एकान्तवासको म मान्छे !

  • अजयदीप शर्मा

म मान्छे
म भित्र ज्ञान,चेतनाको भव्यता छ
त्यसको प्रयोगले म विराट छु
र, त यो पृथ्वीको मालिक भएको छु
मैले यहाँ के गरेन ?
पानीमुनि र जमिन माथि
वस्ती बसाएन कि ?
मंगलग्रह र चन्द्रमामा मान्छे पु¥याएन कि ?
मलाई सघाउने रोवोट मैले आफै तयार पारे
मलाई सुखी बनाउने बैभव मैले आफै उमारे
मैले उछन्नु थियो यो प्रकृतिलाई पनि
चन्द्रमाको प्रकाशसम्म निकालि देखाए
मेरो कल्पनाले सोचे जति
सबै सम्पन्ताले भरिदिए यो भूगोललाई
र त यो पृथ्वीमा अधिपत्य जमाए
सर्व, शतिmमान म मान्छे
यहाँको हावापानीमा समेत मैले कब्जा जमाए
तर अपसोच !
आज म एउटा कोठा भित्र छु
झयालको एउटा चिराबाट
च्याइरहेको छु विज्ञानका यी दुर्दिनहरुलाई
सोचेको थिएन मैले
मेरा कपालका रौं भन्दा साना
भाइरसले मलाई यसरी हल्लाइदेला भनेर
पत्याएको थिएन मैले
यस्तो भाइरसले
मलाई यसरी गलाउला भनेर
यो पृथ्वीको दिग्विजयी मान्छे
म कसरी आफै एकान्तवासमा पुगे ?
आज म मेरो इतिहासकै त्रास बोकेर घरभित्र बाँचेको छु
बाहिर मेरा निर्मित सम्पदाहरु मौन उभिराखेकाछन् ।
मेरा आर्जित सबै भौतिक सम्पन्ता र वैभवहरु
छिन्न भिन्न भएकाछन
मेरा लाशहरुलाई अंगालो मारेर
मेरो सभ्यता रोइरहेको छ ।
मेरा चेतनाबाट सिर्जित
यी अनुपम विशालताका भण्डारहरु
सबै रितिदै रितिदै जान थालेकाछन ।
आज मेरो लाशसँगै मेरो अभिमान पनि जलिरहेको छ
र मुर्झाएको छ म भित्रको मान्छे
म भित्र बस्दा,बस्दै आफैभित्र पसेको छु
बाहिर कुद्दा,कुद्दै
पुरिएका र भासिएका
मेरा सम्वेदनाहरुलाई ब्युझाएको छु
यो वेला एउटा भाइरसले
म, मान्छेलाई नयाँ सभ्यता सिकाइदिएको छ
बाहिर म सवार सामाज्यलाई
मेरै एकान्तवासको मनले ग्म्ल्याङ गुम्लुङ ढलाइदिएको छ
मिति : २०७६/१२/२४
स्थान : आफनै घरको एकान्तवास ।

प्रकाशित मिति: April 06, 2020