कथा : होम ट्युसन

सुरेश बादल / नागरिक

बीएस्सी सकेर बसेको थिएँ। सकेको पनि के भनौँ, परीक्षा सकेर नतिजा कुर्दै थिएँ। त्रिविको परीक्षा न हो आमाको पेटमा बच्चा हुर्किए जसरी हुर्किँदै हुर्किँदै नौ दस महिनापछि मात्र नतिजा जन्मिन्थ्यो। त्यतिञ्जेल के गरेर बस्ने? छोरोले ब्याचलर सकिसक्यो।

अझै खर्चकै लागि गाउँमा बस्ने बा–आमाको मुख कति ताक्नु। यही सोचेर जागिरको हुटहुटि जाग्यो। जागिर त खाने नै हो। खोज्ने पो कता? अनि कस्तो जागिर खाने?

साथीहरु कोही स्कुल पढाउन थालेका थिए भने कोही ट्युसन। कोही भने लोक सेवाको तयारीमा थिए। मलाई भने के गरौँ, के गरौँको बिलखबन्दले छोपेको थियो।

‘स्कुल पढाउने काम त गतिलो हैन रै’ छ।’ स्कुल पढाउने एउटा साथीले दिग्दारी सुनायो।’ न गतिलो तलब छ, न त इज्जत नै। दिनभरि गधा जसरी लादिनु पर्ने। उसको कुरा सुन्दा स्कुल पढाउने चाहना मथ्र्याे। के जागिर खाने होला। रातदिन सोच्थेँ, टन्न तलब आउने सजिलो जागिर खाएको। बसी बसी बैंक अकाउन्टमा बेस्सरी पैसा जम्मा भएको।

साथीहरुलाई आफ्नो कोठामा ल्याएर महँगो महँगो रक्सीले नुहाइदेको! आधा किलो चिकेनमा झोल हाल्ने दिन गए केटा हो भनेर दुई किलो चिकेनको त रोस्ट नै बनाको! यस्तै यस्तै दिवास्वप्न देखियो। तर झल्याँस्स ब्युँझिएर बिपनामा ओर्लिँदा हाल उही। बेरोजगार! चुरोट पनि साथीले आधा पु-याएपछि ‘खै एक पफ ले त!’ भनेर माग्नुपर्ने !

‘जागिर खान थाल्यो भने पैसा समाउने लत बस्छ। पैसा समाउने हातले फेरि किताब कापी समाउन बिर्सिन्छ।’ कोही साथी यसो पनि भन्थे।’ पैसा खेलाउन थालेपछि पढाइसँग मोहभङ्ग हुन्छ।’ यसो भनेर थप्थे पढन्दास केटाहरु!

मलाई भने सबैका कुरा सही हुन् जस्तो लाग्थ्यो। रिजल्ट आएपछि डिग्री पढ्नुपथ्र्याे । जागिरले पढाइ छेक्यो भने नि। यसैको पिर पथ्र्यो।

जिन्दगीको गाडी यसैगरी गुड्दै थियो। एकदिन गाडीको छेवैको सिटमा एउटा साथी भेटियो। भाडा तिर्नुपर्ला भनेर होला नदेखे जसरी बसेको थियो। मैले कोट्याएर बोलाएपछि भने’ लौन! कताबाट भेट भयो यार!’ भनेर लेघ्रो तान्यो।
‘यसो घुम्न हिँडेको।’ मैले भनेँ।
‘के गर्दैछौ आजभोलि?’
‘केही गरेको छैन। डुकुलन्ठु !’
उसका आँखाले मलाई बिचरा भने जसरी हेरे। मानौं म यो देशको अन्तिम अभागी बेरोजगार हुँ।
‘तिमी त?’ आफ्नो हाल सोधेपछि उसको पनि सोध्नैप-यो।

‘ट्युसन पढाउँछु यार।’ उसको कुराले कतै छिसिक्क काँडा बिझ्यो।’ भ्याइनभ्याइ छ। बिहान दुईटा, बेलुकी तीन ओटा छ होम ट्युसन। नपढाउँ भने पनि कोठामै बोलाउन आउँछन् मान्छेहरु। दिक्क लाग्छ!’

