कविता । म एउटा अनागरिक

पाण्डव शर्मा

सबैजसो दाँत झरिसकेका
७० काटिसकेकी आमाको
थोते गिजाको
हाँसो ल्याउन
श्रीमतीको पछेउरी फेर्न
छोरीको लाज ढाक्ने
टालो जुटाउन
भर्खरै हिड्न थालेको
छोराको जुत्ता फेर्न
शहर छिरेको मान्छे म

 

वैशाख जेठको उखरमाउलो गर्मीमा
बाले ओढ्ने
छाता किन्ने सपनामा
छिमेकी घरमा
दशैमा खसी ढल्दा
एककिलो मासु
किन्ने सपनामा
शहर छिरेको मान्छे म

 

सरकारले विदेश पलायन रोक्न
ल्याएको खोक्रो सपना
पूरा हुन्छ कि भन्ने आशाले
स्वदेशमै जीवन देखेको
पसिनाले माटो मुछ्ने
एउटा निमुखा
नागरिक भएर पनि
अनागरिको व्यवहार पाएको
म एउटा मान्छे

 

आज म मेरै देशमा
एउटा शरणार्थी सरह
भोको पेटका साथ
परिवारका सपनाहरु बोक्दै
एक्लै शहरमा भौतारिरहेको छु
एउटा अपराधी बन्दि सरह

 

थुकले प्यसा मेट्दै
चिउराले पेट भर्दै
आज बा आमा
श्रीमति र सन्तानहरु सम्झदै
सडक र शहरमा एक्लै भौतारिरहेको छु
शहरका गल्लीगल्लीमा निस्किएका
निर्दयी बर्दीधारीहरुको
कुटाइ सहदै
एक्लै दौडिरहेको छु

 

न त म कुनै अपराधी हुँ
न त आन्दोलनकारी
मेरा कुनै मागहरु छैनन्
मेरा कुनै गुनासहरु छैनन्
केबल म आफ्नै घरमा जान चाहन्छु
आफ्नै परिवार सन्तानसँग बस्न चाहन्छु

 

अँह आज शासकहरु मलाई सुन्दैनन्
मेरा चाहनाहरु बुझ्दैनन्
मेरा बृद्ध बाआमा र सन्तानका
प्रेमका कोमल हृदयहरुमा
केबल बुट बर्साइरहेका छन्
एउटा हातले राहतको पोको
अर्को हातमा मोबाइल समाएर
सेल्फी खिच्न हतार भएका समाजसेवीहरु
मेरो भोको पेट
कहिल्यै देख्दैनन्

 

च्याउसरी उर्मिएका
स्वघोषित पत्रकार महोदयहरुका
कलमले मलाई कहिल्यै देख्दैनन्
समानताको लक्ष्य लिएर
हिजो मर्न हिडेका नेताहरु
आज अँधेरोे कोठामा
उपदेशका पोकाहरु बाँडिरहेका छन्

 

शहरका ठूला महलहरुले
म चिच्चाएको कदापि सुन्दैनन्
उनीहरु सबै कान थुनेर बसेका छन्
सत्ताका मालिकहरु
म रोएको देख्दैदेख्दैनन्
उनीहरु कालो चस्माले
नदेखेको अभिनय गरिरहेका छन्

प्रकाशित मिति: April 17, 2020