अदुवा निकासीमा भारतको फेरि अवरोध- बारी र गोदामै कुहिँदै, करोडौंको क्षति

हेटौंडा — नेपाली अदुवाको निकासीमा भारतले फेरि रोक लगाएको छ । भारतमा पुग्ने चीनका अदुवामा विषादी भेटिएको भन्दै उसले यहाँको अदुवा पनि रोकेको हो । दुई सातादेखि निकासी रोकिँदा किसानहरू मर्कामा परेका छन् । यसबेला अदुवा उत्पादनको मुख्य समय हो । तर, मुख्य सिजनमै बजार नपाएपछि कृषकहरूले बारीमै र व्यापारीहरूले गोदाममा थन्काएका छन् ।

कतिपयले बोरा र गोदाममा भण्डारण गरी राखेको अदुवा कुहिन थालेको छ । केहीले बारीबाटै झिकेका छैनन् । बारीबाट अदुवा खनेकाहरूलाई भण्डारणको समस्या छ । सबैलाई पुग्ने गोदामको अभाव पनि छ । एक तथ्यांकअनुसार मकवानपुरबाटै मात्र ९५ प्रतिशत अदुवा भारत निकासीहुने गर्छ ।

मकवानपुरस्थित नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघले करोड रुपैयाँको अदुवा निकासी नहुँदा किसान मर्कामा परेको जनाएको छ । संघको मकवानपुर अध्यक्ष गोपाल गौतमले दुई सातादेखि निकासी रोकिएकाले व्यापारी र कृषक दुवै समस्यामा परेको बताए । उनका अनुसार मकवानपुरमा मात्रै वार्षिक करिब ५ देखि ७ हजार टन अदुवा उत्पादन हुने गरेको छ ।

जिल्लामा उत्पादित ९५ प्रतिशत अदुवा भारत निकासी हुने गरेको उनले गौतमले बताए । मकवानपुरस्थित कृषि विकास कार्यालयका प्रमुख निर्मल गदालले भारतले पुसको अन्तिम सातादेखि अदुवा निर्यातमा रोक लगाएको जनाए । उनले भने, ‘भारतमा आउने चीनका अदुवामा विषादी भेटिएको भन्दै यताको पनि रोकिदिएको चर्चा छ ।’ सरकारले अदुवालाई निकासीजन्य कृषि बालीमा पहिलो नम्बरमा राखे पनि यसमा सकारात्मक भूमिका निर्वाह गरेको छैन ।

भारतमा पनि विगतमा भन्दा यो वर्ष अदुवाको उत्पादन बढी भएको छ । ‘आफ्नो देशको उत्पादनलाई संरक्षण गर्ने उद्देश्यले भारत सरकारले विभिन्न बहाना बनाई अदुवा निर्यातमा रोक लगाउने गरेको हो,’ स्रोतले भन्यो ।

अदुवा उत्पादनको हिसाबले मकवानपुर देशकै तेस्रो नम्बरमापर्छ । हाल किसानलाई अदुवा भण्डारण गर्ने ठाउँको अभाव छ । कतिपय किसानको अदुवा बारीमै कुहिएर जाने अवस्था छ ।

नेपाली बजारको मूल्य निर्धारण दिल्लीले गर्ने गरेको गौतमले बताए । अदुवा प्रतिकेजी २५ रुपैयाँमा व्यापारीले कृषकसँग खरिद गर्ने गरेका थिए । हाल खरिद गर्न पनि छाडेका छन् ।

मकवानपुरको नामटार, सुकौरा, बूढीचौर, गढी, आमभन्ज्याङ, मनहरी, पदमपोखरी, हटिया, हर्नामाडी, चुरियामाई, शिखरपुर, ठिंगन र बेतिनी अदुवा उत्पादन हुने मुख्य स्थानहरू हुन् । यहाँका करिब तीन हजार घरपरिवार अदुवा खेती गर्छन् । नगदे बालीका रूपमा विकास हुँदै गएको अदुवा खेती मकवानपुरका दुर्गम गाउँका कृषकहरूले व्यावसायिक रूपमा गर्दै आएका छन् ।

काँकडभिट्टा– भारतले आयातकर्ताको लाइसेन्सबिना अदुवा निकासी गर्न नपाउने भन्दै अवरोध खडागरेको छ । मुख्य सिजनमै छिमेकी मुलुकबाट अवरोध भएपछि किसानहरू चिन्तित भएका छन् । उनीहरूले यसपालि लगानीसमेत डुब्ने अवस्था आएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले भारतले सधंै सिजनकै समयमा अदुवा रोक्ने गरेको जनाए । हाल अदुवा निकासीमा भारतीय आयातकर्ताको लाइसेन्स अनिवार्य गरिएको छ ।

वैदेशिक व्यापारसम्बन्धी महानिर्देशनालय पटनाले केही दिनअघि सीमावर्ती भन्सारहरूमा पत्राचार गरी लाइसेन्स अनिवार्य गरिएको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्य दूतनारायण शर्माले जनाए । उनले भने, ‘भारतीय आयातकर्ताको लाइसेन्स नहुँदा नेपाली अदुवा रोकियो ।’

अदुवा निकासी अवरोधबारे पानीटयांकीस्थित भन्सार कार्यालयले आयातकर्ताले लाइसेन्स नलिएसम्म अदुवा निकासी अवरोध जारी रहने जनायो । ‘जसले आयात गर्छ, उसले लाइसेन्स लिनुपर्छ अनि मात्रै आयात सुचारु गर्नेछौं भन्ने जवाफ आयो,’ भारतीय भन्सारका डिपुटी कमिस्नरको भनाइ उद्धृत गर्दै शर्माले भने ।

भारतले यसअघि वस्तु तथा सेवा करको कारण देखाउँदै अदुवा निकासी रोकेपछि नेपाली अधिकारीले भारतीय पक्षसँग सिलिगुडीस्थित राजस्व कार्यालयमा छलफल गरी नरोक्ने सहमति गरेका थिए ।

वाणिज्य मन्त्रालयको द्विपक्षिय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले भारतले अदुवामाथि बारम्बार अवरोध गर्नु वाणिज्य सन्धिविपरीत भएको बताए । उनले निकासी अवरोध हटाउन वाणिज्य मन्त्रालयले पहल गरिरहेको जनाए ।

‘सन्धिमा अदुवालगायतका कृषिजन्य वस्तु रोक्नै पाइँदैन,’ उनले भने, ‘तर, विभिन्न बहानामा उसले रोक्ने क्रम जारी राखेको छ ।’ भारतीय आयातकर्ता विमल प्रधानले अचानक भारतीय भन्सारले लाइसेन्स अनिवार्य गरेका कारण अदुवा आयात गर्न नसकिएको बताए । ‘पहिला जीएसटीको कारण देखायो, अहिले इम्पोटर लाइसेन्सको झमेला झिकेका छन्,’ प्रधानले भने । कान्तिपुर बाट 

प्रकाशित मिति: January 26, 2018