अब त झन् उसका कुराले मनमा काँडा हैन त्रिशुल नै रोपियो। उसले दिग्दारी पनि यसरी सुनायो कि मानौँ ऊ गरिबहरुलाई एहसान गरिरहेछ।
‘ल यार ओर्लिने बेला भयो।’ गफ लगाउँदा लगाउँदै ऊ एक्कासि उठ्यो।
‘हुन्छ। म अलि पर हो।’

‘कार्ड छ तिम्रो? आइडी कार्ड?’ भाडा तिर्नलाई खल्तीबाट पैसा निकाल्दै उसले सोध्यो।
‘अँ, छ।’
‘मलाई त आजकल कार्ड बोक्नै अप्ठ्यारो लाग्छ यार। कमाउने मान्छेले पनि के नक्कली कार्ड बनाई–बनाई छुट माग्नु। लाजैमर्दो।’ यति भनेर उत्रिने बेलामा समेत उसले अर्को भाला रोपेर गयो। म मनमनै घाइते भएँ।

‘दुईजना। ऊ त्यो एउटाको कार्ड छ।’ ऊ खलाँसीलाई मतिर औंलो सोझ्याएर देखाउँदै थियो। मलाई भने खलाँसीले पनि खिस्याएर हेरिराजस्तै लाग्यो।
…………….
एकदिन बिहानै कसैले ढोका ढकढकायो। सिरकले नाकमुख सब ढाकेर सुतिरहेको थिएँ। को होला त यसरी निद्रा बिथोलेर ब्यूँझाउने? झनक्क रिस उठ्यो। ‘को हो?’ भनेर चिच्याएँ।
‘बाबु अझै सुतिरा’ छौ?’ घरबेटी आमै बोलिन्।
‘किन होला आन्टी?’
‘एउटा सल्लाह गर्नलाई।’
सल्लाह गर्ने भनेपछि त नउठि धर थिएन। तातो सिरक फ्याँकेर उठेँ। चिसोले अँगालो हाल्यो। सल्लाह के होला? कि भाडा बढाउन लागिन् बेला न कुबेला? हत्तपत्त थर्माकोटमाथि ज्याकेट भिरेर ढोका खोलेँ । बुढीआमै उभिरा’ रैछिन्। बुढी आमै त्यति बुढी नि हैनन्। हाम्रै आमाजस्ती पैंतालीस पचासकी।

‘हेर हेर विद्यार्थी मान्छे यतिबेलासम्म सुतिराको!’ ठ्याक्कै आफ्नै आमाले हप्काको जसरी पो हप्काइन् बुढीले। कीर्तिपुरका हरेक घरबेटी आमाहरुलाई डेरावाल विद्यार्थी आफ्नै छोराछोरी लाग्दा हुन्। यसैगरी पढे नपढेको, हल्लेर हिँडेको ख्याल गर्छन्।
‘आजकल पढाइ छैन आमा। फेरि यस्तो जाडोमा छिटो उठेर नि के गर्नु। ’
‘था’छ था’छ मलाई। अब सबेरै उठेर पढाउने।’
बुढीले के भन्या हो भनेर वाल्ल परेर हेरिरहेँ।
‘ट्युसन पढाउने हो? होम ट्युसन।’
मलाई त ‘ढुंगा खोज्दा देउता मिल्नु’ जस्तै भयो। बुढी आमैका खुट्टा तानेर ढोगम् जस्तो लाग्यो। उत्साहलाई काबुमा राखेर सोधेँ,‘कता? कसलाई पढाउनु पर्ने?’
‘मेरी साथीकी छोरीलाई।’
छोरीलाई सुनेबित्तिकै पेटमा काउकुती सल्बलायो!
‘आठ कक्षामा पढ्छे।’
‘आठ कक्षा’ सुनेपछि भने काउकुती थामियो।
‘पढाउने हो भाइ?’ बुढीले जोड गरेर सोधिन्। मैले हुन्छ भनेर मुन्टो हल्लाएँ।
‘के कसरी गर्ने हो, म फोन नम्बर दिन्छु। आफैँ गएर कुरा गर्नु।’
बुढीले नम्बर दिइन्। मैले टिपेँ। जाँदाजाँदै भन्न भ्याइन्, ‘पहिले पढाउने केटाले हात हालेर चल्ने, सुम्सुम्याउने कम्प्लेन आको भएर निकालेका रे! सोझो, इमानदार मास्टर खोजेका भएर मैले तिमीलाई भन्देको हो। मेरो अनि आफ्नो दुवैको इज्जतको ख्याल गर है?’
बुढी गइन्। मैले स्विकारोक्तिको टाउको हल्लाएँ।
…………….

