अन्तरिक्षमा भेटियो राक्षसी भुमरी, ‘कालो छिद्र’अर्थात् ब्ल्याक होल

काठमाडौं : अन्तरिक्षमा एउटा यस्तो राक्षसी भुमरी छ– जसले जे भेट्टायो त्यही निलिदिन्छ। अध्येताहरू भन्छन्– मौका पाए यसले सूर्य नै खाइदिन्छ। त्यो भुमरी कालो छिद्र अर्थात् ‘ब्ल्याक होल’ बारे थाहा भएको वर्षौंपछि बल्ल तस्बिर लिन वैज्ञानिकरू सफल भएका छन्।

यस क्षणलाई उनीहरूले हर्षोल्लासपूर्वक मनाएका छन्। खगोलविद्हरूले बुधबार ८ ठाउँमा पत्रकार सम्मेलन गर्दै ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर संसारभर सार्वजनिक गरे। ब्ल्याक होल सिद्धान्तलाई स्टेफेन हकिङले विस्तृत व्याख्या गरेका थिए।

उनले सन् १९९३ मा ‘द बिग ब्याङ एन्ड ब्ल्याक होल्स’ र ‘ब्ल्याक होल्स एन्ड बेबी युनिभर्सेज’ नामक दुई पुस्तक प्रकाशन गरेका थिए। मार्च १४ सन् २०१८ मा ७६ वर्षको उमेरमा हकिङको निधन भएको थियो।

ब्ल्याक होलमा अत्यधिक गुरुत्वाकर्षण छ। नक्षत्रले २० वर्षमा यसको परिक्रमा गर्छन्। यसको आकर्षण क्षेत्रमा रहेका केही पनि जोगिन सक्दैनन्। ब्ल्याक होलको चारैतिर एउटा सीमा क्षेत्र हुन्छ। त्यसलाई क्षितिज भनिन्छ। क्षितिजमा कुनै चिज पसिगए फिर्ता आउन सक्दैन।

अरु त छाडौं, प्रकाशलाई पनि यसले निलिदिन्छ। हालसम्मका अनुसन्धानमा ठुल्ठूला ताराको जीवनचक्र सकिएपछि उनीहरू ब्ल्याक होलमा परिणत हुने बताइएको छ। यो तस्बिरले अल्बर्ट आइन्स्टाइनको ‘थ्योरी अफ रिलेटिभिटी’ सिद्धान्तलाई चुनौती दिने भएको छ।

यसअघि ब्ल्याक होलको स्वरूप खगोलविद्हरूको कल्पनाको आधारमा मात्र थियो। तस्बिरले अन्तरिक्ष विज्ञानको क्षेत्रमा महान् उपलब्धि दिलाउनुका साथै कैयौं सिद्धान्तमा पुनः विचार र अध्ययनका लागि समेत राम्रो अवसर प्रदान गर्ने बताइएको छ।

ब्ल्याक होलको तस्बिर इभेन्ट होराइजन दूरबीनबाट खिचिएको थियो। यो दूरबीन संसारका ६ स्थानमा जडान गरिएको छ। उक्त दूरबीन ब्ल्याक होलको तस्बिर खिच्न बनाइएको हो। दूरबीन अमेरिकाको हवाई र एरिजोना, स्पेन, मेक्सिको, चिली र दक्षिणी ध्रुवमा राखिएको छ।

यी सबै दूरबीन जोडेर निकै शक्तिशाली आभासी (भच्र्यूअल) टेलिस्कोप बनाइएको छ। ती दूरबीनबाट प्राप्त तथ्यांक सुपरकम्प्यूटरमा संग्रह गरिन्छ। ब्ल्याक होल खोजी कार्यमा सन् २०१२ देखि २ सय वैज्ञानिक सहभागी थिए।

