किन तर्सिंदै छन् सत्तारुढ दलका नेताहरु पूर्वराजासँग

काठमाडौं । पछिल्लो समय पूर्वराजाले चलखेल गरेको दलकै नेताहरुले आरोप लगाउँने गरेका छन् । दुईतिहाइको स्थिर सरकारका समयमा पनि पूर्वराजासँग त्रसित भएको भन्दै आलोचकहरुले टिप्पणी गरेका छन् । उनीहरुले पूर्वराजाको आलोचना सरकारको असफलता छोप्ने दाउ भएको टिप्पणी गरेका छन् ।

सत्तारुढ दलका एक अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि पूर्वराजालाई उनको निवास नार्गजुनबाट निकाल्ने चेतावनी दिएका थिए । अध्यक्ष दाहालले त्यसअघि पनि पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका पुनरुत्थानवादी भएको भन्दै आएका थिए ।

दाहालले जस्तै प्रधानमन्त्री एवं नेकपा अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि धमिलो पानीमा माछा मार्ने खेल सुरु भएको भन्दै टिप्पणी गरेका थिए ।

भारतका हिन्दूवादी नेताको पहिचान बनाएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पूर्वराजा शाहको सम्बन्ध निकट रहेको चर्चा चल्न थालेपछि नेकपाका अध्यक्षद्वय नै आक्रोशित बनेको विश्लेषण पनि हुन थालेको छ ।

दुईतिहाइको सरकार भएपनि सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्दा आलोचना भैरहेको अवस्थामा पूर्वराजालाई दोष दिएर आफु उम्कन खोजिएको टिप्पणी पनि भएका छन् । नेपालमा राजतन्त्र फर्कने कुनै आधार नभएको भन्दै राजनीतिका जनाकारहरु अनावश्यक रुपमा दलका नेताले पूर्वराजाको हौवा फैलाएको बताउँछन् ।

प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसले भने टिप्पणी गरेको छैन । तर, कांग्रेसमा हिन्दू राज्यको माग भने जोडतोडका साथ उठ्ने गरेको छ ।