ट्युसन पढाउने पक्का भयो। महिनाको पाँच हजारमा सहमति भयो। उनीहरु बिहान पढ्ने भन्दै थिए। मलाई भने यो जाडोमा बिहानको ओछ्यान छाड्न नसक्ने अवस्थाको बोध भयो। त्यसैले बिहान अन्तै क्लास छ, साँझ आउँछु भन्दिएँ। बाउ व्यापारी रै’छन्। अलि धेरै बाठो पल्टिनु पर्ने। आमा चाहिँ सोझी रै’छिन्। खासै नबोल्ने। विद्यार्थी फुच्ची भने नयाँ सरलाई देखेर दंग थिईन्। मुसुमुसु हाँस्दै थिइन्।

नयाँ जागिरले नयाँ रोमान्च पैदा गर्दै थियो। कुरा गरेको दिन पढाइनँ। अलि अलि किताबहरु, नानीका कापीहरु हेरेँ। दूध हालेको बाक्लो चिया पिएर फर्किएँ।

भोलिपल्ट साँझ भने पढाउने घर पुग्दा पाहुनालाई स्वागत गर्न बसे जसरी सपरिवार भेला भएका थिए। साह्रै अप्ठ्यारो लाग्यो। किन भेला भएका होलान् यतिका मान्छे? ट्युसन पढाउने मास्टर नै नदेखेको जसरी के हेर्न आएका होलान्? म चित खाएँ एकछिन!
‘आउनुस् सर आउनुस्।’ बाउ चाहिँले सोफा देखाउँदै बोलायो। गएर टुसुक्क बसेँ।
विद्यार्थी नानी मान्द्रोभरि बिस्कुन सुकाए जसरी गलैंचाभरि किताब कापी फिँजाएर बसेकी थिइन्। म बस्नासाथ छेउको सोफाबाट आमा चाहिँ उठिन्।

‘चिया ल्याउँ है ?’ यति भनेर उनी किचेनतिर कुदिन्।
‘पढ्ने कोठा कता होला ?’ मैले सुस्तरी सोधेँ।
‘यतै पढौँ सर। फराकिलो पनि छ। सजिलो पनि।’ बाउ चाहिँ बाठो पल्टेर बोल्यो।
यस्तो सबजना भेला भएको ठाउँमा बसेर कसरी पढाउनु? अप्ठ्यारो हुने निश्चित थियो। तैपनि भन्न भएन। एकान्त ठाउँ खोज्यो भनेर अनर्थ लगाउने पो हुन् कि?

सुरुक्क गलैंचामा ओर्लिएर पलेँटी मारेँ। विद्यार्थी नानीले गणित किताब सारिदिइन्। मैले ‘सेट’ बाट पढाउन सुरु गरेँ। लाम्चो सोफामा बसिरहेका दुईजना अपरिचित महिला र लोग्नेमान्छे ‘लाग्यौँ’ भनेर नमस्ते गरेर निस्किए। बाउ भने बुढो नमस्ते गरेको हात जोडेको जोड्यै गरेर ढोकासम्म पुग्यो।

आमाले भने मलाई मात्र चिया लेराइन्। बाक्लो दूध चियाले न्यानो बनायो। सेटका हिसाबहरु पनि मिले। विद्यार्थी नानी पनि रमाइन्। बाउ आमा पनि गजक्क परेर सोफामा हाँसिरहेका थिए।
…………….

