अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ पर्यो

काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो उनको गोदावरीस्थित निवासमा चट्याङ परेको हो ।

चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको छ । चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताइन् ।

‘म घरमा माथिल्लो तलामा मिटिङमा थिएँ, तल बिजुली चम्किएर आवाज आयो ।’ करिश्माले भनिन्, मैले करेण्ट सर्टेज भएको होला भन्ने सोचेको थिएँ तर होइन रहेछ ।’ उनले थपिन्, ‘चट्याङले रुख चिरा पारेको छ, त्यो देख्दा म अच्मममा परेँ ।’

चट्याङ बुझौँ, चट्याङबाट बचौं

एकथरी मान्छेमा चट्याङ पर्दा हलोको फाली जस्तो फलामको वस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन। अर्काथरी मान्छेमा ठूलो आवाज जहाँ खस्छ, त्यहीँ नै चटयाङ पर्छ भन्ने धारणा छ। यो कुरा केही मात्रामा ठिक हो तर भन्ने तरिका गलत हो।

तथ्य के हो भने जब बादलबाट माइनस चार्जको विशाल लहरो पृथ्वीमा आउँछ, यो एउटा कुलो जस्तो बाटो बनाएर आउँछ। पृथ्वीमा झरेपछि सिद्धिन्छ।

आखिर आकासबाट आउने यस्तो विद्युत कुनै जलविद्युत केन्द्र वा आणविक भट्टीबाट जस्तै लगातार आइराख्ने त होइन। चार्ज भयो, आयो, सिद्धियो। तर जब यस्तो विद्युत जमिनमा जान्छ, त्यो विद्युत आएको कुलो रित्तो हुन्छ।

अनि त्यो रित्तो कुलोको भाग ओगट्न दायाँबायाँका चार्ज बोकेका बादल त्यहाँ हाम्फाल्छन, एकापसमा ठूलो जोडले ठोक्किन्छन् र त्यस्तो ठुलो आवाज आउँछ।

आवाज करेन्ट होइन। आवाजले प्राणी मर्दैन तर बहिरो हुन सक्छ, झ्यालढोकाका सिसा भने फुट्न सक्छन्।

कसरी सुरक्षित हुने ?

चटयाङबाट पूर्ण सुरक्षित त हुन सकिन्न, तर अलिकतिमात्र सावधानी अपनाए धेरै हदसम्म बच्न सकिन्छ। आफ्नै टाउकोमाथि काला-काला चुकजस्ता बादलले आकास ढाकी गड्यांगगुडुंग गर्दै बिजुली चम्केको बेला हातधुने, भाँडा माझ्ने, कपडा धुने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, फोन कम्प्युटर चलाउने, झ्यालढोकाको नजिक तथा छतमा बस्ने गर्नु हुँदैन।

घर बाहिर भएमा पनि तुरुन्त बलियो भवन, गाडी आदिभित्र गई झ्याल ढोका बन्द गर्नु सुरक्षित हुन्छ। खालि खुट्टाले जमिन, धातु आदिमा टेक्नु हुँदैन। फलामका कब्जा, चेन भएका ब्याग बोक्नु हुँदैन।

तारबार, पोखरी नजिक जानु हुँदैन। ठूलो रुख र अर्को मान्छेभन्दा कम्तिमा १५ फिट टाढा रहनु पर्छ।

अझ आङ जिरिङ भै रौँ ठडिने शरीरमा केही चिजले घोचे जस्तो महसुस भयो भने त अब छिट्टै चटयाङले हान्दैछ भन्ने बुझी तुरुन्तै टाउकोमाथि हात राखी कुइना र घुंडाले टेकी घोप्टो पर्नु पर्छ। लेट्नु भने हुँदैन, त्यसो गर्दा झन् सिधै आफैमाथि पर्न सक्छ।