यूरोपीय अन्तरिक्ष संस्था (इसा)का खगोलविद् एवं ब्ल्याक होलका विशेषज्ञ पल म्याक्नमाराले भने, ‘विगत ५० वर्षभन्दा बढी समयदेखि वैज्ञानिकहरूले हाम्रो आकाशगंगाको केन्द्रमा कुनै चम्किलो वस्तु देखेका थिए।’

इभेन्ट होराइजन दूरबीनका निर्देशक एवं हार्वर्ड विश्वविद्यालयका वरिष्ठ अन्वेषक शेपर्ड डोलम्यानले भने, ‘ब्ल्याक होल पूरै ब्रह्माण्डका लागि सर्वाधिक रहस्मय वस्तु बनेको छ। हामीले यसलाई देख्न पाउँछौं भन्ने पनि सोचेका थिएनौं। आज यसको तस्बिर पनि सार्वजनिक गर्‍यौं।’

भौतिक अस्तित्वमा छ त ब्ल्याकहोल ?

ब्ल्याकहोल अध्याँरो गुरुत्वको केन्द्र हो । यो आफैमा गुरुत्व बल हो । यो यति सघन भएर कसिएको हुन्छ कि यसमा अथाह गुरुत्वाकर्षण रहेको हुन्छ । ब्ल्याक होल आँफैमा भयंकर ठूलो स्पेसमा फैलिएको पनि हुन्छ । यसलाई अहिलेसम्म आकाशमा वा अन्तरिक्षमा हुने गरेको मानिएको मानिएको थियो । करोडौं तारा रहेको तारापुञ्ज नजिकमा ब्ल्याकहोल हुने गरेको अन्तरिक्ष वैज्ञानिकको भनाइ यस अघि विभिन्न वैज्ञानिकहरुले बताउदै आएका पनि थिए ।

अन्तरिक्षमा रहेका जस्ता ब्ल्याकहोल पृथ्वीमा रहने गरेका वा रहेका देखिएका त छैनन् । तर, कहिलेकाहीँ रहस्यमय रूपमा जहाजहरू हराएका कथा र परिकल्पनाहरू सुनिने गरिएका छन् । पृथ्वी पनि आँफैमा भौतिक वस्तु भएकाले यसमा पनि ब्ल्याकहोलका ती भौतिक गतिविधि भने देखिने गरिरहेका हुन्छन् तर मात्र सांकेतिक र क्षणिक रूपमा । ती भनेका महासमुद्रमा सुनामी आउँदाका बखत पानीको छालको उचाइ र गतिअनुसार बन्ने र देखिने ब्ल्याकहोलहरू तथा समुद्र पानीमाथि, मरुभूमि र हजारौं किलोमिटरसम्मका समथर ठूला मैदानमा घण्टौं चल्ने आँधीहुरीभित्र बन्ने र देखिने ब्ल्याकहोलका संकेत हुन् ।

समुद्री तटमा रहेका सहरमा कहिलेकाहीँ ठूलाठूला माछा घाम लागेका बेलामा आकाशबाट वर्षा भएझैं खस्ने वा वर्षने गर्दछन् । समुद्रमा पहाड वा हिमालजस्ता ठोस अवरोधकको उपस्थिति नहुने भएकाले बिनारोकतोक आँधीहुरी बहने भएकाले कहिलेकाहीँ समुद्रको पिँधसम्मको पानी नै भयंकर हुरीको भुमरीले उठाएर र सोहरेर आकाशमा पु¥याउँछ ।

पिँधको पानीसँगै सार्क,ह्वेल, सिलजस्ता ठूला माछा पनि पानीसँगै आकाशमा पुग्छन् र पृथ्वीमा झर्ने वा बर्सने गर्दछन् । यो आँधीहुरीका कारण बनेको ब्ल्याकहोलले ल्याएको हो ।
पृथ्वीजस्तो सानो आकाशीय पिण्डमा त यसो हुन्छ भने अथाह ठूलो अन्तरिक्षमा रहेका ब्ल्याकहोल कति शक्तिशाली होलान् ?

