अवैध सम्बन्धले देखाइरहेको अपराधको बाटो, विलासीता र सुखको रहरले जेल जाने युवतीहरू

अवैध सम्बन्धले निम्त्याउने आपराधिक घटनाले नेपाली समाजमा पछिल्लो समयमा डरलाग्दो चित्र देखाइरहेको छ । पारिवारिक समस्याको चाङ त थपेकै छ, सामाजिक चित्र र चरित्रको चाङ पनि असामान्य हुन थालेको छ । यस्ता सम्बन्धपछिका आपराधिक कर्ममा संलग्नहरू ढिलोचाँडो कानुनको कठघरामा उभिए पनि यसले विश्वास र इमानदारीताको पनि ‘हत्या’ गरिरहेको छ । विलासिता र रहरको जीवनको लोभले निदोर्षहरूको हत्या भइरहेको छ ।

जाजरकोटकी १९ बर्षिया सविता पुनलाई जिल्ला अदालतले अवैध सम्बन्धबाट बच्चाको जन्म दिएर हत्या गरेको ठहर गर्दै जन्मकैदको सजाय सुनायो । डेरामा बस्ने सविताले गएको २६ वैशाखमा अवैध शारिरीक सम्बन्धले बनेको बच्चाको जन्म दिइन् र हत्या गरी प्लाष्टिकको थैलोमा पोको पारेर भेरी नदिमा फालिन् ।

शारदा गैरे, लेखिका

यो एउटा उदाहरण मात्र हो । प्रायः विपन्न परिवारका युवती सहरबजारमा बस्ने र आरामको जीवन विताउने चाहनाले परपुरुषसँग अनैतिक सम्बन्धको परिणामलाई लुकाउन आफ्नै सन्तान हत्याका लागि उद्दत हुन्छन् । यस्तै कारणले उनीहरू आफ्नो जीवन समेत बर्बाद बनाइरहेका छन् ।

केही दिन अघि काभ्रेको एउटा घटनाले समाजको चित्रलाई छर्लङ्ग बनाउँछ । २० असारमा बालिका एलिसा तामाङको हत्या भयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको हो । २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीया मिना तामाङ्लाई एलिसाले बाख्राको खोरमा आपत्ति जनक अवस्थामा देखेकै कारण ज्यान गुमाउन पर्यो । पोल खुल्ने डरले लगत्तै दुई मिलेर बालिकाको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाउँछ ।

किन हुन्छन् यस्ता घटना ? आजभोली यस्ता अपराधीक घटना बढनुको अर्को कारण भने मोबाइल र फेसबुकको चिनजानलाई पनि प्रमुख मानिएको छ । घरमा श्रीमती र छोरा छारी हुदाँहुदै पनि श्रीमान् विदेश हुनेका श्रीमतीसँग फेसबुकमा रमाउने र अनैतिक सम्बन्ध बनाउने फेसन बनिसकेको छ । महिला स्वयम् स्वार्थका लागि परपुरुषसँग सम्बन्ध राख्न उद्दत भएको देखिन्छ ।

अछाम तुर्माखाँद गाउँपालिका–४, तुर्माखाँद गाउँकी १९ वर्षीया जमुना रावल पनि प्रहरी फन्दामा परिन् । अवैध यौन सम्बन्ध महंगो सावित भएको छ उनलाई । कक्षा १२ मा अध्ययनरत अविवाहित जमुनाले अवैध यौन सम्बन्धबाट जन्मेको नवजात शिशु छोरालाई दुल्लू नगरपालिका–४, बारतडी भन्ने ठाउँमा माटोमा गाडेको खुलेपछि ती दुल्लूबजार डेराबाट प्रहरीले पक्राउ गरेको थियो ।

घर लिप्ने माटो खन्दै गर्दा स्थानीय महिलाहरूले मृतअवस्थामा गाडेको नवजात शिशुको टाउकोको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही खबरको आधारमा अनुसन्धानपछि नवजात शिशुको आमा जमुना रावल भएको खुलेको थियो ।

जतिनै लुकाउन खोजिए पनि अपराध बाहिर ल्याउन प्रहरी सक्षम देखिन्छ । यस्ता अपराधमा युवतीहरूको संलग्नताको सूची असाधारण हुन थालेको छ । कैलाली, कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि लक्ष्मी बडेलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरिन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्यो ।

तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही रातीदेखि तेजबहादुर वेपत्ता भए । सुरुमा आफन्तले खोजी गर ेपनि फेला नपरेपछि दुई दिनपछि १० असारमा प्रहरीलाई खबर गरे र घटना पत्ता लाग्यो । उनले प्रेमीसँग मिलेर श्रीमानको भीरबाट खसालेको बयानमा स्वीकारिन् ।

दाम्पत्य जीवनमा तेस्रो व्यक्तिको प्रवेश र रहरका कारण अपराधको श्रृङ्खला बढीरहेको छ । वीरगञ्जमा श्रीमान विदेशमा गएपछि श्रीमती परपुरुषको प्रेममा पर्छिन् । जब श्रीमान फर्किन्छन्, श्रीमती र उनको प्रेमीले मिलेर हत्या योजना बनाउँछन् । वैदेशिक रोजगारी गरेर फर्किएका उमेश चौरसिया माथि गोली प्रहार हुनुको कारण त्यहि थियो ।

अनमी समेत रहेकी उमेशकी श्रीमती प्रियंका र अपोले ट्रमा सेन्टर वीरगञ्जमा कार्यरत सीएमए विकेन्द्रकुमार गुप्ता नजिकिए । जब उमेश घर फर्किए, प्रियंकाले प्रेमी विकेन्द्रसँग मिलेर श्रीमान्को हत्या गर्ने योजना बनाएको प्रहरीले पत्ता लगायो ।

कतिपय सोझा महिलालाई फसाउन पुरुषहरूलाई फोन र फेसबुक राम्रो माध्यम बनेको छ । कतिपय महिलाहरू आप्mनो फाइदाका लागि श्रीमानलाई विदेश पठाएर परपुरुष संग नजिकिएर मोजमस्तीमा रमाउने गरेको पाइन्छ ।

सामाजमा बढेको यस्तो अपराधको घटना न्युकिरणका लागि प्रहरीले सामाजिक सञ्जाल र सम्बन्धका कसीलाई आफैंले संयमताका साथ उपयोग हुनु जरुरी रहेको ठान्छ । अर्धशिक्षित नेपाली समाजमा आवश्यकता र रहरका कारण खुलेको आपराधिक बाटोलाई नियन्त्रण गर्ने नियमन सोच, विचार र ज्ञानकै तहमा निर्भर हुन्छ । यस्ता सम्बन्धले निम्त्याउने अपराधको चित्रलाई हेरेर पनि संयमित हुन आवश्यक देखिन्छ । अन्यथा एउटा भनाई छ– गोप्यता र झूठले सम्बन्धको हत्या गर्छ, जति चलाख भए पनि त्यसको तथ्य सतहमा आएरै छाड्छ । यसथै सचेत समाजको परिकल्पना सबैले गर्नैपर्छ ।