कानुन पढ्न १.६ जिपिए भए पुग्ने, रझेना माविमा पहिलो पटक कानुनमा भर्ना खुल्यो

चेतना अनलाइ

घोराही । दाङको घोराही स्थित सामुदायिक विद्यालय मावि रझेनामा पहिलो पटक कानुन विषयको पढाई हुन थालेको छ ।

यस शैक्षिकसत्रका लागि कक्षा ११ मा भर्ना खुला गरिएको विद्यालयका प्राचार्य उद्धव न्यौपानेले जानकारी दिए । साउन देखि कक्षा सञ्चालन गरिने उनले जानकारी दिए । घोराही क्षेत्रमा पहिलो पटक रझेना स्कुलमा कानुन विषयमा पढाई हुन थालेको हो ।

कानुन विषय पढ्नका लागि शिक्षा संकायमा पढ्न पाउने विद्यार्थीहरुले एसईईमा ल्याउनुपर्ने जिपिए र ग्रेड जस्तै भए पुग्ने न्यौपानेले बताए । कानुनको संकाय नै फरक भएकाले कक्षा ११ मा विद्यार्थीले ३ ओटा कानुन अन्तर्गतका विषय पढ्नुपर्ने छ । नेपाली र अंग्रेजी विषय भने अनिवार्य रहेको छ ।
अँझै विद्यालय व्यवस्थापन समितिको बैठक बसि नसकेकाले विद्यार्थीको शुल्क निर्धारण भइसको छैन ।

सामुदायिक विद्यालय भएकाले विद्यार्थीलाई सर्वसुलभ ढंगले अध्ययन गर्ने व्यवस्था मिलाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले जानकारी दिए । ‘यस क्षेत्रमा सामुदायिक विद्यालयमा कक्षा ११÷१२ मा कानुन पढाउने हामी नै पहिलो हो,’ शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका गौतमले भने, ‘माथिल्लो तहमा समेत कानुन विषय पढाइका लागि पहल भइरहेको छ ।’
साविक राप्तीमा शिक्षा, मानविकी, विज्ञान, व्यवस्थापन र कानुन गरी सबै संकाय पढाउने विद्यालय मावि रझेना पहिलो हो ।

त्यसैगरी विद्यालयमा सिटिईभिटि अन्तर्गतका प्राविधिक विषयहरु पनि पढाईरहेका छन् । विद्यालयमा साना बालबालिकाहरुका लागि मध्यनजगर गरेर मन्टेश्वरी कक्षा समेत सञ्चालन गरिएको छ ।