ब्ल्याकहोल अन्तरिक्षमा रहेका गुरुत्वका केन्द्र हुन् । ती आँफैमा प्रकाशविहीन हुनाले देखिँदैनन् । प्राकृतिक प्रकाश पनि त्यहाँ पुग्न सक्दैन, कृत्रिम प्रकाशको त कुरा नै नगरौं । ब्ल्याकहोलनजिकमा जब पदार्थ वा कुनै पिण्ड पुग्छ, यो निकै गतिवान्, तातो र उज्यालो भई सकिन्छ ।

यस अघि हामीले अन्तरिक्षमा देख्ने आकाश गंगा, तारा पुञ्ज वा तारामण्डलबीचमा ब्ल्याकहोल हुन सक्ने वैज्ञानिक आशंका गरिरहेका थिए । यसको खोजी त निकै भइरहेको छ । तर, ब्ल्याकहोल आफैंमा कालो र प्रकाशविहीन हुने भएकाले यसलाई देख्नेभन्दा पनि अनुसन्धानात्मक आँखाले ठम्याएको मात्र हो । वैज्ञानिकहरूले यति मात्र भन्न सकेका छन् कि पृथ्वी यस्ता ब्ल्याकहोलको छिमेकी भएर बसेको छैन र यसलाई कसैले पनि तानेर सिध्याउन सक्दैन ।

वैज्ञानिकको तर्क त के पनि रहेको छ भने ताराहरू आफैंमा बनेका र जन्म भएका हुन् । यो ब्रह्माण्डका हरेक कुरा एक अर्कामा रूपान्तरण हुन्छन् । रूपान्तरण भनेको एउटा गुण र स्वरूपमा जन्मनु कुनै कालखण्डपछि अर्को गुण र स्वरूपमा बदलिनु अर्थात् जन्मनु र मर्नु हो । ऊर्जावान र प्रकाशवान् तारा पनि नाशवान् छन् । यिनै ताराहरूको ऊर्जा र प्रकाश सिद्धिएर ब्ल्याकहोल बन्न पुगेको भनी वैज्ञानिकले तर्क गरिरहेका छन् ।

वैज्ञानिकका अनुसार यी ब्ल्याकहोल अन्तरिक्षमा धेरै रहेको अनुमान गरिएको छ । यी कुनै कुनै हाम्रो सूर्यभन्दा लाखौं गुणा ठूला रहेका मानिएको छ भने कुनै कुनै केही टन मात्र पिण्ड भएका पनि मानिएका छन् । कतिपय त ठोस नभई ग्याँसका ब्ल्याकहोल रहेको पनि बताइएको छ ।
ब्ल्याकहोल एक्सरे अन्तरिक्ष यन्त्रहरू प्रयोग गरिएपछि मात्र पछिल्लोपटक पत्ता लागेका तथ्यहरू हुन् ।

नजिकको उदाहरणमा पछिल्लोपटक एक्सरे अन्तरिक्षको सफल र व्यावहारिक प्रयोग चीनले गरेको छ । यो प्रयोग चन्द्रमामा भर्खरै चीनले पठाएको र पृथ्वीबाट देखिने चन्द्रमाको उज्यालो भागको उल्टोतिर अँध्यारो भागमा गरेको छ । त्यहाँ अहिलेसम्म अमेरिका र रसियाले पनि एउटासम्म यन्त्र पठाउन र अवतरण गराउन सकेका छैनन् ।

यो शक्तिशाली एक्सरे अन्तरिक्ष यन्त्रका कारणले सम्भव भएको हो ।पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याकहोल १ हजार ६ सय प्रकाश वर्ष टाढा रहेको अनुमान गरिएको छ । ब्ल्याकहोल आफंैमा एक रहस्यको खोजी हो । तर, यो भौतिक अस्तित्वमा छ ।