केशरबहादुर सात वर्ष कतारमा पसिना बगाए अहिले पाखोमा पैसा फलाउँदैछन्

मोरङको वारङ्गी–६ कुम्लेटारका ४१ वर्षीय केशरबहादुर खड्काले सात वर्ष कतारमा पसिना बगाए । तर, सोचे जस्तो आम्दानी भएन । भ्याकु अपरेटर काम गर्रेका उनले त्यहाँ परिवारका लागि पुग्ने गरी कमाउन सकेनन् ।

golvedaकम्पनीले भनेजति पैसा नदिए पनि परिवार चलाउनकै लागि खड्काले कतारमा सात वर्ष समय बिताए । पाँचजनाको परिवारको जिम्मेबारी बोकेका उनी केही समयअघि स्वदेश फर्किएका छन् र थोरै पाखोबारी किनेका छन् । सानो घर पनि बनाएका छन् ।

स्वदेशमै केही गर्ने सोच बनाएपनि खड्कासँग लगानी गर्न पर्याप्त बजेट भएन । कोलबोटे सामुदायिक संस्थाबाट उनकी श्रीमती मनकुमारीले २५ हजार ऋण लिइन्

गाउँमा एकीकृत गरिबी निवारण कोषको कार्यक्रम सञ्चालित थियो । उनले ऋण लिएको सामुदायिक संस्थाले गरिबी निवारण कोषबाट आयआर्जनका लागि अनुदान पायो । त्यहीबाट खडकाले १२ प्रतिशत ब्याजदरमा ऋण लिएर लगानी गरे ।

ऋणबाट तीन रोपनी पाखोबारीमा अदुवा र एक रोपनी पाखोबारीमा गोलभेँडा रोप्नुका साथै दुई वटा बाख्राको पाठा खरिद गरेका छन् । उनले भने, विदेश त कोही पनि नजाओस्, विदेशको जति परिश्रम स्वदेशमा गरे जति पनि पैसा कमाउन सकिने रहेछ ।’

खडकाको बारीमा अहिले अदुवा बिक्रीका लागि तयार भइसकेको छ । प्रतिबोट तीन किलोसम्म अदुवा फलेको छ । गोलभेँडा पनि पाक्न थालेको छ । प्रतिबोट चार किलोसम्म गालभेँडा उत्पादन भएको खड्काको भनाइ छ । गाउँमा उत्पादित वस्तु बिक्रीका लागि बजारसम्म लैजानु पर्दैन । उत्पादन दिनुभन्दा अघि नै व्यापारीले खरिदका लागि बैना दिएका छन् ।

उत्पादन भएको आम्दानीबाट ऋण तिर्ने र बाँकी पैसाले घर खर्च र बालबालिकाको पठनपाठनका साथै बचत गर्छु भन्दै खडकाले कुम्लेटार क्षेत्रमा सिँचाइका लागि पानीको समस्या नहुने हो भने भएको सबै पाखोबारी भाडामा लिएर भए पनि काम गर्ने सोच रहेको बताए ।

परिवारसँग बसेर आम्दानी गर्दा छुट्टै आनन्द हुने भन्दै खडकाले भने, हाम्रा गाउँका धेरै युवा विदेशिएका छन्, स्वदेशमा लगानी गरे विदेशको भन्दा बढी कमाउन सकिन्छ ।

उनको कामले गाउँमा अरुलाई जागरण ल्याएको कोलबोटे सामुदायिक संस्थाकी अध्यक्ष पवित्रा विश्वकर्माले बताइन् । कोलबोटे सामुदायिक संस्थाको सफल कृषक भएको खड्काको कामप्रतिको लगनशीलताले गर्दा संस्थाले पहिलो पटकको उनको ऋण भुक्तानीपछि पुनः ऋण लगानी गर्ने सोच बनाएको बताइन् ।