‘यहाँ बसेर पढ्दा त अलि डिस्टर्ब होलाजस्तो छ है?’ एकदिन बाउ चाहिँले सोध्यो।
‘हजुर।’ म खिस्स हाँसेँ। मनमा त ‘बल्ल थाहा भो तँलाई?’ भन्न आएको थियो तर भनेँ, ‘यसरी बैठक कोठामा बसेर पढ्दा पढाइभन्दा पनि गफमा बढी ध्यान जान्छ।’

खासमा मलाई अति नै हिनताबोध भएको थियो। मान्छेहरुका अघिल्तिर बसेर पढाउँदा नर्भसनेस भएको थियो।
‘अब माथि स्टडीरुममै पढ्दा होलाजस्तो छ।’ बुढाले भन्यो।
म दङ्ग परेँ। के माथि स्टडी रुम बेग्लै छ? अनि किन यतिका दिनसम्म यो बैठक कोठामा पढाउन लगाएर मेरो तमासा बना’को? मलाई मनमनै रिस उठ्यो। तर रिस उठे पनि रिसाउन मिलेन। अर्काको काम गरेपछि त जति रिस उठ्यो त्यति नै सहनुपर्ने रै’छ। निच्च हाँस्नुपर्ने रै’छ। म पनि निच्च हाँसेर बोलेँ।

‘अर्को शान्त ठाउँ भए त्यतै बसेर पढौँ होला।’
एक हप्ता बैठक कोठामा सबैको अगाडि बसेर पढाएपछि म पास भएको थिएँ। मेरो आनीबानी, बोलीवचन र पढाउने तरिका मन परेर होला बल्ल पढ्ने कोठामा सरुवा भयो।
छतमा निकालिएको एउटै कोठा। भित्र भुइँमा बाक्लो कोरियन कार्पेट। एउटा डेस्क र दुई ओटा कुर्सी। भित्तामा ढेसिएको लाइब्रेरीजस्तो ठूलो दराज। दुईतिर झ्याल भएको ठूलो कोठा। यस्तो थियो स्टडी रुम।

भित्ताको घडीले पाँच बजेको देखाउनुभन्दा पाँच मिनेट अघि नै म स्टडी रुममा पुग्ने गर्थेँ। मभन्दा अघि नै विद्यार्थी नानी एउटा कुर्सीमा बसिरहेकी हुन्थिन्। डेस्कभरि फिँजाएकी हुन्थिन् किताब कापी। म उसको कापीमा कलम दौडाएर पढाउँथेँ। गणितका समस्या हल गर्थेँ। ऊ एकोहोरो कापीमा हेरिरहन्थी। बेला–बेलामा मेरो अनुहारमा पनि हेर्थी। निगरानी गर्न होला आमा चाहिँ पनि अकस्मात् आइ पुग्थिन्। कहिले चिया लिएर त कहिले पानी लिएर।

‘यसरी कमन लिने अनि माथिको र तलको काटेपछि यसरी एन्सर आउँछ।’ म उसको कापीमा अल्जेब्राको हिसाब गर्दै थिएँ। तल खुट्टामा केही चिजको स्पर्स भयो। मैले आफ्ना खुट्टातिर निहुरिएर हेर्नलाग्दा उसले स्वाट्ट आफ्नो खुट्टा पछाडीतिर सारी। उसको खुट्टाले झुक्किएर मेरा खुट्टा छोइए होलान्। यही ठानेर बेवास्ता गर्दै सोधेँ, ‘अब बुझ्यौ ?’
उसले कापीतिर हेरेर मुन्टो हल्लाई ।
‘अब आफैँ गर्न सक्छौ ?’
ऊ केही बोलिनँ। यसपटक त मुन्टो पनि हल्लाइनँ ।
‘एउटा आफैँ गर है त?’ कापीमा एउटा प्रश्न लेख्दिएर चियाको कप उठाएँ।
ऊ किरिमिरी लेख्न थाली। मैले लेख्दिएको प्रश्नमुनि फेरि त्यही प्रश्न लेखी। लेखिसकेको ठाउँमा फेरि डटपेनले गाढा बनाएर लेखिरही।
‘आउँदै?’ अलि कड्केर सोधेँ।
ऊ चुपचाप कापीमै हेरिरही। लाज माने जसरी मुस्कुराई।
…………….

