधीहरु हालसालै सेवन गरेको पनि हुनुहुँदैन । स्वास्थ व्यक्तिले मात्रै रक्तदान गर्नुपर्ने हुन्छ । कुनै पनि व्यक्तिले रक्तदान गर्दैछन् भने उसलाई कुनै पनि सरुवा रोग लागेको हुनु हुँदैन ।

रक्तदान १८ वर्ष देखि ६० वर्षका व्यक्तिले गर्न सकिन्छ । त्यस्तै मधुमेह, उच्च रक्तचाप, थाइराइडको समसइा, मुटु, फोक्सो, किड्नी, छारे रोग लागेको व्यक्तिले रक्तदान गर्न मिल्दैन । यस्तै गर्भवती, स्तनपान गराउँर्दै गरेकी आमाले पनि रक्तदान गर्न मिल्दैन ।

यति मात्रै होइन, महिलाको हकमा भने महिनावारी भएको ७ दिन नबितेसम्म रक्तदान गर्न मिल्दैन । शरीरमा कुनै पनि रोग नभएको व्यक्तिले मात्रै रक्तदान गर्न मिल्छ ।

रोग छ भने नलुकाऔं

मानवताको हिसाबले पनि पछिल्लो समय रक्तदान गर्ने व्यक्तिहरुको अभाव छैन । रगत हामी सबैको लागि निकै महत्वपूर्ण कुरा हो जुन बिना जीवन जिउन सकिन्न । तर रक्तदान गर्ने बेलामा आफूसँग भएको रोग लुकाएर रक्तदान गर्नु झन ठूलो गल्ती हो ।

प्रसूतिगृहका ब्लड बैंकका प्रमुख पर्शुराम दाहाल भन्छन्, ‘रक्तदान गर्दा आफूसँग रोग छ भने नलुकाउनु होला । रक्तदान गर्ने व्यक्तिले रोग लुकाए पनि दान गरिएको रगत पछि परीक्षण गर्दा रोग पत्ता लागेको खण्डमा त्यस्तो रगत प्रयोग हुँदैन ।’

दाहालका अनुसार पहिला ÷पहिला रक्तदान गर्ने नागरिकले आफ्नो रोग लुकाउने गरे पनि अहिले नेपालको सन्दर्भमा त्यस्तो समस्या नभएको बताउँछन् ।

रक्तदान गर्नेको संख्या धेरै पनि नेपालमा नियमित रक्तदान गर्ने नेपालीको संख्या भने २ लाख रहेको छ । नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको केन्द्रीय ब्लडक बैंककी निर्देशक डाक्टर मनिता राजकर्णिकारका अनुसार नेपालमा सबै प्रकारको रगत गरेर वर्षमा ३ लाख ४४ हजार यूनिट रगतको आवश्यक हुन्छ ।

अहिले नियमित रक्तदानको कार्यक्रम संचालन भइरहेको र रगत दिनेको संख्या पनि बढ्दै जादा समस्या नभएको निर्देशक राजकर्णिकार बताउँछिन् । रक्तदान गर्दा पछिल्लो पटक रक्तदान गरेको ९० दिन कटेपछि मात्रै रक्तदान गर्ने हो भने रक्तदाताको स्वास्थ्य समस्या नआउने राजकर्णिकार सुझाउछिन् । रातोपाटीबाट