उवासंघमा व्यवसायीक नेतृत्व आवश्यक

सम्पादकीय

दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन नजिकिदै गर्दा व्यवसायीहरुबीच नेतृत्व प्राप्त गर्ने दौड शुरु भएको छ ।
अघिल्लो साता चेतना अनलाईनले सतहमा देखिएका केही आकांक्षिहरुको वारेमा विश्लेषनात्मक समाचार प्रकाशन गरे पछि यसका वारेमा थुप्रै प्रतिकृयाहरु फोन, फेसबुक र व्यक्तिगत रुपमा आइरहेका छन् । केही व्यक्तित्वहरुले समाचारलाई सन्तुलित भएको प्रतिकृया दिनुभएको छ भने केहीले अमुक व्यक्तिलाई उचालेको अथवा अनावश्यक रुपमा केही व्यक्तिलाई स्थापित गर्न खोजेको भनेर प्रतिकृया दिनुभएको छ । हामी आम पाठकहरुको चाहना अनुरुप सकेसम्म स्वतन्त्र र निष्पक्ष रुपमा समाचार दिने प्रयास गरिरहेका छौं ।
अनलाईन पत्रकारीता हाम्रो लागि नयाँ भएकाले हामीमा केही त्रुटीहरु पनि हुन सक्छन् । हामी आम पाठकको सल्लाह सुझाव अनुसार अघि बढ्ने नै छौं । अनलाईन पत्रकारीतामा हामी नयाँ भए पनि समग्र पत्रकारीतामा नयाँ भने होइनन् ।

स्वतन्त्र र निष्पक्ष पत्रकारीताको वारेमा हामीले राम्रोसँग बुझेका छन् । यहाँहरुको चिन्तालाई हामीले सहज रुपमा ग्रहण गरेका छौं । निजि क्षेत्रको सबैभन्दा ठूलो संस्थाको अधिवेशनको विषयमा आम जनताले चासोका साथ हेरेका छन् ।
हामी मिडियाकर्मीहरुको पनि त्यसतर्फ चासो जानु स्वभाविक हो ।

मुलक संविधान कार्यान्वयन पछि अहिले आर्थिक समृद्धिको बाटोमा अघि बढेको छ । अहिले निजी क्षेत्रको भूमिका पनि बढेको छ । नेपाललले राजनीतिक परिवर्तनका लागि करिव सात दशक विताइसकेको छ ।
अब हामी आर्थिक समृद्धितर्फ जानै पर्छ । यसका लागि निजि क्षेत्रको नेतृत्वले राज्यसँग उचित समन्वय गरेर नयाँ योजनाहरु दिन जरुरी छ । २०४६ साल पश्चात मुलुकले निजि क्षेत्रको अस्थित्वलाई पूर्ण रुपमा स्वीकार गरेको छ । यसको अर्थ यो होइन की मुलुक निजि क्षेत्रकै भरमा चल्नुपर्छ ।
राज्यका केही आधारभूत भूमिकाहरु छन् । राज्यले आम नागरिकलाई न्यायोचि रुपमा संविधानले प्रदान गरेको अधिकार दिलाउनुपर्छ । मौलिक अधिकारहरु राज्यले दिनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख हुँदा हुँदै अहिले तत्काल कार्यान्वयन भइहाल्ने अवस्था छैन ।
मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा निजि क्षेत्रले नै धानेको छ । निजि क्षेत्रको सहकार्य विना राज्यलाई अघि बढ्न सजिलो हुने छैन ।
दाङ पश्चिम नेपालको आर्थिक केन्द्र बनिरहेको छ । पछिल्लो समय यहाँ ठूला लगानीका उद्योगहरु खुल्ने क्रममा छ । पाँच नम्वर प्रदेशको राजधानीको रुपमा प्रस्ताव गरिएको दाङमा पूर्वाधार निर्माणको काम अपेक्षाकृत रुपमा हुन सकेको छैन । निजि क्षेत्रको भूमिका अहिले दाङवासीले धेरै खोजेका छन् ।
उद्योग वाणिज्य संघको नेतृत्व साना तिना कागजि काममा अल्झनु हुँदैन । हामीले लगानीका सम्भाव्यताहरु अध्ययन गरे ठूला राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानी भित्र्याउनुपर्ने छ । स्थानीय तहको निर्वाचन नभएको अवस्थामा जनप्रतिनिधिहरुले गर्ने कामहरुको विषयमा निजि क्षेत्रले चासो दिइरहेको थियो । अब निजि क्षेत्रले हामी विकास निर्माणमा यस्तो गर्छौं भनेर विकासे प्रचार गर्न आवश्यक छैन ।
निजि क्षेत्रले विशुद्ध व्यवसायीक तथा सामाजिक काममा हात हाल्नुपर्छ । अब फेन्सि पसल र व्यूटीपार्लर उद्घाटन गरेर निजि क्षेत्रको नेतृत्व सफल भएको मान्न सकिदैन ।
दलगत लगाम बोकेका व्यक्तिहरुले बास्तविक रुपमा सच्चा नेतृत्व गर्न सक्दैनन् । बास्तविक उद्योगी तथा व्यवसायीहरु नेतृत्वमा आउन जरुरी छ । नेतृत्व चयमा सहमतिको प्रयास पहिलो प्राथमिकता हो ।
यदि सहमति नभएको खण्डमा लोकतान्त्रिक पद्द्धिबाट आम व्यसायीले आफ्नो नेतृत्व चयन गर्नुपर्ने छ । अब अकांक्षि सबै उम्मेदवारहरुले आँफूले गर्ने तीन वर्षे कार्ययोजनका साथ व्यसायीहरुसँग भोट माग्न जानुपर्छ ।
उवासंघको नेतृत्वमा वास्तविक व्यवसायीहरु नै आउनुपर्छ । कानुनि रुपमा सदस्य भएकै भरमा व्यवसाय नबुझेको व्यक्ति नेतृत्वमा आउनुहुँदैन । यसका लागि आम मतदाता व्यवसायीहरु सचेत हुन जरुरी छ ।

प्रकाशित मिति: July 24, 2017