पढाइमा कमजोर थिई मेरी विद्यार्थी। कापीमा हेर्थी तर उसका आँखाहरुले अक्षर देख्थेनन्। टोलाइरहन्थी। अक्षरहरु सुन्दर थिएनन्। तर सुन्दर बनाएर सजाउँथी किताब कापी। कसैले भनेको सही थियो, नपढ्ने विद्यार्थीकै किताब कापी नयाँ हुन्छन्। सायद उसको पनि यस्तै थियो।

एकदिन एक सुरले पढाउँदै थिएँ। कापीमा कलम दौडाएर बोल्दै थिएँ। कापीमा हेरेर ‘बुझ्यौ?’ भनेर सोद्धा जवाफ नआएपछि यसो मुन्टो उठाएर हेरेँ। कतिबेरदेखि हो एकोहोरो मेरो अनुहारमा हेरिरहेकी ऊ, एकाएक झसंग भई।
‘बुझेँ ।’ भन्दै कापीमा निहुरिएर हेर्न लागि। मलाई अप्ठ्यारो लाग्यो।

पढाइकै बीचमा आमा चिया लिएर कोठाभित्र पसिन्। टेबलमा कप राखिदिँदै सोधिन्, ‘कत्तिको ध्यान दिन्छे सर यसले ?’
कता लगाको ध्यानको बारे सोध्नुभाको तपाईंले? भनेर सोध्न मन थियो तर मनमै राखेर भनेँ, ‘ठिकै।’
‘मिसहरुले पढाको बुझ्दिन भन्छे। सर नै चाहियो भन्छे। सरले पढाको पनि नबुझे त पढ्न छोडे नि हुन्छ यसले अब।’
दिक्क मानेर आमा निस्किन्। छोरी भने मुसुमुसु हाँसी। म चुपचाप घोत्लिँदै थिएँ किताबमा। अब के पढाउने भनेर!
उही टेबल, उही कुर्सीहरू, उही पढ्ने मान्छे र उही पढाउने मान्छे। महिना दिन बित्ने तरखरमा थियो ट्युसनको। मेरी विद्यार्थी बिस्तारै घुलमिल हुन थाली। धेरै नजिस्किने भएर मसँग सुरु–सुरुमा डराउँथी। अब भने पढाउँदा दिइएका उदाहरणहरुमा खितखित गरेर हाँस्थी।
‘सर हजुरको फेसबुकमा के नाम छ?’ उसले सोधी।
‘किन चाहियो?’ म झर्किएँ ।
‘भनिस्यो न।’ उसले हेपेरै जिद्दी गरी।
‘म फेसबुक चलाउँदिनँ।’ मैले भनेँ।

‘खुब! झुट्टा।’ यति भनेर उसले प्याट्ट मेरो हातमा हानी र झसंग भएर टोलाई। उसलाई लाग्यो होला, जिस्किन नहुने मान्छेसँग जिस्केछु। ऊ जिब्रो टोकेर लजाई। उसको अनुहार अस्ताउन लागेको घामझैँ रातो भयो।

केही बेरको मौनता पछि हामी फेरी पढ्नतर्फ लाग्यौँ। तर मेरो मनमा हलचल पैदा भयो। उसको अघिको हर्कतले मेरो मन डरायो। लाग्यो, उही कुराको पुनरावृत्ति नहोस्। बल्ल–बल्ल पाएको यो ट्युसन पनि खराब आचरणको बात लागेर छोड्नु नपरोस्। त्यस दिनदेखि मैले उदाहरण दिँदा पनि विचार पु-याउन थालेँ। रमाइला कुरा गर्नै छोडेँ।
…………….

उसको जाँच आउँदै थियो। तर, उसले भन्दा धेरै मिहिनेत मैले गरेँ। असली परीक्षा त विद्यार्थीको भन्दा शिक्षकको हुने गर्छ। उसले कस्तो गर्ली? यही चिन्ताले सताउँथ्यो। नम्बर घटाई भने त अभिसाप नै भैहाल्यो। जस्ताको तस्तै भयो भने पनि ट्युसन मास्टरलाई अपजस। थोरै भए पनि नम्बर बढाइ दिए मैले पढाको देखिन्थ्यो कि? ट्युसन पनि स्थायी हुन्थ्यो कि? खुसी भएर पैसा नै पो बढाउँथे कि? यस्तै यस्तै सोच आउँथ्यो।

भयो पनि त्यस्तै। मेरी विद्यार्थीले पहिलेको जाँचमा भन्दा पाँच प्रतिशत अंक बढाइछ। सबै खुसी भए। मलाई पनि आफ्नो क्षमतामा गर्व लागेर आयो। आफ्नी विद्यार्थीमा गर्व लागेर आयो। अब त मेरो पनि क्षमताको परीक्षण भयो। ट्युसन पढाएको एक महिनामै यति राम्रो प्रगति सायदै हुन्छ होला।

अब अन्तिम परीक्षा आउन पनि धेरै समय थिएन। प्राइवेट बोर्डिङ न हो वर्षमा चार ओटा त परीक्षा नै लिन्छन्। त्यसमाथि बीच–बीचमा लिने टेस्टको त हिसाबै छैन युनिट टेस्ट, सरप्राइज टेस्ट, के–के हो के के!
दुई पटक पाँच–पाँच हजार तलब बुझेपछि अन्तिम त्रैमासिक परीक्षा आउने तरखर गर्दै थियो। विद्यार्थी नानीको स्वभाव देखेर मलाई जिस्किनबाट बच्थेँ । उसलाई पनि लाग्यो होला सर किन यतिविधि बोरिङ हुन थाल्यो?

काठमान्डुमा जाडो हराउँदै जानेबेलामा विद्यार्थीको मनमा चिसो पस्ने बेला सुरु भएको थियो। फाइनल एक्जाम भनेर केटाकेटीहरु पल्टाउँदा पल्टाउँदा धुजा धुजा हुन लागेका किताब वरिपरि बस्न थालेका थिए। यसैगरी बस्न थालेकी थिइन् मेरी विद्यार्थी, स्टडी रुममा।
आजकल स्टडी रुममा चिया पनि खासै आउँदैनथ्यो। कहिलेकाहीँ आइहाले पनि टर्रो कालो पानी आइपुग्थ्यो। ठ्यास्स कप राख्दिएर आमा चाहिँ भन्थिन्,
‘दूध सकिएछ। सरलाई मन पर्छ कि पर्दैन ?’
यो यस्तो प्रश्न थियो जसको उत्तर नदिए पनि सोध्नेलाई कुनै गुनासो थिएन। उनी वास्तै नगरी जान्थिन्। म कालो पानी पिउँथेँ।
…………….

अन्तिम परीक्षा सकिने अघिल्लो दिन मेरो ट्युसन जागिर सकियो। पैसाको हिसाब बुझेर निस्किने बेलामा अब कहिले पढाउन आउनुपर्ने हो भन्ने कौतुहलता मनमा थियो। झन् माथिल्लो कक्षा पुगेपछि अझै मिहिनेत चाहिएला। वैशाखमा कक्षा सुरु भएदेखि नै बोलाउने हुन् कि। यस्तै लागेको थियो। निस्किने बेलामा सोधेँ,
‘अब कहिले आउनुपर्ला त?’
बउ चाहिँले हडबडाएर भन्यो, ‘सरको नम्बर छँदैछ। फोन गरौंला नि है?’
म हस् भनेर निस्किएँ।

ट्युसन पढाएर अलि अलि भने पनि खल्तीमा पैसा बोकेर हिँड्न थालेको म आत्मविश्वासी भएको थिएँ। पैसाले गर्दा होला मेरो बोली पनि टाठो हुन थालेको थियो। पहिले जस्तो चाउरिएर बस्ने खालको थिइनँ।
एक दिन गाडीमा उही पहिलेकै साथी भेट भयो। सोचेँ, म पनि अब त कम छैन। यसको भाडा पनि मैले नै तिर्नुपर्छ आज! त्यही सोचेर कोट्याएर बोलाएँ।

‘ओहो ! के छ यार हालखबर?’ उसको उही स्टाइलमा चिच्यायो ।
‘ठिक छ।’ मैले भनेँ।
‘सधैँ गाडीमै जुर्दोरै’छ है हाम्रो भेट?’ उसले सोध्यो ।
‘अँ।’ मैले भनेँ।
‘के गर्दैछौ आजभोलि?’ बल्ल उसले मैले चाहेको प्रश्न सोध्यो।
‘ट्युसन पढाउँछु यार।’ म गमक्क परेँ।
‘यतिबेला पनि?’ उसले उत्सुक भएर सोध्यो ।
‘अहिले त भर्खर जाँच सकियो। अब नयाँ सेसन सुरु भएपछि…’ मैले भनेँ। ‘अनि तिमी?’
‘छोड्दिएँ।’ ऊ निराश भएर बोल्यो।
‘किन र?’
‘जाबो जाँच आउने बेलामा मात्र बोलाउँछन् पढाउन। अरुबेला खालि बस्नुपर्छ। अझ मास्टर पन्छाउने बहाना पनि हेर न। हात हालेर चल्यो रे ! चुरोट गनायो रे! दुई चार महिना मात्र ट्युसन राख्नु छ पैसाको लोभले। अनि आरोप चाहिँ यस्तो… दिक्क लागेर पढाउनै छोडेँ मैले त!’ साथी बोलिरहेको थियो। म टोहोलो परेर सुनिरहेको थिएँ।
‘ल गएँ यार।’ यति भनेर ऊ उत्रियो।
मैले ‘म भाडा दिन्छु’ भन्न खोज्दै थिएँ, उसले ढोका बाहिरबाट खलाँसीलाई पैसा दिएर मलाई चोर औंलाले देखायो।
…………….
ट्युसन पढाएर पैसा समाउने बानी परेको। खल्ती खाली हुन थालेपछि औडाहा हुन थाल्यो। आज बोलाउलान्, बोलाएनन्। भोलि बोलाउलान्, छैन। फोनकल कुर्दाकुर्दै बैशाख सकियो। जेठ गयो। असार पनि सकिन लाग्यो। लाजै पचाएर आफैँले फोन गरेँ।

‘सरले पढाएपछि छोरी आफैँ मिहिनेत गर्ने भा’की छ सर। आजकाल आफैँ ध्यान दिएर पढ्छिन्।’ बाउ चाहिँले भन्यो। छट्टु व्यापारीको घुमाउरो कुरा बुझ्न मलाई धेरै समय लागेन। मेरा लागि ट्युसन केवल चार महिनाको अनुभव मात्र भयो।
बर्खा सकियो। दशैं तिहार आयो, गयो। फेरि जाडो याम आयो। म मास्टर्स भर्ना भएर पढ्न थालेको थिएँ। एकदिन घरबेटी आमैले कुरैकुरामा भनिन्, ‘तिमीलाई पहिल्यै भन्या हैन, अलि ज्ञानी हुनु। मेरो पनि इज्जत राख्नु भनेर।’
‘के भन्नुभाको?’ नबुझेर सोधेँ ।
‘अझ के भन्नु भाको रे!’ बुढी रिसाइन्। ‘फेरि कोही ट्युसन पढाउने चाहियो भनेकी थिइन् साथीले। मैले मेरो घरमा बस्ने पोहोरकै भाइ छ नि साइन्स पढेको मान्छे भन्देको थिएँ। ऊ त रिसाइ।’
‘किन र आमा?’ मलाई पिर प–यो ।
‘हात हालेर चल्थ्यौ रे त त्यो छोरीसँग। टेबुलमुनिबाट खुट्टाले छुन्थ्यौ रे! फेसबुकमा च्याट गरौँला भन्यौ रे!’ बुढी बोलिरहिन्। म मूर्तिवत् भएर सुनिरहेँ।

‘झन् सोझो भन्यो, झन् घुसघुसे हुने। बुढी अझै फतफताइरहेकी थिइन्। म टोलाइरहेको थिएँ।
‘यस्ता गलत नियत भा’को मान्छे बस्नुपर्दैन। खुरुक्क कोठा खाली गर्दिनु।’ यसो भनेको पनि धमिलो–धमिलो सुनेको थिएँ। हो कि हैन, थाहा भएन। कान डम्म भएको थियो।
केही दिनमा घरबेटी आमैसँग दोहोरो कुरा नै नगरी कोठा सरेँ।